logo
२०८० चैत्र १६ शुक्रवार



उपत्यका प्रवेशमै रोक्दै स्थानीय तह

मुख्य समाचार |


उपत्यका प्रवेशमै रोक्दै स्थानीय तह
फाईल तस्विर


काठमाडौँ, भदौ १३ गते । सङ्क्रमित बढ्दै जाँदा काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्न स्थानीय तह व्यस्त छन् । साथै उनीहरूले प्रवेश नाका व्यवस्थित गर्न सुरक्षाकर्मीसँग समन्वय पनि गरिरहेका छन् ।
काठमाडौँ उपत्यकामा दिनहुँ सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाले आवतजावतमा कमी आए पनि स्थानीय सरकारले सुरक्षाकर्मी र स्थानीय प्रशासनलाई आवश्यक सहजीकरण गर्ने काम गरिरहेका छन् ।
काठमाडौँ प्रवेश गर्ने मुख्य नाका जोडिएका सूर्यविनायक, दक्षिणकाली, चन्द्रागिरि, तारकेश्वर, शङ्खरापुर नगरपालिकाले आवश्यक सहजीकरण गरिरहेका ती नगरपालिकाले जनाएका छन् ।
कतै स्थानीय प्रशासनलाई सहजीकरण गर्ने काम भएका छन् भने कतिपय नगरपालिकाले आफैँ स्वयंसेवक परिचालन गरी आवतजावतमा कडाइ गर्दै आएका छन् । केही नगरपालिकाले नाकामा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) राखेर नाकामा खटिने प्रशासन र सुरक्षाकर्मीको नियमित स्वास्थ्य परीक्षण गरिरहेका छन् ।

स्वयंसेवक परिचालन :  दक्षिणकाली
दक्षिणकाली नगरपालिकाले हेटौँडाबाट उपत्यका प्रवेश गर्ने मुख्य नाका राम्चे र हुमाने भञ्ज्याङमा स्वयंसेवक परिचालन गरी उपत्यका प्रवेशमा कडाइ गरेको छ । स्वयंसेवकले स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई आवश्यक सहयोग गर्ने काम गरिरहेका छन् । स्थानीय प्रशासनबाट माग भएअनुसार नगरपालिकाले अन्य सहयोग गर्दै आएको नगरपालिकाका प्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो ।

आवतजावत ठप्प : तारकेश्वर
तारकेश्वरबाट पासाङ ल्हामु राजमार्ग र टोखा छहरे हुँदै काठमाडौँ प्रवेश गर्न सकिने भए पनि अहिले दुवै नाकाबाट आवजावत ठप्प छ । काठमाडौँ उपत्यकाको फोहोर धादिङतर्फ जाने सवारी साधन र धादिङबाट उपत्यकामा आउने तरकारी र फलफूलका सवारी साधनबाहेक अन्य आवतजावत बन्द भएको तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले जानकारी दिनुभयो ।

आवश्यक समन्वय र सहयोग : सूर्यविनायक
काभे्रबाट काठमाडौंँ आवतजावत गर्ने मुख्य नाका साँगामा सूर्यविनायक नगरपालिकाले आवतजावतका लागि पास सिफारिसमा रोक लगाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले अस्पताल जानुपर्ने व्यक्तिका लागि नगरपालिकाले आवश्यक सहजीकरण गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमितका लागि नगरपालिकाले घरघरमै सेवा पु¥याएको छध्र

सवारी व्यवस्थापन गर्दै चन्द्रागिरि
चन्द्रागिरि नगरपालिकाले नगरपालिका क्षेत्र हुँदै काठमाडौँ प्रवेश गर्ने चित्लाङ र नागढुङ्गा नाकामा रोकिएका सवारी साधन व्यवस्थापन गर्न सहजीकरण गरिरहेको छ । भदौ ३ को रातिदेखि उपत्यकामा निषेधाज्ञा लागू भएपछि सो क्षेत्रमा करिब एक हजार चार सयवटा सवारी साधन बीच बाटोमै रोकिएका छन् । ती सवारी साधन व्यवस्थापनमा नगरपालिकाले सहजीकरण गरिरहेको नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो ।

जताबाट आयो उतै फिर्ता : शङ्खरापुर
शङ्खरापुर नगरपालिकाबाट काठमाडौँ प्रवेश गर्ने नाङ्लेभारे, भोटेचौर, नगरकोट, कात्तिके नाकाबाट आउने नाका बन्द छ । कोही कोही आवतजावत गर्न खोजे जताबाट आएको उतैतिर फिर्ता पठाइने गरिएको शङ्खरापुर नगरपालिकाले जनाएको छ । मुख्य नाकाभन्दा बाहिर जङ्गल तर्फबाट पनि अवतजावत गर्ने व्यक्तिलाई नगरपालिकाका सबै वडाका बासिन्दालाई उच्च निगरानी राख्न आग्रह गरिएकाले अहिलेसम्म भागेर आवतजावत गरेको जानकारी नआएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?