logo
२०८१ बैशाख १३ बिहीवार



सहलगानीमा सुरुङमार्ग निर्माण गर्न सहमति

मुख्य समाचार |


सहलगानीमा सुरुङमार्ग निर्माण गर्न सहमति


भउचप्रसाद यादव

काठमाडौँ, भदौ १० गते । लामो समयदेखि चर्चामा रहेको पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग सङ्घीय सरकार र बागमती प्रदेश सरकारको सहलगानीमा निर्माण हुने भएको छ । कम समय र खर्चमा सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी हेटाँैडा आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित अगाडि सारिएको उक्त सुरुङमार्गको निर्माणका लागि सहलगानीको ढाँचा तय गर्न समिति निर्माण गरी काम अगाडि बढाइएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको गौरव आयोजनाका रूपमा रहेको काठमाडौँ–हेटाँैडा सुरुङमार्गको निर्माण सहलगानीमा गर्न सङ्घीय सरकार र प्रदेश सरकारबीच सहमति भएको जानकारी दिनुभयो । “सुरुङमार्ग निर्माणका लागि केन्द्र र प्रदेश सरकारको सहमति छ,” उहाँले भन्नुभयो, “सङ्घीय सरकारले नै लगानी गर्ने भइसकेपछि उक्त सुरुङमार्ग निर्माण कार्य अगाडि बढ्नमा अब कुनै द्विविधा रहेनन् ।”
बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटमा समेत उक्त सुरुङमार्गको निर्माण कार्य सङ्घीय सरकारको सहलगानीमा अगाडि बढाउने उल्लेख गरेको छ । रणनीतिक महìवको सो आयोजनालाई अगाडि बढाउन सङ्घ र प्रदेशबीच हुने सहलगानीको ढाँचा तय गर्न सङ्घीय सरकार र प्रदेश सरकारका पदाधिकारी सम्मिलित एक समिति गठन गरी कामसमेत अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव, सङ्घीय अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव र बागमती प्रदेशको भौतिक योजना मन्त्रालयका सहसचिव सदस्य रहनुभएको छ । मुख्यमन्त्री पौडेलले भन्नुभयो, “सहलगानीको ढाँचा के हुनसक्छ, सङ्घ र प्रदेश सरकारको लगानी के कति हुनु उपयुक्त हुन सक्छन्, निजी क्षेत्रलाई सहभागी गराउनेबारे, सङ्घ र प्रदेश सरकारले सहलगानीमा काम अगाडि बढाउँदा त्यसका कानुनी प्रक्रियाहरू लगायतका विषयलाई विस्तृत अध्ययन गरेर समितिले अबको एक महिनाभित्रमा प्रतिवेदन बुझाउने छन् ।”
उक्त सुरुङमार्ग निर्माणका लागि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी दिँदै उहाँले सुरुङमार्गबारे सरकारले केही दिनअघि निर्धारण गरेको मापदण्डअनुसार सो डीपीआर छ÷छैन भन्नेबारे अहिले विस्तृत अध्ययन भइरहेको बताउनुभयो । तयार पारिएको डीपीआरअनुसार सो सुरुङमार्गको कुल लम्बाइ ३.२५ किलोमिटर हुनेछ भने आउन र जानका लागि छुट्टाछुट्टै सुरुङमार्ग निर्माण गरिने छ ।
त्यसैगरी सुरुङमार्गको चौडाइ ५.२ मिटर र सुरुङको दुवैतिर गरी साढे दुई किमी लामो सहायक सडक र तीनवटा पुल निर्माण गरिने छ । मुआब्जासहित सो सुरुङमार्ग निर्माणको कुल लगानी १९ अर्ब ३२ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

परामर्शदाता चयन प्रक्रिया
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले पोष्टबहादुर बोगटी सुरुङमार्ग निर्माणका लागि परामर्शदाता चयन गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भदौ १ गते सो बोलपत्र आह्वान गरिएको हो । बोलपत्र दर्र्ताका लागि एक महिना समय निर्धारण गरिएको छ । परमर्शदाताले आयोजनाको निरीक्षणसमेत गर्नेछन् ।” अब सो सुरुङमार्ग निर्माणका लागि समेत बोलपत्र आह्वानको तयारी भइरहेको उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?