logo
२०८० चैत्र १६ शुक्रवार



बिहीबारबाट जोर-बिजोर सवारी सञ्चालन प्रणाली लागू

मुख्य समाचार |


बिहीबारबाट जोर-बिजोर सवारी सञ्चालन प्रणाली लागू


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २१ गते । सरकारले काठमाडौँ उपत्यकामा सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीमा पुनः जोर बिजोर प्रणाली लागू गरेको छ । सरकारले बन्दाबन्दीको स्वरुप परिवर्तन गरी आर्थिक गतिविधि बढाउन प्रयास गरे पनि पछिल्लो समय कोरोना सङ्क्रमण बढेपछि आवागमनमा कडाइ गर्दै सामूहिक भेला, भोज, सेमिनारमा कडाइ गरेको हो ।

गृह मन्त्रालयद्वारा विज्ञप्तिअनुसार, बिहीबारदेखि लागू हुनेगरी  काठमाडाैँ उपत्यकालगायत दुई सयभन्दा बढी कोभिड–१९ सङ्क्रमित पाइएका जिल्लाहरूमा समेत जोर बिजोर प्रणाली लागू गरिएको छ । सरकारले अघिल्लो बिहीबारदेखि नै लागू हुने गरी काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेक अन्य सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरेको थियो ।

गृहले सो निर्णयलाई कडाइका साथ लागू गर्न सबै जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई निर्देशन दिएको छ । यस्तै, दुई सयभन्दा बढी सङ्क्रमित पाइएका जिल्लामा समेत बेलुका ९ बजेदेखि बिहान पाँच बजेसम्म आवागमन बन्द गरिने भएको छ । यस्तै, कोभिड–१९ को सङ्क्रमण जोखिम विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले निर्णय गरी तुरुन्त बन्द गर्न र कोरोना परीक्षणको थप व्यवस्था गर्न समेत गृहले निर्देशन दिएको छ ।

सरकारले आवागमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई निषेध गर्ने निर्णय गरेको छ । त्यस्तै, होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्यलाई समेत निषेध गरेको छ । गृहले जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गराउनसमेत निर्देशन दिएको छ । मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लङ्घन गर्ने व्यक्तिलाई जरिवाना गर्नेसमेत जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?