logo
२०८१ बैशाख ५ बुधवार



प्रादेशिक अस्पताल बनाइँदै

फिचर |
मुख्य समाचार |


प्रादेशिक अस्पताल बनाइँदै


नगेन्द्र सापकोटा

काठमाडौँ, भदौ २५ गते । बागमती प्रदेश अन्तर्गतका पाँचवटा स्थानीय तह स्तरीय अस्पताललाई प्रादेशिक अस्पताल बनाइने भएको छ ।
बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्ले काठमाडौँको टोखा चण्डेश्वरी प्राथमिक केन्द्र, ललितपुरको बज्रवाराही चापागाउँ, काभ्रेको मेथिनकोट, दोलखाको चरीकोट र चितवनको बकुलर रत्ननगर अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को उक्त निर्णयसँगै बागमती प्रदेश अन्तर्गत अब १३ वटै जिल्लामा प्रादेशिक अस्पताल हुने बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार बागमती प्रदेशका आठ जिल्ला रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर र भक्तपुरमा यसअघि नै प्रादेशिक अस्पताल बनिसकेका छन् ।
कोरोना भाइरस (कोभिड–१९)का बिरामी बढ्दै गइरहेको सन्दर्भमा बागमती प्रदेश सरकारले थप स्तरोन्नति गरी पाँचवटा अस्पताललाई प्रादेशिक अस्पताल बनाउन गरेको निर्णयबाट स्थानीय नागरिकलाई थप स्वास्थ्य सेवा प्राप्त हुनेछ ।
अब बागमती प्रदेश सरकारले गरेको निर्णय प्रधानमन्त्री कार्यालयलाई पठाइने र प्रधानमन्त्री कार्यालयको प्रादेशिक समन्वय महाशाखाले सङ्घीय स्वास्थ्य मन्त्रालयमा पत्र पठाएपछि प्रादेशिक अस्पताल निर्माणको प्रक्रिया अगाडि बढ्ने उहाँले स्पष्ट गर्नुभयो ।
काफ्लेले हाम्रो आफ्नै अस्पताल भएपछि बागमती प्रदेश सरकारले स्रोतसाधन र जनशक्ति पठाउन सजिलो हुनुका साथै स्तरोन्नति गर्न सहज हुन्छ । सबै जिल्लामा एक÷एकवटा अस्पताल बनाउने बागमती प्रदेश सरकारको योजनासमेत पूरा हुन्छ भन्नुभयो ।
भक्तपुर अस्पताल यसअघि नै प्रादेशिक अस्पताल भएकाले गत वर्ष बागमती प्रदेश सरकारले उक्त अस्पताललाई थप स्तरोन्नति गरी दुई सय बेडको अस्पतालका रूपमा विकास गरेको थियो । टोखा नगरपालिकका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिका–२ स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा पर्याप्त मात्रामा भौतिक पूर्वाधार भएकाले नगर कार्यपालिकाले निर्णय गरी प्रादेशिक अस्पताल बनाउन बागमती प्रदेश सरकार समक्ष सिफारिस गरिएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?