logo
२०८१ बैशाख १३ बिहीवार



घट्यो टेलिकमको आम्दानी

मुख्य समाचार |


घट्यो टेलिकमको आम्दानी


विश्वास रेग्मी

काठमाडौँ, साउन ३१ गते । कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार उक्त अवधिमा कम्पनीको आम्दानी करिब दुई अर्ब रुपियाँले घटेको छ ।
प्रतिवेदन अनुसार गत आवको वैशाखदेखि असार मसान्तसम्म टेलिकमले ९ अर्ब २२ करोड २४ लाख रुपियाँ आम्दानी गरेको छ । यसमध्ये सेवा बिक्रीबापत ७ अर्ब ७३ करोड ८० लाख र अन्य तर्फ एक अर्ब ४८ करोड ४३ लाख रुपियाँ आम्दानी भएको छ । त्यसको अघिल्लो आव २०७५÷७६ को सोही अवधिमा टेलिकमले ११ अर्ब ३६ करोड ३२ लाख रुपियाँ आम्दानी गरेको थियो । त्यसमध्ये सेवा बिक्रीबापत
९ अर्ब २६ करोड र अन्यतर्फ दुई अर्ब रुपियाँ आम्दानी कम्पनीले
गरेको थियो ।
कोभिड–१९ सङ्क्रमण रोकथामका लागि मुलुुकमा भएको लकडाउनको उक्त अवधिमा कम्पनीले दुई अर्ब १४ करोड रुपियाँ गुमाएको छ । त्यति मात्र होइन, लकडाउनको अवधिमा टेलिकमको खुद नाफा घटेर ९९ करोड ४० लाख रुपियाँ मात्र पुगेको छ । जबकी आव २०७५÷७६ को चौथो त्रैमासिकमा टेलिकमको खुद नाफा दुई अर्ब ५५ करोड ८७ लाख रुपियाँ थियो ।
कोभिडका कारण टेलिकमले गुमाएको आम्दानीले गत आवको समग्र आम्दानी र नाफा नै प्रभावित भएको छ । गत आवमा टेलिकमले कुल ४१ अर्ब ४९ करोड ४७ लाख रुपियाँ आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये सेवा बिक्रीबापत कम्पनीले ३४ अर्ब ५७ करोड ४७ लाख र अन्यतर्फ ६ अर्ब ९२ करोड रुपियाँ आम्दानी गरेको छ । आव २०७५÷७६ को कुल आम्दानी भने ४३ अर्ब ८३ करोड रुपियाँ थियो ।
किन घट्यो आम्दानी ?
लकडाउनमा दूरसञ्चारको उपयोग झन् धेरै भएको अवस्थामा टेलिकमको आम्दानी घट्ने विभिन्न कारण औँल्याएका छन् । अन्तर्राष्ट्रिय आगमन कलसहित समग्रमा भोइस कल घट्नु, रिचार्ज कार्ड बिक्री बापतको छुट र लकडाउनको समयमा दिएको छुट लगायतका कारणले आम्दानी घटेको बताइएको छ । टेलिकमको मुख्य आम्दानीको स्रोतको रूपमा रहेको अन्तर्राष्ट्रिय कल विश्वभर नै घटिरहेको र लकडाउनमा झन् ह्वात्तै घट्दा आम्दानीमा असर परेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताउनुुभयो ।
यद्यपि फाइबरमार्फत उपलब्ध गराइरहेको फिक्स्ड इन्टरनेट र मोबाइल डाटाको आम्दानीमा भने लकडाउनकै समयमा वृद्धि भएको उहाँले बताउनुभयो । टेलिकम मात्र नभएर नेपालका अन्य दूरसञ्चार सेवा प्रदायकहरूका लागि अन्तर्राष्ट्रिय कल नाफामूलक र मुख्य आम्दानीको स्रोत हो ।
यसबाहेक टेलिकमले गत आवमा रिचार्ज कार्ड बिक्रीमा दिने छुटबापत करिब ८५ करोड ३३ लाख रुपियाँ आम्दानी गुमाएको छ । यसअघि रिचार्ज कार्ड बिक्रीबापत बिक्रेतालाई चार प्रतिशत कमिसन उपलब्ध गराइने तर कमिसन सहितको रकमलाई आम्दानी देखाइने हुँदा आम्दानी केही धेरै देखिने गरेको थियो । रिचार्ज कार्ड बिक्रीमा दिएको छुटलाई समेत हिसाब गर्दा गत आवमा टेलिकमको सेवा बिक्रीबापतको आम्दानी ३४ अर्ब ५७ करोड रुपियाँबाट बढेर ३५ अर्ब ४२ करोड रुपियाँ पुग्छ ।
लकडाउनमा दिएको छुट सुविधाले पनि टेलिकमको आम्दानी कम देखिएको हो । टेलिकमले लकडाउनको समयमा आफ्ना ग्राहकलाई करिब ८२ करोड रुपियाँ बराबरको छुट सुविधा उपलब्ध गराएको दाबी गरेको छ । जसमध्ये शतप्रतिशत बोनस ब्यालेन्सबापत ५३ करोड ४० लाख, मोबाइल डाटामा ३० प्रतिशत छुटबापत २२ करोड ८० लाख र जिरो ब्यालेन्स कल सुविधाअन्तर्गत पाँच करोड ३० लाख रुपियाँ बराबरको सुविधा ग्राहकलाई उपलब्ध गराएको टेलिकमले जनाएको छ । टेलिकमले लकडाउन जारी भएको चैतदेखि असारसम्मको अवधिमा करिब १५ प्रतिशतले आम्दानी गुमाएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?