logo
२०८१ बैशाख १३ बिहीवार



रङ्गेलीमा क्याम्पस बन्यो एक सय शैयाकाे आइसोलेसन अस्पताल

प्रदेश |
फिचर |


रङ्गेलीमा क्याम्पस बन्यो  एक सय शैयाकाे आइसोलेसन अस्पताल


नवराज कट्टेल
विराटनगर, साउन २५ गते । मोरङको रङ्गेली नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितलाई आइसोलेसन गर्न क्याम्पसलाई नै अस्पतालमा परिणत गरेको छ । प्रदेश १ मा सङ्क्रमितहरूको उपचार तथा स्वास्थ्य परामर्श प्रदान गर्दैआएका तोकिएका अस्पतालहरू भरिँदै गएपछि रङ्गेली नगरपालिकाले क्याम्पसलाई नै एक सय शय्याको आइसोलेसन अस्पतालमा रुपान्तरण गरेको हो ।

मुख्य बजार क्षेत्र समेटिएको रङ्गेली–७ का मात्रै ३८ सङ्क्रमित पुगेका छन्, नगरपालिकाका प्रमुख दिलिप बगडीयाले भन्नुभयो, 'सरकारले पालिकास्तरको आइसोलेसन सञ्चालन कार्यविधिमा तोकेको मापदण्डमा टेकेर अगाडी बढेका छौँ ।'

स्थानीय जनता क्याम्पसको आइसोलेसनमा अहिले छ महिलासहित २८ नागरिकलाई राखिएको छ । अस्पतालमा अक्सिजन सिलिण्डरको व्यवस्था, सङ्क्रमितलाई प्रयोग गर्न व्यक्तिगत साबुनसहित सरसफाइमा प्रयोग गरिने सामग्रीको उपलब्धता, स्वास्थ्य परामर्शका रङ्गेली अस्पताल मेडिकल सुपरिटेन्डेन्ट नेतृत्वको चिकित्सक टाेली परिचालन गरिएको नगर प्रमुख बगडीयाले जानकारी दिनुभयो । 'दुईजना एचए २४ सै घण्टा अस्पतालमा रहने व्यवस्था छ, त्यसबाहेक सुरक्षाकर्मीसहितको टोलीले तोकिएको आइसोलेसन सुरक्षा र सतर्कतामा ध्यान दिनुभएको छ,' बगडीयाको भनाइ छ ।

रङ्गेली नगरपालिकामा हालसम्म ५२ सङ्क्रमित पुगेका छन् । सङ्क्रमितहरूमध्ये सुरुका २२ जना प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोशी अस्पतालको कोभिड उपचार केन्द्र विराटनगर र पीयूको कोभिड आइसाेलेसन अस्पताल गोठगाउँमा भर्ना गरिएका थिए ।

सङ्क्रमितमध्ये वडा नं. ७ को शिवमन्दिरमा रहेका दुई पुजारी भागेर भारत नै फर्केका छन् । शिव मन्दिरनजिकै रहेको एकै घरका १४ जना सङ्क्रमित भएपछि मन्दिरका तीन पुजारीको समेत स्वाब लिइएको थियो । स्वाब लिइएकै राति भारतीय नागरिक दुई पुजारी भने भागेको मेयर बगडीयाले जानकारी दिनुभयो ।

क्याम्पसको आइसोलेसन अस्पतालमा बस्नेहरूका लागि तीन पटक चिया र बिस्कुट, बिहान र बेलुका खाना र दुईवटा फलफुल (स्याउ) उपलब्ध गराउने गरिएको छ । 'हामी वडा नं. ७ लाई थप ९ दिन सिल गर्नेछौँ', मेयर बगडीयाले भन्नुभयो, '४२३ जनाको स्वाब सङ्कलन गरेका छौँ, यसको नतिजा कस्तो आउँछ भनेर प्रतिक्षामा छौँ ।'

रङ्गेली नगरपालिकाले हालसम्म एक हजार ४२७ जनाको स्वाब परीक्षण गराइसकेको छ । रङ्गेली नगरपालिका क्षेत्रलाई लकडाउन घोषणा गरिएको छ । सङ्क्रमितको सङ्ख्या दैनिक बढेपछि अहिले बजार सुनसान रहेको छ । कोभिड क्राईसिस मेनेजमेन्ट समितिको आइतबार बिहान बसेको बैठकले यसलाई थप कडाइ गर्दै सङ्क्रमितको सम्पर्क पहिचान र सङ्क्रमितहरूको व्यवस्थापनमा ध्यान दिने निर्णय गरेको छ । रङ्गेली नगरपालिकाले भारत तथा बाहिरबाट आउने नागरिकलाई राख्नका लागि बाबा तिरुपति मन्दिरको भवनलाई क्वारेन्टीनको रुपमा प्रयोग गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?