logo
२०८० चैत्र १६ शुक्रवार



नेपालमा पहिलोपटक वंशाणु अनुसन्धान, दश दिनमा निष्कर्ष आउने

खुला |


नेपालमा पहिलोपटक वंशाणु अनुसन्धान, दश दिनमा निष्कर्ष आउने


चाँदनी हमाल

काठमाडौँ, भदौ २२ गते । नेपालमा पहिलोपटक मानिसको वंशाणुको अध्ययन सुरु भएको छ । कोरोना भाइरसको महामारी जारी रहेका बेला सङ्क्रमित व्यक्तिको वंशाणुको अनुसन्धान सुरु गरिएको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले थालेको अध्ययनको नेपालभित्रको काम पूरा भएको छ । अहिले विदेशी प्रयोगशालामा नेपाली ‘जिन’ अर्थात् वंशाणुको थप अध्ययन र विश्लेषण भइरहेको छ । कोरोना सङ्क्रमणमा परेका जीवित तथा मृत्यु भएकासमेत गरेर १५ जनालाई वंशाणु अध्ययनमा सहभागी गराइएको परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अधिकांशको घाँटीको स्वाबमार्फत ‘जिन’ सङ्कलन गरिएको छ । “तीनवटा क्लस्टर छुट्याएर अध्ययनको निष्कर्ष निकालिने छ, जसमा जीन सिक्वेसिङ, इयुमोनिकल पारामिटर र क्लिनिकल प्रोफाइल हेरिन्छ,” उहाँले भन्नुभयो । सहभागी नमुनामा बालबालिका, वयष्क, वृद्धवृद्धा सबैखालका समूहका मानिस समावेश छन् । त्यसमा काठमाडौँ उपत्यका र बाहिरका गरी प्रदेशगत रूपमा सामेल गराइएको छ ।
अध्ययनले मुख्यगरी नेपालीमा कोरोनाविरुद्धको प्रतिरोधी क्षमता कति छ भन्ने महìवपूर्ण जानकारी दिनेछ । यसले विश्वका अन्य मुलुकका मानिस र नेपालीको वंशाणुगत क्षमताको तुलनात्मक अध्ययनमा सहयोग पुुग्ने छ । सङ्क्रमणका समयमा वंशाणुको हरेक कोषमा हुने सूक्ष्म परिवर्तन कसरी र कुन अवस्थासम्म भयो भन्ने कुरा अध्ययनबाट आउने अपेक्षा गरिएको छ ।
त्यस्तै कोरोना भाइरसले कोषमा गरेको आक्रमणपछि हुने फेरबदलको वास्तविकतासमेत प्रस्ट हुनेछ । कुनै औषधि वा जडीबुटी बिरामीलाई प्रयोग गरिएको भए भाइरस कसरी कुन अवस्थामा परिवर्तन भएर मर्छ वा हराउँछ भन्नेसम्मको जानकारी अध्ययनको निष्कर्षले दिने जनाइएको छ । रोग लागेका र नलागेका मानिसमा यस भाइरसले पार्ने प्रभावको वंशाणुगत असर र त्यसलाई न्यूनीकरण गर्न भविष्यमा अपनाउनुपर्ने सावधानीका बारेमा पनि अध्ययनले मार्गदर्शन गर्ने परिषद्ले जनाएको छ ।
अध्ययनको निष्कर्ष आएपछि कोरोना भाइरसको औषधि र खोप बनाउनसमेत नेपालका लागि थप बाटो खुल्नेछ । अध्ययनको निष्कर्ष आउन १० दिन जति लाग्ने जनाइएको छ । परिषद्ले कोरोनासँग सम्बन्धित विभिन्न अध्ययनलाई समेत आफँै अगाडि बढाएको छ । जसअनुसार छ सयभन्दा बढी अनुसन्धान प्रस्ताव स्वीकृत गरेको छ ।
कोरोनासँग सम्बन्धित मात्र १४० वटा अनुसन्धान प्रस्ताव छानिएका छन् । परिषद् आफँै सहभागी रहेर भने २१ वटा अनुसन्धान परियोजना रहेको जानकारी ज्ञवालीले दिनुभयो । त्यस्तै पूर्वतयारीका बारेमा अनुसन्धान सकेर सरकारलाई बुझाइएको छ । जसअनुसार कोरोना ९० क्लिनिक र ३० अस्पतालको क्षमता र अवस्थाका बारेमा अध्ययन गरिएको थियो । त्यसैगरी जनस्वास्थ्यका मापदण्डबारे छुट्टै अध्ययन परिषद्ले गरिसकेको छ ।
हाल अमेरिकन गिलिएड कम्पनीले उत्पादन गरेको रेमडेसिभिर औषधिको परीक्षण अध्ययन जारी छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)को मापदण्ड र परिषद्को नीति नियमभित्र रहेर अनुसन्धानबाट तोकिएका चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा त्यसको अध्ययन भइरहेको छ । त्यसैगरी कोरोनाको उपचारका लागि प्लाज्मा थेरापी विधिको समेत अध्ययन भइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?