logo
२०८१ बैशाख ११ मंगलवार



निजगढ विमानस्थल निर्माण प्रस्ताव पेस गर्ने म्याद थप

मुख्य समाचार |


निजगढ विमानस्थल निर्माण प्रस्ताव पेस गर्ने म्याद थप


भउचप्रसाद यादव

काठमाडौँ, साउन २१ गते । लगानी बोर्डले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रस्ताव पेस गर्न स्विजरल्यान्डको जुरिच इन्टरनेसनलसँग असोज दोस्रो सातासम्मको म्याद थप गरेको छ ।
बोर्ड बैठकले विमानस्थल निर्माणका लागि प्रस्ताव पेस गर्न असोज १४ गते (सेप्टेम्बर अन्तिम)सम्मको म्याद थप गर्ने निर्णय गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ । उक्त कम्पनीसँग आर्थिक र प्राविधिक प्रस्ताव माग गरिएको हो । निजगढ विमानस्थल आयोजना हेर्ने लगानी बोर्ड कार्यालयका अधिकृत रत्नेश शशीले प्रस्ताव पेस गर्न जुरिच इन्टरनेसनललाई अन्तिम मौका दिइएको जानकारी दिनुभयो । उहाँले दिएको समयभित्र सो कम्पनीले प्रस्ताव पेस गर्न नसकेमा अर्को विकल्प खोजिने छ भन्नुभयो । लगानी बोर्डको बैठकले यो निर्णय गरेको जोशीको भन(ाइ छ ।
उहाँका अनुसार यसअघि प्रस्ताव पेस गर्न चैतसम्मको म्याद दिइएको थियो तर रुख काट्नेबारे सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेश र विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण जनाउँदै सो कम्पनीले अहिलेसम्म प्रस्ताव पेस गर्न सकेको थिएन ।
यसअघि वैशाख २८ गते बसेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण एवं आइपरेका समस्या समाधान गर्न गठित उच्चस्तरीय सहजीकरण समितिको बैठकले विमानस्थल निर्माण गर्न निश्चित समयसीमा तोकी जुरिच इन्टरनेसनलसँग सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलको प्रस्ताव माग गर्न र सम्झौता प्रक्रिया पूरा गर्न लगानी बोर्डलाई निर्देशन दिने निर्णय गरेको थियो । समितिको सो निर्देशनपछि बोर्डले समयसीमा तोकी जुरिच इन्टरनेसनलसँग प्रस्ताव माग गरेको हो ।
समितिका संयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा बसेको बैठकले विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरपर सडक निर्माण, पहुँच मार्ग निर्माण तथा सो क्षेत्रमा पर्ने वन क्षेत्रका रुख कटानी गर्ने सम्बन्धमा नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको समझदारी पत्रमा उल्लिखित म्याद थप गरी सम्झौतामा उल्लिखित कार्य अगाडि बढाउने निर्णय गरिएको थियो ।
उक्त विमानस्थल निर्माणका लागि माग गरिएको आशयपत्रमा उक्त कम्पनीले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा विमानस्थल निर्माण गर्न इच्छा देखाउँदै प्रस्ताव पेस गरेको थियो । सो कम्पनीले स्विजरल्यान्डका जुरिच एयरपोर्टसहित दक्षिण अफ्रिकालगायत विश्वका अन्य मुलुकको विमानस्थल निर्माण, सञ्चालन तथा व्यवस्थापनको काम गर्दै आएको छ ।
उक्त विमानस्थल निर्माणका लागि माग गरिएको प्रस्तावमा भारतको जीएमआर ग्रुप, चाइना एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी लिमिटेड, दक्षिण कोरियाको कुन्वा कम्पनी लिमिटेड, जापान क्लब इन्टरनेसनल, म्याट्रिक्स इन्टरप्राइजेज प्रालिले प्रस्ताव पेस गरेका थिए । यी कम्पनीमध्ये आर्थिक, प्राविधिक क्षमता र अनुभवका आधारमा स्विजरल्यान्डको जुरिच छनोट भएको थियो ।

जग्गा अधिग्रहण सुरु
विमानस्थल आयोजना प्रमुख विजयकुमार यादवले उक्त विमानस्थल निर्माण क्षेत्रमा परेका जग्गा अधिग्रहण र मुआब्जा वितरण कार्य भइरहेको जानकारी दिनुुभयो । त्यसैगरी विमानस्थल क्षेत्रमा साइट सफाइका साथै विमानस्थल क्षेत्रको पश्चिमी सिमानामा रहेको पसाहा खोला र पूर्वी सिमाना बकैया खोलामा तटबन्ध निर्माणको कार्य भइरहेको जानकारी उहाँले दिनुभयो ।

रुख कटान भने हुन सकेन
सो आयोजना क्षेत्रको पहुँचमार्ग, वरपर सडक निर्माण तथा रुख कटानका लागि नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनाबीच समझदारी पत्रमा हस्ताक्षर भएको दुई वर्ष बितिसक्दा सुरु हुन सकेको छैन । २०७४ भदौ १९ गते प्राधिकरण र नेपाली सेनाबीच सो समझदारीपत्र भएको थियो । मन्त्रिपरिषद्को २०७३ फागुन २५ गतेको निर्णयानुसार सो कामको जिम्मेवारी नेपाली सेनालाई दिइए पनि काम भने अगाडि
बढेको छैन ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?