logo
२०८१ बैशाख ६ बिहीवार



कोरोना सङ्क्रमणको जोखिममा सुरक्षाकर्मी

मुख्य समाचार |


कोरोना सङ्क्रमणको जोखिममा सुरक्षाकर्मी


बाग्मती प्रदेश ब्युरो

हेटौँडा, साउन ३० गते । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै सङ्क्रमणको जोखिममा सुरक्षाकर्मी पर्दै गएका छन् ।
जनसम्पर्कमा रहेर काम गर्नुपर्ने र चलायमान बढी हुनुपर्ने भएकाले पछिल्लो समय सुरक्षाकर्मीमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको हो ।
बाग्मती प्रदेशका मकवानपुर, काभ्रे, धादिङ, चितवन लगायतका जिल्लामा कार्यस्थलमा खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरस सङ्क्रमण भएको छ । बाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले सङ्घीय प्रहरी कार्यालयका सहित ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरोना पुष्टि भएका बाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा कार्यरत प्रहरी कर्मचारीहरूलाई प्रहरी कार्यालयमा रहेको आइसोलेसनमा राखिने भएको छ । प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै दङ्गा प्रहरीतर्फका सहित चार सयभन्दा बढी प्रहरीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएको छ ।

सङ्क्रमित प्रहरीको सङ्ख्या २० पुग्यो

काभ्रे समाचारदाताका अनुसार बनेपा नगरपालिका वडा नं. १३ मा रहेको सङ्घीय प्रहरी एकाइ बाग्मतीमा थप छ जनामा कारोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार बिहीबार थप छ जनामा कारोना पुष्टि भएसँगै प्रहरीमा सङ्क्रमितको सङ्ख्या २० पुगेको छ । यसअघि भएको परीक्षणमा सङ्घीय प्रहरीका १३ र जिल्ला प्रहरीका एक जनामा सङ्क्रमण पुष्टि भएको थियो । सङ्घीय प्रहरीका ७० जनाको परीक्षण हुँदा १९ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै धुलिखेल अस्पतालका एक नर्समा कोरोना पुष्टि भएपछि अस्पतालको ओपीडी सेवा बन्द भएको अस्पतालले जनाएको छ । धुलिखेल अस्पताल अगाडिको एक होटल व्यवसायी र धुलिखेलकै एक महिलालाई कोरोना पुष्टि भएको छ । बिहीबार थपिएका नौ जनासहित जिल्लामा सङ्क्रमितको सङ्ख्या ६१ पुगेको छ । कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । यसैबीच काठमाडौँ विश्वविद्यालय १५ दिनका लागि बिदा भएको छ । धुलिखेल नगरपालिकामा रहेको उक्त विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि मङ्गलबारबाट पन्ध्र दिनका लागि बिदा दिएको हो ।
उपत्यका लगायत काभ्रेपलाञ्चोक जिल्लाको बनेपा, धुलिखेल नगरपालिका क्षेत्रमा कोरोनामा सङ्क्रमण बढ्ने सम्भावनालाई दृष्टिगत गरी पूर्व सावधानी स्वरूप १५ दिन बिदा दिएको विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. सुवोध शर्माद्वारा जारी सूचनामा भनिएको छ ।

थप १० प्रहरीमा कोरोना पुष्टि

मकवानपुर समाचारदाताका अनुसार मकवानपुरमा थप १० जना प्रहरीमा कोभिड–१९ पुष्टि भएको छ ।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडास्थित प्रादेशिक प्रयोगशालमा स्वाब परीक्षण भएका मध्ये बिहीबार ३७ जनामा कोरोना पुष्टि भएकोमा तीमध्ये नेपाल प्रहरीका १० कर्मचारीमा कोरोना सङ्क्रमण
भएको हो ।
सङ्क्रमितमध्ये सात जना जिल्ला प्रहरी कार्यालय मकवानपुर अन्तर्गत कार्यरत र बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत तीन प्रहरी रहेका छन् ।
यसअघि हेटौँडा उपमहानगरपालिका १६ हटियास्थित अस्थायी प्रहरी पोस्टका चार र हेटौँडा १० बसपार्कमा रहेको प्रहरी पोस्टमा कार्यरत एक प्रहरीमा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार बिहीबार कोरोना पुष्टि हुनेमा नेपाल प्रहरीका बाहेक २७ जना रहेका छन् । हेटौँडा उपमहानगरपालिका २ का एक, ४ का चार, ५ का चार, ९ का सात, १० र १३ का एक÷एक गरी १८ जना रहेका छन् ।
त्यस्तै भीमफेदी गाउँपालिकामा तीन, थाहा नगरपालिका दुई, बकैया गाउँपालिकाका दुई, चितवन घर भई हेटौँडा बस्दै आएका एक र काठमाडौँ ठेगाना भएर हेटौँडा बस्दै आएका एक जनामा कोरोना पुष्टि भएको छ ।

निषेधाज्ञापछि बजार क्षेत्र सुनसान

धादिङ समाचारदाताका अनुसार धादिङमा एक जना कोरोना सङ्क्रमितको मृत्यु र समुदाय स्तरमा कोरोना सङ्क्रमण देखिएपछि धादिङको सदरमुकाम र आसपासका क्षेत्रमा जारी निषेधाज्ञापछि पहिलो दिन बिहीबार धादिङबेँसी बजार क्षेत्र सुनसान छ ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सङ्कट व्यवस्थापन समितिले बुधबार राति १२ बजेदेखि भदौ ३ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । औषधि पसल, फलफूल पसल र खाद्यान्न पसलबाहेक अन्य सम्पूर्ण पसल पूर्ण रूपमा बन्द छन् । सहायक प्रमुख जिल्ला अधिकारी रूद्रबहादुर मल्लका अनुसार नीलकण्ठ नगरपालिकाको बजार क्षेत्र र आसपासमा मात्रै निषेधाज्ञा जारी गरिएको हो ।
पृथ्वी राजमार्ग क्षेत्रमा एम्बुलेन्स, खाद्यान्नका गाडी बाहेक अन्य गाडी बन्द गरिएका छन् । काठमाडौँका लागि विभिन्न जिल्लाबाट आएका गाडी फर्काइएका छन् । जिल्ला सदरमुकाम लगायत अन्य बजार क्षेत्रमा पनि पसल, यातायात र कार्यालय बन्द छन् ।

चीनले दियो थप स्वास्थ्य सामग्री

सिन्धुपाल्चोक समाचारदाताका अनुसार सिन्धुपाल्चोकलाई बुधबार चीनको न्यालम कन्ट्रीले कोभिड–१९ प्रतिरोधी स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
दुई देश बीचको मितेरी पुलमा न्यालम कन्ट्रीका उपनिर्देशक साङ्बुको उपस्थितिमा स्वास्थ्य सामग्री ल्याएर दिएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।
दुई हजार आठ सय थान पीपीई, पाँच हजार डिस्पोजल मेडिकल ह्याट, पाँच हजार मेडिकल आइसोलेसन सुज कभर, तीन हजार गगल्स, दुई हजार आइसोलेसन मास्क, दुई हजार एन नाइन्टी फाइभ मास्क, दुई हजार थान पीसीआर टेस्ट रिजेन्टस, दुई हजार पीसीआर टेस्ट स्वाब र पाँच हजार थान डिस्पोजल मास्क सहयोग गरेको जानकारी छ ।
यसअघि दुई पटक न्यालम सरकारले सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ ।

समुदायमा फैलियो कोरोना

चितवन समाचारदाताका अनुसार कोभिड–१९ चितवनमा समुदायमा फैलिन थालेको छ । भारतबाट नेपाल आएका र अन्य देशबाट नेपालमा आएकामा मात्र देखिएको कोरोना अहिले समुदाय स्तरमा फैलिन थालेको हो । जिल्लाका पाँचवटा अस्पतालमा अन्य रोग लागेर उपचार गर्न आएका बिरामी, बैङ्कका कर्मचारी, प्रहरी, चिकित्सक, स्वास्थ्यकर्मी लगायतमा कोरोना भाइरस सङ्क्रमण भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले समुदाय स्तरमा नै कोरोना भाइरस फैलिन थालेको प्रस्ट देखिएको छ । यात्राको कुनै पनि इतिहास नभएको, देश बाहिर नगएको, बाहिरबाट नआएको व्यक्तिमा पनि सङ्क्रमण देखिएको छ । रोगी व्यक्तिसँग सम्पर्क नभएको व्यक्तिलाई सङ्क्रमण देखिएकाले अब जोखिम वृद्धि हुँदै गएको जानकारी दिनुभयो ।
मङ्गलबार भएको परीक्षणमा चितवनमा १६ जनामा कोरोना पुष्टि भएकोमा क्यान्सर अस्पतालमा उपचार गर्न आएका बिरामी, मौलाकालिका, नेसनल सिटी अस्पतालमा अर्थोपेडिक लगायत अन्य समस्या भएर आएका बिरामीमा कोरोना सङ्क्रमण भएको पाइएको हो ।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले समुदायमा फैलिसकेको छ, अब यसको नियन्त्रणका उपाय खोज्नुपर्ने हुन्छ भन्नुभयो ।
उहाँले भरतपुर अस्पतालका एक चिकित्सक र क्यान्सर अस्पतालका एक स्टाफ नर्समा कोरोना सङ्क्रमण भएको जानकारी दिनुभयो ।

८३ जनाको स्वाब सङ्कलन

दोलखा समाचारदाताका अनुसार सिल गरिएको गौरीशङ्कर गाउँपालिका–५ सुरीबाट कोरोना सङ्क्रमितको सम्पर्कमा आएका ८३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्न धुलिखेल अस्पताल पठाइएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख विभुकुमार झाका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र सुरीका स्वास्थ्यकर्मी एक र हलेश्वर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका तेस्रो मुलुकबाट आएका एक जनामा कोभिड पोजेटिभ रिपोर्ट आएपछि वडा सिलबन्दी गरिएको छ ।
गत आइतबार कोरोना सङ्क्रमणको शङ्कामा क्वारेन्टाइनमा रहेका समेत सात जनाको स्वाब सङ्कलन गरी धुलिखेल अस्पताल पठाइएकोमा दुई जनाको पोजेटिभ रिपोर्ट आएको हो । यसअघि पनि गोरीशङ्करकै दुई जना र भीमेश्वर नगरपालिकाका एक जनामा पोजेटिभ देखिएको थियो । गाउँपालिकाले अत्यावश्यक कामबाहेक स्वास्थ्य केन्द्र र वडाबाट दिइने सम्पूर्ण सेवा अर्को व्यवस्था नभएसम्म बन्द गरेको जानकारी दिँदै गाउँपालिका अध्यक्ष स्वयमबहादुर खड्काले भन्नुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?