logo
२०८० चैत्र १६ शुक्रवार



नेकपाका उपाध्यक्ष गौतमद्वारा राष्ट्रिय सभा सदस्यको शपथ

मुख्य समाचार |


नेकपाका उपाध्यक्ष गौतमद्वारा राष्ट्रिय सभा सदस्यको शपथ
तस्बिरःसुजन गुरङ



गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई बिहीबार सदस्यमा मनोनीत गर्नुभएको थियो । मनोनयनसँगै बिहीबार नै शपथ भएको हो ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतमलाई शपथ गराउनुभयो । शपथसँगै अध्यक्ष तिमिल्सिनाले गौतमलाई संसद्को लोगो हस्तान्तरण गर्नुभएको थियो । परिमार्जित नेपालको नक्सा अनुसारको नयाँ लोगो हस्तान्तरण गरिएको छ । गौतमको शपथमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल तथा संसदीय दलका उपनेता सुवास चनद्र नेम्वाङ लगायतको उपस्थिति थियो ।
राष्ट्रपतिबाट मनोनीत हुने एक स्थान गत फागुनदेखि नै रिक्त थियो । सत्तारुढ दल नेकपाको विवादका कारण लामो समय सिफारिस हुन सकेको थिएन । दलीय विवाद समाधान भएसँगै पार्टी निर्णय अनुसार गौतम सिफारिस हुनुभएको थियो । फागुनमा नै गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्न पार्टीले आग्रह गरे पनि सरकारले कार्यान्वयन गरेको थिएन ।
शपथपछि गौतमले आफूले राष्ट्रियसभाको गरिमामा आँच आउने कुनै पनि काम नगर्ने बताउनुभयो । उहाँले राष्ट्रियसभाको गरिमा बढाउन आफू केन्द्रित हुने बताउनुभयो । उहाँले नेपालको संविधान, राष्ट्रिय सभाको नियमावली बमोजिम आफू जिम्मेवारी निर्वाह गर्ने बताउनुभयो । उहाँले आफूलाई सिफारिस गर्ने र नियुक्त गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘मैले राष्ट्रियसभाको जिम्मेवारी पूरा गर्दा स्वतन्त्रता, सार्वभौमिकता र जनतापति बफादार भएर कर्तव्य निर्वाह गर्नेछु । समाजवाद स्थापनाको संकल पार्टीले लिएको छ । सो कार्य सम्पन्न गर्नका लागि मैले यहाँ सकेको भूमिका निर्वाह गर्नेछु ।’’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?