logo
२०८० चैत्र १६ शुक्रवार



हिउँचितुवालाई राष्ट्रिय सम्मान

मुख्य समाचार |


हिउँचितुवालाई राष्ट्रिय सम्मान


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ७ गते । सरकारले विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मान साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘हिउँचितुवा’का नामले विश्वप्रसिद्ध शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्री तथा प्रवक्ता प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय सम्मानसाथ पर्वतारोही शेर्पाको अन्त्येष्टि गरिने र सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरिएको जानकारी दिनुभयो । बोटलमा लगिएको अक्सिजनबिना नै १० पटक सगरमाथा आरोण गरी साहसिक पहिचान बनाएका शेर्पाको सोमबार ७२ वर्षको उमेरमा काठमाडौँको जोरपाटीमा निधन भएको हो ।
त्यस्तै सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ । असोज २४ गतेका लागि निर्वाचन तय गरिएको थियो । जेठ १९ गते नै म्याद सकिएको ट्रेड युनियनको कार्यसमितिको म्याद वैशाख मसान्तसम्म थप समेत गरिएको जनाइएको छ । यसैगरी ट्रेड युनियनको निर्वाचनका लागि ११० ठाउँमा स्थापना गरिएको निर्वाचन कार्यालयका कर्मचारीको काज फिर्ताको निर्णयसमेत गरिएको छ । यसैगरी इजरायलमा ‘केयरगिभर’ पठाउन स्वीकृत प्रदान गरिएको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?