logo
२०८० चैत्र १६ शुक्रवार



कोरोनाविरुद्ध स्थानीय सरकार एकजुट

मुख्य समाचार |


कोरोनाविरुद्ध स्थानीय सरकार एकजुट


नगेन्द्र सापकोटा

काठमाडौँ, भदौ ८ गते । कोरोना भाइरसका सङ्क्रमित दैनिक बढ्दै जाँदा काठमाडौँ उपत्यकास्थित स्थानीय तहका प्रमुखहरूले यसबाट उपचार नपाएर कोही पीडित हुन नपर्ने दाबी गरेका छन् । कोरोनाविरुद्ध स्थानीय तहका प्रमुखले एकै स्वरमा उपत्यकाका १८ वटै नगरपालिका मिलेर काम गर्ने उद्घोष गरेका छन् ।
काठमाडौँ उपत्यका भौगोलिक रूपमा सानो भए पनि जनघनत्वको दृष्टिकोणले घना भएकाले उपत्यकामा कोरोना भाइरसलाई नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तह एकै ठाउँमा उभिनुपर्नेमा उपत्यकाका नगरपालिकाको जोड छ । काठमाडौँ महानरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा कसैलाई पनि कोरोनाको उपचार नपाएर पीडित बन्नुपर्ने अवस्था आउन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, कोरोना सङ्क्रमितलाई उपचार गर्नु हाम्रो दायित्व हो यसमा हामी निरन्तर क्रियाशील भएर लागेका छौँ ।
हालसम्म उपत्यकामा कोरोना भाइरसका कुल सङ्क्रमितमध्ये ४६ प्रतिशतसम्म सङ्क्रमित काठमाडौँ महानगरपालिकाभित्र भएको काठमाडौँ महानगरले जनाएको छ । उपत्यकामा एकीकृत आइसोलेसन निर्माणका लागि सङ्घ र स्थानीय तहले आवश्यक गृहकार्य सुरु गरिसकेका छन् ।
ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएकाले रोकथामका लागि १८ वटै नगरपालिकाले आ–आफ्नो ठाउँबाट काम सुरु गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, पहिलो प्राथमिकता महानगरवासीको स्वास्थ्य र सुरक्षा, त्यसपछि विकास निर्माण र अन्य गतिविधि भन्दै महानगरपालिकाले आफ्नो कार्यक्रम अगाडि बढाएको छ ।
सरकारले तोकेको मापदण्ड अनुसार दुई स्थानमा क्वारेन्टाइन निर्माण गरेको महानगरले अब आवश्यकता अनुसार त्यसलाई विस्तार गर्न लागेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कुनै निश्चित व्यक्ति र समूहले मात्र समाधान गर्न नसक्ने भएकाले यसमा सङ्घ, प्रदेश, स्थानीय सरकार र नागरिक मिलेर मात्र कोरोनालाई जित्न सकिने महर्जनले बताउनुभयो । उपत्यकाका सबै नगरपालिकाले आ–आफ्नो क्षमता अनुसारको आइसोलेसन कक्ष निर्माण गरिरहेका छन् । पालिकाभित्रका स्वास्थ्य संस्था र अस्पतालसँग समन्वय गरी आइसोलेनसन निर्माण कार्यलाई तीव्रता दिइएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले अहिले नगरपालिकाको विशेषता अनुसार आ–आफ्नै तरिकाले कोरोना रोकथाम र नियन्त्रणको काम गरिरहेका बताउनुभयो । कोरोना रोकथामका लागि सबै काम पालिकालाई मात्र छाड्दा समस्या आउने भन्दै उहाँले भन्नुभयो, सङ्घीय सरकारले तीन तहले केके काम गर्ने हो, त्यसको कार्ययोजना बनाएर कार्यान्वयन गराउने र समिति बनाएर सोको अनुगमन गरेको भए कोरोना रोकथाम र नियन्त्रणमा सजिलो हुन्थ्यो ।
उहाँका अनुसार अझै पनि काम गर्ने समय बाँकी नै रहेकाले सङ्घ र प्रदेश सरकारले आवश्यक साधन स्रोतसहितको समन्वयात्मक काम गर्ने र कार्यान्वयन स्थानीय तहलाई गराउन दिने हो भने कोरोना रोकथाममा थप सजिलो हुन्छ ।
काठमाडौँ उपत्यकामा विभिन्न पेसा र व्यवसाय गरी ७७ जिल्लाका करिब ३५ लाख नागरिक बस्दै आएका छन् । यहाँ कोरोना समुदाय स्तरमा फैलियो भने भयाबह हुनेमा तीनै तहको बुझाइ छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?