logo
२०८० चैत्र १६ शुक्रवार



संविधान दिवस : गुर्जो रोपण अभियानमा गोकर्णका महिला

फिचर |


संविधान दिवस : गुर्जो रोपण अभियानमा गोकर्णका महिला


काठमाडौँ, असोज ४ गते । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र वाग्मती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोप्न महिलाहरु सक्रिय भएका छन् । संविधान दिवसको अवसर पारेर गोकर्ण महिला सञ्जालमा आबद्ध महिलाको समूहले शनिबार मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी वनस्पति गुर्जो रोपेका छन् ।

सञ्जालको ११ औँ साधारणसभाको समेत अवसर पारेर आयोजना गरिएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले करिब १०० वटा गुर्जोका बिरुवा उपलब्ध गराउनुभएको हो । लाहानको सरकारी निवास परिसरमा गुर्जोको बिरुवा उत्पादन गरी देशव्यापी रूपमा वितरण शुरु गर्नुभएका राजलवटले वाग्मती किनारलाई गुर्जो रोपण केन्द्र बनाएर एक हप्ता अघिदेखि नै निःशुल्क वितरण गरिरहनुभएको छ । गत हप्ता उहाँले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति गुह्येश्वरीस्थित कार्यालयमा पनि बिरुवा उपलब्ध गराउनुभएको थियो । वाग्मती किनारका अन्य स्थानमा राजलवटले गुर्जो वितरण गर्नुभएको थियो ।

सुन्दरीजलबाट बानेश्वरसम्मको नदी किनारका बस्तीमा गुर्जो वितरण गर्ने अभियान जारी छ । घरघरमा गुर्जोको बिरुवा पुर्याउने अभियानमा लाग्नुभएका राजलवट आफूले ११ वर्षदेखि नियमितरूपमा सेवन गर्दा फाइदा पुगेकाले प्रचारप्रसारमा लागेको बताउनुहुन्छ । गुर्जोको नियमित सेवनपछि आफूले निरोगी अनुभव गरेको उहाँले जानकारी दिनुभयो ।

मधुमेह रोगबाट पीडित भएकाले नियमितरूपमा गुर्जोको सेवन गरेमा अन्य औषधि खानुनपर्ने आफैँले अनुभव गरेपछि सामूहिकरूपमा बिरुवा वितरण अभियानमा लागेको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनी बताउनुहुन्छ । गुर्जोले मानव शरीरमा रोग प्रतिरोधी क्षमताको विकास, शारीरिक क्षमतामा बढोत्तरी गर्नुका साथै शरीरभित्र जमेका विकारलाई बाहिर निकाली मानिसलाई स्वस्थ बनाउन गुर्जो उपयोगी रहेको उहाँले बताउनुभयो ।

विश्वव्यापी रूपमा कोरोना भाइरस फैलिएका बेला शरीरभित्र रोग प्रतिरोधी क्षमता बढाउन यसको नियमित सेवन उपयोगी भएको अनुभव प्रयोगकर्ताको छ । शनिबार गोकर्णमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरसभा सदस्य जयराम महतले पनि आफूले छ महिनादेखि गुर्जोको उपयोग गर्दा ग्यास्ट्रिक ठिक भएको अनुभव सुनाउनुभयो ।

रुघा, खोकी, ज्वरो, रगतको कमी, आँखा, कान, छाला, पाइल्स जस्ता रोग निको गर्न पनि गुर्जो उपयोगी प्रमाणित भएको अभियानकर्मी राजलवट बताउनुहुन्छ । गर्भवती महिलाले भने गुर्जोका प्रयोग गर्नुहुँदैन । पाँच वर्षमुनिका बालबालिकालाई पनि यसको सेवन नगराउनु राम्रो हुन्छ । डाँठ, पात दुवै प्रयोग गर्न सकिने गुर्जो सुकाएर वा काँडा पानी बनाएर दुवै रूपमा उपयोग गर्न सकिन्छ ।

आयुर्वेद शास्त्रले भनेको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस रहन्छ, त्यसलाई त्यहीँ उम्रने वनस्पतिले औषधीको काम गर्छ भनेझैँ गुर्जोले नेपालीको स्वास्थ्य रक्षामा काम गर्ने अनुभव प्रयोगकर्ता गरेका छन् ।

हालसम्म राजलवटले देशभर ६० हजार गुर्जोका विरुवा वितरण गर्नुभएको छ । राजधानीका विभिन्न नगरपालिकामा समेत गुर्जो वितरण गरिएको उहाँले जानकारी दिनुभयो । नगरपालिकामार्फत् राजधानीवासीका घरघरमा गुर्जो रोपण अभियान विस्तार गरिने जनाइएको छ ।

कार्यक्रममा नगरपालिकाकका उपप्रमुख शान्ति नेपालले बहुउपयोगी वनस्पति गुर्जो रोपण अभियानमा सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । महिला सञ्जालको संस्थापक अध्यक्षसमेत रहनुभएकी उहाँले महिला समूहमार्फत् घरघरमा गुर्जो रोप्ने अभियान चलाइने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिवसमेत रहनुभएका किशोर जोशीले गुर्जो रोप्न चाहने सबैलाई निःशुल्क वितरण गर्ने अभियानमा आफूहरु सक्रिय रहेको जानकारी दिनुभयो । महिला सञ्जालका कार्यवाहक अध्यक्ष लक्ष्मी गिरीलगायतको समूह गुर्जो रोपण अभियानमा सक्रिय छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?