logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाका कारण साना मुलुकको विकास खतरामा

मुख्य समाचार |


कोरोनाका कारण साना मुलुकको विकास खतरामा


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विशेषगरी विकासोन्मुख, अतिकम विकसित र साना मुलुकहरूले दुःखका साथ गरेको विकासलाई खतरामा पारेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घ महासभाको ७५औँ साधारण सभाका विविध कार्यक्रममध्ये एक दिगो विकाससम्बन्धी एक उच्च स्तरीय बैठक (एसडीजी मोमेन्ट–२०२०) लाई शनिबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘अर्थतन्त्र, राजस्व सङ्कलन, बढ्दो सार्वजनिक खर्च, बढ्दो गरिबी र बेरोजगारीमा गम्भीर असर पारेकाले विकासोन्मुख मुलुकले दिगो विकासको अनुभूति गर्न पाएका छैनन् ।’’
दिगो विकासको लक्ष्यलाई अगाडि बढाउन अहिलेको प्रतिकूल अवस्थाका कारण नसकिने भन्दै उहाँले विश्वव्यापी कार्यलाई भने स्पष्टताका साथ जारी राख्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले दिगो विकास नेपालको विकास दर्शनको केन्द्रमा रहेकामा जोड दिनुुभएको छ । यसले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्रदर्शन गर्ने भन्दै उहाँले यसअन्तर्गत गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, शिक्षा, लैङ्गिक समानता, आधारभूत सरसफाइ र ऊर्जामा पहुँच जस्ता महìवपूर्ण क्षेत्रमा नेपालले उपलब्धि हासिल गरेको अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिनुभयो । थप सुधारका लागि र पुनर्निर्माण गर्न सबै तहबाट प्रतिबद्धता गरिए अनुसारका कार्यहरूलाई तीव्र पार्नुपर्ने र कोही पछि नरहने कुराको सुनिश्चित गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।
‘एसडीजी मोमेन्ट २०२०’ अन्तर्गत एसिया प्यासेफिक क्षेत्रका मुख्य पाँच मुलुकमध्ये नेपाल पनि एक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?