logo
२०८० चैत्र १५ बिहीवार



वर्षा केही दिन जारी रहने

मुख्य समाचार |


वर्षा केही दिन जारी रहने


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ७ गते । यस वर्षको मनसुन थप लम्बिने भएको छ । केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको छ । बुधबार अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने दिन हो ।
मौसमविद् मिनकुमार अर्यालका अनुसार अबको चार–पाँच दिन मनसुन सक्रिय हुने र तोकिएभन्दा पछिसम्म मनसुन कायम रहनेछ । गत वर्षझैँ यस वर्ष पनि अक्टोबर महिनासम्म मनसुन गतिविधि बढ्ने प्रारम्भिक अनुमान गरिएको छ तर त्यसको वास्तविक जानकारी भने हरेक चार वा पाँच दिनको अन्तरालमा मात्र दिने गरिएको छ ।
“नेपालमा पूर्र्वीय र मध्यक्षेत्र हुँदै पश्चिमतर्फ मनसुनी वायु सक्रिय भइसकेको छ, त्यसैले केही दिन कतै झरी र कतै भारी वर्षा हुने सम्भावना छ,” अर्यालले भन्नुभयो । उहाँका अनुसार मनसुन बढी सक्रिय गराउने वायुसहित उत्तरपूर्व बङ्गालको खाडीमा ठूलो न्यूनचापीय क्षेत्र छ । जुन उत्तरपूर्व हुँदै उत्तरपश्चिम सर्दै गरेको अवस्थामा छ । त्यसको केही भाग उत्तरतिर सर्ने भएकाले बुधबारसम्म देशका समग्र भूभागमा नै मनसुनी प्रभाव कायम हुने सम्भावना छ । दुई दिनपछि पश्चिम हुँदै घुमेर मध्य र पूर्वी भूभागमा सक्रिय हुनेछ ।
त्यस्तैगरी नेपालभन्दा अलिक पर भारतको मध्यप्रदेशमा न्यूनचापीय क्षेत्रको विकास भएको छ । अरब सागरबाट पनि जलवाष्पसहितको बादल न्यूनचापीय क्षेत्र नजिक आउँदै गरेको छ । यसले नेपालमा मनसुनी वायु चक्रझैँ दोहोरिने भएको हो । मनसुन सकिने मिति घर्किंदै गर्दा पश्चिमी वायुसमेत सक्रिय हुने भएकाले त्यसका लागि समेत अहिलेको मनसुनी वायुले भूमिका खेल्ने मौसमविद् अर्याल बताउनुहुन्छ ।
पश्चिमी वायु उच्च भएसँगै पूर्र्वी वायुलाई त्यसले धकेल्दै लगेर आफ्नो प्रभाव जमाएपछि बल्ल मनसुनको अन्त्य हुन्छ । त्यसपछि भने हिउँदे वर्षाको समय सुरु हुन्छ । अघिल्ला केही वर्षयता कहिले मनसुन ढिला सुरु हुने त कहिले ढिला सकिने प्रवृत्ति देखिएको थियो तर यस वर्ष भने मनसुन सुरु भएकै दिन जुन १० बाट नै मनसुन सक्रिय बन्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?