logo
२०८० चैत्र १५ बिहीवार



सिंहदरबार प्रबलीकरण अन्तिम चरणमा, प्रम कार्यालय छिट्टै सारिने

मुख्य समाचार |


सिंहदरबार प्रबलीकरण अन्तिम चरणमा, प्रम कार्यालय छिट्टै सारिने


भउचप्रसाद यादव

काठमाडौँ, भदौ ८ गते । भूकम्पले क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुख्य प्रशासनिक भवनका तीनवटा मोहडाको प्रबलीकरण सम्पन्न भएको छ । भवनको उत्तरी, पूर्वी र दक्षिणी मोहडा प्रबलीकरण सम्पन्न भएको हो । ती मोहडामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने गरेको थियो । भवनको पश्चिमी मोहडाको पुनर्निर्माण ७५ प्रतिशत सम्पन्न भएकोे छ भने बाँकी काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुनेछ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सिंहदरबारको मुख्य प्रशासनिक भवनको पुनर्निर्माण तीन चरणमा भइरहेको जानकारी दिनुभयो । भवनको चार मोहडामध्ये उत्तरी, पूर्वी र दक्षिणी मोहडाको प्रबलीकरण सम्पन्न भइसकेको छ, उहाँले भन्नुभयो, पश्चिमी मोहडाको पुनर्निर्माण ७५ प्रतिशत सम्पन्न भएकोे छ ।
वि.सं. २०३० मा भएको आगलागीपछि अङ्ग्रेजी अक्षर ‘सी’ आकारको यो भवनको जीर्णोद्धारमा सिमेन्ट, बालुवा, रडलगायतका सामग्री प्रयोग गरिएको थियो । पहिलो चरणअन्तर्गत उत्तरी, पूर्वी र दक्षिणी मोहडा, दोस्रो चरणअन्तर्गत पश्चिमी मोहडा र तेस्रो चरणअन्तर्गत विद्युतीकरण, आधुनिक फर्निचर, डेकोरेसन, सुरक्षासँग सम्बन्धित उपकरणको जडान, बगैँचा निर्माणलगायतको कार्य गरिने प्रमुख कार्यकारी अधिकृत
ज्ञवालीले बताउनुभयो ।
पश्चिमी मोहडाको पुनर्निर्माण कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि कोरोना भाइरसको महामारीका कारण लक्ष्य पूरा हुन नसक्ने देखिएको बताउँदै उहाँले यो मोहडाको पुनर्निर्माण चालू आर्थिक वर्षभित्र सम्पन्न गरिने जानकारी दिनुभयो । अन्य मोहडाको तुलनामा पश्चिमी मोहडाको निर्माण जटिल प्रकृतिको रहेको तथा बहुमूल्य वस्तु तथा आकृतिहरू रहेकाले न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्त अनुसार विशेष सावधानी अपनाउँदै पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो ।
प्राधिकरणका अनुसार विशेष गरी सिसा, चुना, काठ र फलामको प्रयोग गरी निर्माण गरिएको पश्चिमी मोहडाको पुनर्निर्माण पनि तत्कालीन शैलीमा नै भइरहेको छ । ऐतिहासिक कलाकृतिसमेत रहेका यस भवनको पुनर्निर्माणको क्रममा पुराताìिवक सम्पदाको संरक्षण गरेझैँ संरक्षण गर्नुपर्ने हुन्छ ।
सिंहदरबारको पश्चिमी खण्ड राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा निर्मित सिंहदरबारको २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो जसको पछि पुनर्निर्माण गरिएको हो । पुनर्निर्माणको पहिलो चरणको काम दुई वर्षअघि र दोस्रो तथा तेस्रो चरणको काम छ महिनाअघि सुरु भएको हो ।
पहिलो चरणको पुनर्निर्माणको लागत २५ करोड ८० लाख, दोस्रो चरणको ५० करोड ७९ लाख र तेस्रो चरणको पुनर्निर्माणको लागत ४६ करोड ८८ लाख रुपियाँ रहेको प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री कार्यालय स्थानान्तरण
पुनर्निर्माण सम्पन्न भइसकेको उत्तरी, पूर्वी र दक्षिणी मोहडाको भवनमा आउँदो कात्तिकभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण गरिने ज्ञवालीले जानकारी दिनुुभयो । प्रधानमन्त्री कार्यालय स्थानान्तरणका लागि पुनर्निर्माणको तेस्रो चरणअन्तर्गत आवश्वयक तयारी भइरहेको उहाँले बताउनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?