logo
२०८१ बैशाख ७ शुक्रवार



महानगरपालिकाद्वारा निषेधाज्ञा मापदण्डबारे ध्यानाकर्षण

खुला |


महानगरपालिकाद्वारा निषेधाज्ञा मापदण्डबारे ध्यानाकर्षण


देवबहादुुर कुुँवर

काठमाडौँ, भदौ २७ गते । काठमाडौँ महानगरपालिका (कामनपा)ले उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउने क्रममा फुटपाथ पसल र ठेला व्यापार व्यवसाय सञ्चालन गर्न दिने निर्णय सच्याउन आग्रह गरेको छ ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले गत २४ गते बुधबार बुँदा नम्बर १० मा फुटपाथ पसल र ठेला व्यापार व्यवसाय सञ्चालनका लागि बिहान ११ बजे र अपराह्न ४ देखि ७ बजे सम्मको समयावधि तोकेको छ ।
कामनपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई शुक्रबार बबरमहलस्थित प्रशासन कार्यालयमा भेट गरी निर्णय सच्याउन ध्यानाकर्षण पत्र प्रदान गर्नुभएको छ ।
महानगरको सौन्दर्य, फुटपाथमा हुने आवत–जावतमा सहजीकरण, फोहोर तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा फुटपाथ पसल र ठेला व्यापार यसअघि नीति तथा कार्यक्रममै समावेश गरेर बन्द गरिएको स्मरण गराउँदै उहाँले निर्णय सच्याउन आग्रह गर्नुुभएको थियो ।
यति बेला फुटपाथ तथा ठेलामा व्यापार गर्न दिने हो भने कोरोना सङ्क्रमणको महामारी भयावह हुने उहाँको तर्क छ । “स्वास्थ्य सुरक्षा मापदण्ड पुग्दैन, सङ्क्रमितको ट्र्याकिङ गर्न पनि सम्भव छैन”, उहाँले स्पष्ट पार्नुुभयो ।
प्रमुख जिल्ला अधिकारी दाहालले पनि यो निर्णय सच्याउने विषयमा आफू सकारात्मक रहेको बताउनुभयो । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल गरी निर्णय सच्याइने
तयारी भएको छ ।
त्यस्तै जारी निषेधाज्ञा खुकुलो पार्ने क्रममा भएगरेका निर्णयको कडाइसाथ कार्यान्वयन र अनुगमन गर्ने विषयमा पनि महानगर उपप्रमुख खड्गी र प्रमुख जिल्ला अधिकारी दाहालबीच छलफल भएको छ । विभिन्न व्यापार व्यवसाय सञ्चालन गर्न तोकिएको बार तथा समय पालना भएनभएको तथा पसल खोल्दा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड, सवारीमा जोर–बिजोर, मास्क प्रयोग, सामाजिक तथा भौतिक दूरी कायम गरे नगरेको सम्बन्धमा अनुगमन बढाइएको छ ।
महानगर तथा नगरपालिकाअन्तर्गत विभिन्न वडा कार्यालय, जनप्रतिनिधि, स्थानीय प्रहरी, जिल्ला प्रशासन कार्यालयबाट खटिएका कर्मचारी र जनस्वास्थ्यबाट बजार तथा स्थानीय स्तरमा अनुमगन सुरु गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दाहालले कोरोना महामारी सङ्क्रमण नियन्त्रण तथा रोकथाममा लागू गरिएको स्वास्थ्य तथा सुरक्षा मापदण्ड र प्रशासन कार्यालयबाट जारी निर्णय पालना नगरे कारबाही हुने बताउनुभयो ।
यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न निकायबाट आवश्यक सेवाअन्तर्गत अङ्ग्रेजी भाषा परीक्षण लगायतका टोफल, जीआरई, आईईएलटीएस, जिम्याट परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ ।
यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी परीक्षा सञ्चालन कार्यविधि र स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिइएको छ । बुँदा नम्बर १५ मा उल्लिखित विदेश जाने व्यक्तिको आवतजावतमा सहजीकरणसँंगै भिसा आवेदन सेन्टर सञ्चालन गर्न अनुमति दिइएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?