logo
२०८० चैत्र १६ शुक्रवार



उपभोक्ताको भान्सा महँगियो

राष्ट्रिय |


उपभोक्ताको भान्सा महँगियो


सीता शर्मा

काठमाडौँ, साउन २१ गते । तरकारीको भाउ महँगो भएसँगै आम उपभोक्ताको भान्सा पनि महँगिएकोे छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो ।
चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको १६० रुपियाँ परेको अनुभव कलङ्कीकी उपभोक्ता रमा आचार्यले बताउनुभयो । पहिले दुई÷तीनथरी तरकारी र अचार हुने रमाको भान्सामा अचेल एकथरी मात्रै तरकारी पाक्छ ।
कलङ्की चोकमै तरकारी भाउ बुझिरहेका वाफलमा डेरा गरी बस्ने विमल कार्कीले अब तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको सुनाउनुभयो । उहाँले तरकारी खान नसक्ने भएपछि यसको विकल्पमा गेडागुडीको टुसा उमारेर खाने सोच बनाएको बताउनुभयो । कार्कीले तरकारीको भाउ छोइसक्नु छैन । लकडाउन खुलेपछि तरकारीको भाउ घट्ने आशा थियो, तर झन् महँगियो भन्नुभयो ।

प्रायः तरकारी महँगो
बजारमा प्रायः सबैखालका तरकारीको भाउ बढेको छ । अघिल्ला दुई साता प्रतिकिलो औसत मूल्य ४५ देखि ५० रुपियाँमा थोकमा किनबेच भएको आलु अहिले थोकमै ६८ देखि ७० रुपियाँ पुगेको छ । दस÷पन्ध्र दिन अगाडिसम्म प्रतिकेजी ३० देखि ३५ रुपियाँसम्ममा पाइने ठूूलो गोलभेँडा थोकमै ६५ देखि ७० रुपियाँसम्म पुगेको छ ।
यस्तै बन्दा, बोडी, भन्टा लाम्चो, घिउसिमी, तितो करेला, लौका, परवर, लौका, घिरौंला, भिण्डीलगायत सम्पूर्ण हरियो सागपातको पनि यसैगरी भाउ बढेको छ । खुद्रामा त तरकारीको भाउ झन् छोई नसक्नु भएको छ ।

उत्पादन र आयात दुवैमा कमी
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको माग अनुसार सहज आपूर्ति नभएकाले पनि भाउ महँगो भएको छ । कालीमाटीमा सामान्य अवस्था दैनिक नौ सयदेखि एक हजार मेट्रिक टन तरकारी आपूर्ति हुने गरेकामा अहिले साढे चार सयको हाराहारीमा मात्रै तरकारी भित्रिने गरेको छ । नेपालमा वर्षाको समयमा उत्पादन कम नै हुने गरेकोमा यस पटक कोरोनाका कारण भएको लकडाउनले आपूर्ति कम हुँदा भएका तरकारी पनि किसानले बजारसम्म लैजान नसक्दा आपूर्ति कम भएको व्यापारी बताउँछन् । बन्दाबन्दी खुलेपछि बाढी र पहिरोका कारण बजारमा ल्याउन तयारी भएको धेरै तरकारी नोक्सानी भएकाले पनि भाउ महँगो भएको हुनसक्ने कालीमाटी बजारका तरकारी व्यापारी विकास बस्नेतले बताउनुभयो ।
बिस्तारै होटल तथा व्यवसाय पनि सुरु हुने क्रममा भएकाले भाउ अझै बढ्न सक्ने उहाँ बताउनुहुन्छ । कोरोना तथा बाढी पहिरोको प्रभावका कारण तरकारीको भाउमा केही प्रभाव परे पनि भाउ बढ्नु हरेक वर्षको समस्या भएको बस्नेतको भनाइ छ ।
उपभोक्ता अधिकारकर्मीले बाढी, पहिरो तथा कोरोना तरकारीको भाउ बढ्नुमा जिम्मेवार मानिए पनि केही हदसम्म बिचौलिया हावी हुनु सधैँको समस्या भएको बताउँदै आएका छन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले तरकारीको कारोबारमा बिचौलिया व्यापारीको बढी चलखेल हुने हुँदासमेत नियमनकारी निकाय मौन रहने गरेकाले सामान्य समस्यामा पनि तरकारीको भाउ उच्च हुने गरेको आरोप लगाउनुभयो ।

तरकारी बजारको अनुगमन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा तरकारीको भाउ बढेको गुनासो बढिरहेकाले अनुगमन सुरु गरेको दाबी गरेको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आइतबार मात्रै तरकारी बजारको अनुगमन गरेर दुईवटा पसललाई अनुगमन स्थलमै पाँच÷पाँच हजारका दरले जरिवाना गरिएको जानकारी दिनुभयो ।
उहाँले विभागका अनुगमन टोलीले तरकारी बजारको अनुगमन गर्ने क्रममा कालीमाटी थोक बजारको स्टल नम्बर ६४५ र ५३४ का व्यापारीले तोकिएको भाउभन्दा बढी लिएर तरकारी बेचेको पाएकाले जरिवाना गरिएको जानकारी दिनुभयो ।
विभागको टोलीले तरकारी बजारको छड्के रूपमा जुनसुकै बेला अनुगमन गर्ने र बढी मूल्य लिएर बेच्ने व्यापारीलाई उपभोक्ता संरक्षण ऐनको व्यवस्था अनुसार कारबाही गरिने उहाँले बताउनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?