logo
२०८१ बैशाख ७ शुक्रवार



बन्द हुँदै सीडीएमए

मुख्य समाचार |


बन्द हुँदै सीडीएमए


विश्वास रेग्मी

काठमाडौँ, साउन ३० गते । दुर्गमका प्रयोगकर्तालाई लक्षित गर्दै नेपाल टेलिकमले १४ वर्षअघि सुरु गरेको सीडीएमए मोबाइल सेवा चालू आर्थिक वर्ष २०७७/७८ देखि बन्द हुने भएको छ । दूरसञ्चार बजारमा सीडीएमए पुरानो किसिमको प्रविधि भएको, उपकरण उपलब्ध हुन छाडेको र यसले प्रयोगकर्ता आकर्षित गर्न नसकेको ठहर गर्दै टेलिकमले यो सेवा बन्द गर्ने निर्णय गरेको हो । गत आवमै टेलिकमले सीडीएमएमा थप लगानी नगर्ने निर्णय सार्वजनिक गरिसकेको थियो ।
चालू आवको वार्षिक कार्यक्रममै कम्पनीले सीडीएमएका विद्यमान प्रयोगकर्तालाई जीएसएमका टुजी, थ्रीजी र फोरजी प्रयोगकर्ताका रूपमा ‘माइगे्रट’ गर्ने योजना बनाइसकेको छ । यद्यपि यसरी प्रयोगकर्ता माइगे्रट गर्दा कुन विधिबाट गर्न सकिन्छ भन्ने विषयमा अहिले अध्ययन भइरहेको कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो ।
उहाँले अहिलेकै सीडीएमए नम्बरलाई जीएसएम नम्बरका रूपमा प्रयोग गर्ने अथवा पोस्टपेड नम्बर दिने भन्ने विषयमा छलफल गरिरहेका छौँ भन्न्नुभयो । उहाँले सीडीएमए सेवा बन्द गर्न यसको बीटीएस भएका स्थानमा टुजी अथवा थ्रीजी टावर राख्नुपर्ने भएकाले सकेसम्म यसै आर्थिक वर्षमा यो परियोजना सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँले यद्यपि विकट र नयाँ टावर स्थापना गर्न कठिनाइ पर्ने उच्च हिमाली क्षेत्रमा भने यो सेवा चालू आवसम्म कायम रहने बताउनुभयो ।
नेपाल टेलिकमले हाल आठ सय मेगाहर्ज ब्यान्डमा छ मेगाहर्ज फ्रिक्वेन्सीको प्रयोग गरेर सीडीएमए सेवा उपलब्ध गराइरहेको छ । अर्को १९ सय मेगाहर्ज ब्यान्ड पनि सीडीएमएका लागि तोकिए पनि त्यस अन्तर्गतका सबै फ्रिक्वेन्सी फोरजी उपयोगका लागि १८ सय मेगाहर्ज ब्यान्डमा समाहित गरिएपछि उक्त ब्यान्ड हाल नेपालमा प्रयोग छैन ।
सीडीएमएका लागि प्रयोग भइरहेको आठ सय मेगाहर्ज ब्यान्डलाई पनि नयाँ प्रविधिको फोरजी सेवाका लागि उपयोग गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको सुझाव अनुसार रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले निर्णय गरेपछि उक्त ब्यान्डबाट सीडीएमए सेवा विस्थापित गर्ने प्रक्रिया अघि बढेको थियो । टेलिकमले सोहीअनुसार सीडीएमए सेवा पनि बन्द गर्ने प्रयास थालेको हो ।
समितिले टेलिकमलाई यसअघि सीडीएमए सेवा उपलब्ध गराइरहेको आठ सय मेगाहर्जमा ब्यान्डमा फोरजी सेवाका लागि १० मेगाहर्ज फ्रिक्वेन्सी दिने निर्णयसमेत गरेको थियो । यद्यपि सोही ब्यान्डमा सीडीएमएका लागि प्रयोग भएको छ मेगाहर्ज फ्रिक्वेन्सी भने टेलिकमले फिर्ता गर्नुपर्ने सर्त तोकिएको थियो । आठ सय मेगाहर्ज ब्यान्डमा फोरजी विस्तार १८ सय ब्यान्डको तुलनामा सस्तो मानिन्छ । यसका साथै यसले ओगट्ने क्षेत्र पनि धेरै हुन्छ ।
जीएसएम प्रविधिमा फोरजी, फाइभजीलगायत नयाँ संस्करणको प्रविधि विकास भइरहँदा सीडीएमएमा भने पुरानै प्रविधि मात्र उपयोग गर्नुपर्ने बाध्यताका कारण सीडीएमएमा टेलिकमको लगानी प्रभावकारी हुन सकेको थिएन । त्यस्तै सीडीएमए प्रयोगकर्ताका लागि खासगरी स्मार्टफोनको विकल्प नहुँदा प्रयोगकर्ताको रोजाइमा जीएसएम सुविधा नै पर्दै आएको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार नेपाल टेलिकमले जेठसम्म १६ लाख ८२ हजार सीडीएमए रिमकार्ड वितरण गरेको छ । स्काई ब्रान्डमा सुरु गरिएको सीडीएमए सेवा सुरुवातमा प्रभावकारी भएपछि टेलिकमले सन् २००९ देखि यसको पोस्टपेड सेवासमेत सुरु गरेको थियो । नेपालमा नेपाल टेलिकमबाहेक युनाइटेड टेलिकम (यूटीएल)ले पनि सुरुवातमा सीडीएमए सेवा उपलब्ध गराएको थियो तर कम्पनी नै धराशयी बन्दै गएपछि यूटीएलले लामो समयदेखि कुनै किसिमको दूरसञ्चार सेवा उपलब्ध गराएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?