logo
२०८१ बैशाख ६ बिहीवार

  काेराेनाबारे प्रमकाे विज्ञ तथा विपक्षीसँगकाे बैठक  



लकडाउन कडाइ गर्ने, कर्फ्यु लगाउनेदेखि सिल गर्नेसम्मकाे सुझाव

मुख्य समाचार |
पढ्नै पर्ने |


लकडाउन कडाइ गर्ने, कर्फ्यु लगाउनेदेखि सिल गर्नेसम्मकाे सुझाव


लक्की चौधरी

काठमाडौँ, साउन २० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने नेपालीको परीक्षण गरी प्रमाणित भएपछि मात्र घर पठाइने बताउनुभएको छ । बाहिरबाट आउनेह आफैँ पनि जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार विज्ञहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो ।

अहिलेको कोरोना सङ्कट सल्टाउन सबैको भूमिका अनिवार्य रहने भएपनि सरकारको मात्र विरोध गर्ने र मान्छे भड्काउने काम उचित नरहेको उहाँले बताउनुभयो । “भयाभह स्थिति छँदैछ, सीमाबाट मान्छे स्वस्फूर्त रुपमा आउन दिने हो भने झन अवस्था बिग्रन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “आउन दिने हो तर परीक्षण गरेर मात्र घर पठाउनुपर्छ, त्यसमा नागरिकले सहयोग गर्नुपर्छ ।

“जनताको जीवनभन्दा ठूलो कुरा केही होइन । हामी सबै त्यसमा केन्द्रित भएर अगाडि बढ्न जरुरी छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “कोभिड १९ को संयुक्त लडाइँमा हरेक देशवासीले आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्नुपर्ने आवश्यक छ ।” कोरोनाविरुद्ध ज्यान जोखिममा राखेर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा स्वयम्सेवकले भूमिका निर्वाह गरिरहनुभएको भन्दै उहाँले प्रशंसा गर्नुभयो । सरकारले २५ भन्दा बढी व्यक्तिलाई एक ठाउँमा जम्मा हुन नदिने भनेको भएपनि पार्टीभित्रै त्यसको अवमूल्यन भइरहेको बताउनुभयो ।

याे पनि पढ्नुहाेस्

 कोरोना न्यूनीकरणमा दीर्घकालीन योजना बनोस्ः सभापति देउवा

प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस्तो अवस्थामा पार्टीका नेताले केन्द्रीय कमिटीको बैठक माग गरिरहेका छन्, मान्छे भड्काउने काम गरिरहेका छन्, यो उचित होइन ।” “लकडाउन लगाउँदा किन लगाइस् भन्ने, लकडाउन खोल्दा किन खोलिस् भन्ने गलत मानसिकता साथ टिप्पणी भइरहेको छ” भन्दै प्रधानमन्त्री ओलीले सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । सरकार देश र जनताको स्वास्थ्यमा संवेदनशील रहेको पनि उहाँले प्रष्ट पार्नुभयो ।

यसैबीच करिब साढे चार घण्टा लामाे आजकाे छलफल अत्यन्तै उपलब्धीमूलक रुपमा टुङ्गिएकाे र  विज्ञहरूबाट लकडाउन कडाइ गर्ने वा २१ दिन ताेकेर कर्फ्यु लगाउने वा सङ्क्रमण बढेका स्थानमा सिल गर्ने र नागरिक उत्तरदायित्व बढाउनेजस्ता मिश्रित सुझावहरू प्राप्त भएकाे प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयाे । 

याे पनि पढ्नुहाेस्

 प्रधानमन्त्रीद्वारा कोरोनाबारे विज्ञ तथा विपक्षी नेताहरूसँग छलफल

त्यस्तै, अस्पतालमा पूर्वाधार बढाउन आइसीयू र भेन्टिलेटर उपलब्धता बढाउन पनि जाेड दिइएकाे छ । प्रधानमन्त्रीले विभिन्न खाले सुझावहरू आएकाेमा सरकारले आवश्यक र जायज सुझावहरू कार्यान्वयन गरी अगाडि बढ्ने तथा सिङ्गाे देश एकताबद्ध भएर काेराेना सङ्क्रमणलाई पराजित गरीछाड्ने उल्लेख गर्नुभएकाे थापाले जानकारी गराउनुभयाे । 

छलफलमा नेपाली काँग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उपस्थित हुनुभएकाे थियाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?