logo
२०८१ बैशाख ७ शुक्रवार



उड्डयन क्षेत्रमा दस अर्बको नोक्सानी

मुख्य समाचार |


उड्डयन क्षेत्रमा दस अर्बको नोक्सानी


विश्वास रेग्मी

काठमाडौँ, साउन २६ गते । कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप जारी गरिएको बन्दाबन्दीका कारण नेपालको उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ । चैत ११ गतेदेखि असार अन्तिमसम्म जारी बन्दाबन्दीका कारण यो क्षेत्रले करिब साढे १० अर्ब रुपियाँ नोक्सान बेहोर्नु परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रगति विवरण अनुसार प्राधिकरणको आम्दानी साढे चार अर्ब रुपियाँले घटेको छ । गत आवमा नियमित र विमानस्थल विकास शुल्कबापत १० अर्ब ५४ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा बन्दाबन्दीका कारण प्राधिकरणको आम्दानी पाँच अर्ब ९६ करोडमा सीमित भएको छ । यो प्राधिकरणको लक्ष्यभन्दा ४३ प्रतिशतले कम हो ।
प्राधिकरणले गत आवमा अवतरण, पार्किङ, नेभिगेसन, भाडाजस्ता शुल्कबाट गर्ने नियमित आम्दानी चार अर्ब ६१ करोड रुपियाँ पुगेको छ । जब कि यी शीर्षकबाट प्राधिकरणले आठ अर्ब ३३ करोड १३ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो । त्यस्तै विमानस्थल विकास शुल्कबापत प्राधिकरणले एक अर्ब ३४ करोड ७७ लाख आम्दानी गरेको छ । यो शीर्षकमा प्राधिकरणले दुई अर्ब २१ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य तय गरेको थियो ।
प्राधिकरणबाहेक वायुसेवा कम्पनीको आम्दानी निकै खुम्चिएको प्रक्षेपण नियामक निकायले गरेको छ । वायुसेवा कम्पनीले बन्दाबन्दीका कारण छ अर्ब रुपियाँ आम्दानी गुमाएको प्रक्षेपण प्राधिकरणको छ । प्राधिकरण र वायुसेवा कम्पनी समेतको नोक्सानी गरेर उड्डयन क्षेत्रले करिब साढे १० अर्ब रुपियाँ गुमाएको पाइएको हो ।
कोभिड सङ्क्रमणकै कारण उडान प्रतिबन्ध हुँदा हवाई यात्रुको सङ्ख्या व्यापक घट्ने देखिएको छ । प्राधिकरणका अनुसार बन्दाबन्दी जारी भएको सन् २०२० को पहिलो छ महिनामा मात्रै अन्तर्राष्ट्रियतर्फ ६१ प्रतिशत हवाई यात्रु घटेका छन् । त्यस्तै आन्तरिकतर्फ ५५ प्रतिशत हवाई यात्रु घटेको प्राधिकरणले जनाएको छ । यही हिसाबले सन् २०२० मा हवाई यात्रु करिब ८० प्रतिशतसम्मले घट्ने प्रक्षेपण प्राधिकरणको छ ।
प्राधिकरणका अनुसार नेपालमा बन्दाबन्दी जारी भएको समयमा कुल ३३२ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भए । उक्त उडानबाट १३ हजार ७७५ यात्रु बाहिरिए भने ३० हजार १७४ यात्रु नेपाल भित्रिएका थिए । कुल अन्तर्राष्ट्रिय उडानमध्ये नेपाल वायुसेवा निगमको १३२, हिमालय एयर लाइन्सको ९२, बुद्ध एयरको चार र श्री एयर लाइन्सले छ गरी स्वदेशी वायुसेवा प्रदायकले २३४ उडान गरेको प्राधिकरणको तथ्याङ्क छ ।
त्यस्तै उक्त अवधिमा एक हजार ६९० वटा आन्तरिक उडान भए जसमा तीन हजार १७४ यात्रु थिए । सोही आन्तरिक उडानबाट एक हजार ९३६ टन अत्यावश्यक सामग्री ढुवानी भएको पनि प्राधिकरणले जनाएको छ ।
पुँजीगत खर्च पनि प्रभावित
कोभिड–१९ सङ्क्रमणका कारण गत आवमा प्राधिकरणको पुँजीगत खर्चमा निकै कमजोर प्रगति देखिएको छ । कुल ३४ अर्ब रुपियाँ पुँजीगत खर्चका लागि प्राधिकरणले व्यवस्था गरेकोमा त्यसको ४०.६८ प्रतिशत अर्थात् १३ अर्ब ८३ करोड ५९ लाख रुपियाँ मात्र खर्च भएको प्राधिकरणले जनाएको छ । गत आवका लागि प्राधिकरणले ४६ अर्ब ९६ करोड रुपियाँ बजेट तयार गरेको थियो । जसमध्ये ४२ प्रतिशत अर्थात् १९ अर्ब ५१ करोड ५५ लाख रुपियाँ मात्र खर्च भएको प्रगति विवरणमा उल्लेख छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?