logo
२०८१ बैशाख १२ बुधवार



पर्यटकीय गन्तव्यको ‘जीआईएस म्यापिङ’

मुख्य समाचार |
पर्यटन |


पर्यटकीय गन्तव्यको ‘जीआईएस म्यापिङ’


विश्वास रेग्मी

काठमाडौँ, भदौ ४ गते । देशभरका प्रमुख पर्यटकीय गन्तव्यबारे सम्पूर्ण किसिमको जानकारी राख्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्डले भौगोलिक सूचना प्रणाली (जीआईएस) ‘म्यापिङ’ तयार गर्ने भएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को वार्षिक कार्यक्रममै समेटेर ७७ जिल्लाकै जीआईएस म्यापिङ गर्ने तयारी गरेको बोर्डका अनुसन्धान, योजना र अनुगमन विभाग प्रमुख मणिराज लामिछानेले जानकारी दिनुभयो ।
पर्यटकीय गन्तव्य र यससँग सम्बन्धित पर्याप्त तथ्याङ्कको अभाव रहेको अवस्थामा बोर्डले भौगोलिक सूचना सङ्कलन गर्ने र त्यसलाई सजिलै जुनसुकै ठाउँबाट हेर्न सकिने गरी व्यवस्था गर्न लागेको हो । कुनै पनि जिल्लामा रहेको पर्यटकीय गन्तव्य, होटल सङ्ख्या तथा सुविधा, धार्मिक क्षेत्र, तालतलैया, पदमार्ग लगायत सबै विषयलाई यो म्यापिङमा समेट्ने प्रयास गर्दै छौँ’ उहाँले भन्नुभयो ।
पर्यटकीय स्थानबारे सही जानकारी लिन सम्बन्धित ठाउँमै पुग्नुपर्ने बाध्यताको यसले अन्त्य गर्ने उहाँले बताउनुभयो । बोर्डले यसबारे अध्ययन अनुसन्धान गर्न सम्बन्धित क्षेत्रमा टोली नै पठाउने तयारी पनि गरेको छ । कोभिड–१९ सङ्क्रमणबाट परिस्थिति केही सहज हुनासाथ म्यापिङको काम अगाडि बढाइने उहाँले जानकारी दिनुभयो ।
अनलाइनमा आधारित जीआईएस म्यापिङमार्फत स्थान छनोट गरेर क्लिक गरेकै आधारमा त्यहाँका बारेमा विस्तृत जानकारी लिन सकिन्छ । बोर्डले यो कार्यका लागि त्रिभुवन विश्वविद्यालयसँग पनि सहकार्य गर्ने जनाएको छ ।
बोर्डको चालू आर्थिक वर्ष बजेटमा अध्ययन अनुसन्धानलाई प्राथमिकतामा राखिएकाले पनि पर्यटकीय गन्तव्यको सूचना व्यवस्थित गर्न यस्तो तयारी गरिएको लामिछानेले बताउनुभयो । बोर्डले चालू आवमा अध्ययन अनुसन्धानका लागि नौ करोड ७९ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
अघिल्लो आवमा यो शीर्षकका लागि पाँच करोड ७५ लाख रुपियाँ बजेट बोर्डले छुट्याएको थियो । बोर्डले यसअघि पर्यटकले गर्ने खर्चको अध्ययन गर्न त्यससम्बन्धी स्याटेलाइट एकाउन्ट तयार गर्ने काम गत आवमै अगाडि बढाएको थियो । यद्यपि कोभिड सङ्क्रमणका कारण उक्त काम प्रभावित भएपछि त्यसलाई चालू आवमा पनि प्राथमिकतामा राखेर अगाडि बढाउने बोर्डको तयारी छ ।

लगानी जुटाउन डीपीआर
बोर्डले सुदूरपश्चिम र प्रदेश २ का सम्भावित पर्यटकीय गन्तव्यमा लगानी जुटाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने भएको छ । ती प्रदेशमा पर्यटकीय रूपमा विकास गर्न लायक स्थान छनोट गरेर त्यसको डीपीआर बनाउन लागिएको लामिछानेले जानकारी दिनुभयो ।
यी प्रदेशका केही स्थान छनोट भइसकेको र छिट्टै डीपीआर निर्माणको काम सुरु गरिने उहाँले बताउनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?