logo
२०८१ बैशाख ७ शुक्रवार



उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी

मुख्य समाचार |


उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १० गते । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने तयारी भएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार भएको छलफलमा निषेधाज्ञा एक साता लम्ब्याउनेबारे छलफल भएको हो । यद्यपि निर्णय भने भइसकेको छैन । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले थप एक साता निषेधाज्ञा जारी राख्ने विषयमा छलफल भएको तर निर्णय बुधबार मात्र हुने जानकारी दिनुभयो ।
उपत्यकास्थित नगरका प्रमुखहरू, जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा अधिकारी सम्मिलित बैठकले यसअघि नै काठमाडौँ, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको थियो ।
“कोरोना सङ्क्रमणको महामारी दिन प्रतिदिन भयावह बन्दै गएकाले अहिलेको अवस्थामा एक सातासम्म जारी राख्नुपर्ने देखियो,” उहाँले भन्नुभयो– यसअघिको निर्णयको समयावधि १० गते रातिसम्म भएकाले आज मङ्गलबार निर्णय हुन सकेन ।
कोरोना सङ्क्रमण महामारी नियन्त्रण तथा रोकथामका लागि यही ३ गते बुधबार राति १२ बजेबाट जारी निषेधाज्ञा १० गते बुधबार मध्यरातबाट सकिँदैछ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण भयावह बन्दै गएको भन्दै निषेधाज्ञा थप कडा पारिएको छ ।
निषेधाज्ञा थपिएसँगै सङ्क्रमितहरूका लागि आइसोलेसन सेन्टर बढाउन र प्रभावकारी ढङ्गले सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताइएको छ । मर्निङवाक गर्नेदेखि दैनिक उपभोग्य वस्तु खरिदमा भीडभाड गर्नेलाई कारबाही सुरु गरिएको छ । त्यस्तै निषेधाज्ञा उल्लङ्घन गर्नेहरूमाथि सडक कारबाही पनि कडा पारिएको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार तोकिएको अवधिभन्दा बढी समय पसल खोल्नेदेखि आफूखुसी सवारी चलाउने एक हजारभन्दा बढीलाई कारबाही गरिएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?