logo
२०८० चैत्र १६ शुक्रवार



नेपाल–चीन मित्रता विकास केन्द्रित

मुख्य समाचार |


नेपाल–चीन मित्रता विकास केन्द्रित


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ५ गते । चीनका राष्ट्रपति सी चिनफिङले नेपाल र चीनबीचको मित्रता विकास केन्द्रित भएको बताउनुभएको छ । उहाँले नेपालको विकासमा चीनको सधैँ साथ रहेकोसमेत जनाउनुुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई सन्देश पठाउनुहुँदै चीनका राष्ट्रपति सीले व्यावहारिक सहयोगलाई बढावा दिइने बताउनुभएको हो । उहाँले नेपालको राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।
आफू र राष्ट्रपति भण्डारीको दुई देशको परस्पर भ्रमण स्मरण गर्नुहुँदै राष्ट्रपति सीले युुगौँदेखिको दुुई देशको सम्बन्धलाई आर्थिक विकास केन्द्रित बनाउनुपर्ने बताउनुुभएको छ । दुई देशले मिलेर कोभिड–१९ महामारीविरुद्ध एकसाथ लडेबाट चीन र नेपालबीचको मित्रता अझ सुदृढ तथा गहिरो भएको देखिएको उहाँले उल्लेख गर्नुभएको छ ।
चीन–नेपाल सम्बन्धको विकासमाथि आफूले उच्च ध्यान दिनुका साथै राष्ट्रपति भण्डारीसँग चीन–नेपाल सम्बन्ध र विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई अरू विकास गरी दुई देश र दुई देशका जनतालाई अरू फाइदा पु¥याउने इच्छा लिएको पनि सीले बताउनुभएको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा प्रसारित समाचारमा उल्लेख गरिएको छ ।
गत वर्ष उहाँले नेपालको भ्रमण गर्नु हुँदा अब नेपाल–चीन सँगसँगै विकासको बाटोमा केन्द्रित हुने उद्घोष गर्नुभएको थियो । उहाँले सहमति र सम्झौता गर्नेभन्दा पनि कार्यान्वयनमा विशेष जोड दिएर अघि बढ्नुपर्ने औँल्याउनुभएको थियो । त्यसबेला नेपाल–चीन विकासको नयाँ खाका कोर्दै २० वटा समझदारी पत्रमा दुई देशका राष्ट्रपतिले हस्ताक्षर गर्नुभएको थियो ।
यसैबीच आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश पठाएर नै चीनका प्रधानमन्त्री ली खछ्याङले नेपालको राष्ट्रिय दिवसको शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्री छ्याङले चीन र नेपाल परम्परागत मैत्रीपूर्ण छिमेकी हुन् भन्दै केही वर्षयता दुई पक्षले विभिन्न क्षेत्रका सहयोगलाई स्थिर रूपमा अघि सारेको अभिव्यक्ति दिनुभएको छ ।
चीनले नेपालसँग मिलेर महामारीविरुद्ध सङ्घर्ष गर्नुका साथै विभिन्न क्षेत्रका सहयोगलाई बढाएको स्मरण गर्नुभएको छ । उहाँले चीन र नेपालबीच विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धलाई भविष्यमा अझ गहन पार्ने बताउनुभएको छ ।
नेपाल–चीनबीच हिमाल वारपार यातायात सञ्जाल र बेल्ट एन्ड रोड इनिसिटिभ्स (बीआरआई) परियोजनालगायत दर्जनौँ विकास निर्माणका परियोजनामा काम भइरहेको छ । साथै भूकम्पपछिको पुनर्निर्माणमा सघाउँदै चीनले दरबार हाइस्कुल, मठमन्दिर, विमानस्थल, विभिन्न नाका निर्माण गरेर हस्तान्तरणसमेत गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?