logo
२०८० चैत्र १६ शुक्रवार



ऊर्जा क्षेत्रको लक्ष्य प्राप्तिमा समस्या

मुख्य समाचार |


ऊर्जा क्षेत्रको लक्ष्य प्राप्तिमा समस्या


गोपालचन्द्र सुवेदी

काठमाडौँ, साउन २० गते । ऊर्जा क्षेत्रमा एक वर्षभित्र हासिल गर्ने भनी निर्धारण गरिएका मुख्य लक्ष्य पूरा हुन नसकेको देखिएको छ । समग्रमा आर्थिक वर्ष २०७६÷७७ प्रगति समीक्षामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफ्नो वित्तीय प्रगति ७३.२६ र भौतिक प्रगति ७५.३ प्रतिशत हासिल गरे पनि विद्युत् उत्पादन, खपत, विद्युतीकरणलगायत महŒवपूर्ण लक्ष्यमा मन्त्रालय चुकेको देखिएको हो । ऊर्जातर्फ मात्र वार्षिक वित्तीय प्रगति ६१.४२ प्रतिशत र भौतिकतर्फ ७८.३६ प्रतिशत प्रगति देखिएको छ ।
गत आर्थिक वर्षकोे नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनामा उल्लेखित महŒवपूर्ण लक्ष्यमा उपलब्धि न्यून पाइएको छ । कार्ययोजनामा गत आर्थिक वर्षमा एक हजार मेगावाट विद्युत् थप गर्ने भनिएको थियो तर आइतबार सम्पन्न मन्त्रालयको समीक्षा बैठकमा १४९ मेगावाट जलविद्युत् मात्र राष्ट्रिय प्रसारण लाइनमा थपिएको र कुल जडित क्षमता एक हजार ३९९ मेगावाट पुगेको जनाइएको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित केही ठूला आयोजनाको निर्माण गत आर्थिक वर्षमै सक्ने लक्ष्य रहेकामा कोभिड–१९ का कारण पूरा हुन नसकेको मन्त्रालयले जनाएको छ ।
विद्युत् खपत विस्तारको लक्ष्यमा पनि मन्त्रालयले सन्तोषजनक उपलब्धि पाएको छैन । सो वर्ष प्रतिव्यक्ति वार्षिक विद्युत् खपत २४५ किलोवाट घण्टाबाट १८१ बढाएर ४३६ पु¥याउने लक्ष्य कार्ययोजनामा राखिएको थियो तर समीक्षा गर्दा १५ युनिट मात्र बढेर २६० मात्र पुगेको देखिन्छ ।
कार्ययोजनाले लक्षित गरेको ४० जिल्लाको पूर्ण विद्युतीकरणको लक्ष्यमा उपलब्धि भने निकै तल १५ जिल्लामा सीमित रहेको नेपाल विद्युत् प्राधिकरणले उल्लेख गरेको छ ।
गत आवमा धनकुटा, सुनसरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, नुवाकोट, कपिलवस्तु, गुल्मी र बर्दियालाई पूर्ण विद्युतीकरण गरिएको हो । यसअघि पर्वत, स्याङ्जा, काठमाडौँ र भक्तपुरलाई पूर्ण विद्युतीकरण गरिएको थियो । गत आर्थिक वर्षमा विद्युत् चुहावट १५.२७ प्रतिशतमा सीमित भएको छ ।
गत वर्ष नेपाल विद्युत् प्राधिकरणमार्पmत तीन लाख ५० हजार र वैकल्पिक ऊर्जामार्पmत ५० हजार गरी चार लाख घरधुरीमा विद्युत् पहुँच विस्तार गर्ने लक्ष्यको नजिक थप तीन लाख ३४ हजार घरधुरीमा विद्युत् पहुँच विस्तार भएको देखिएको छ । यससँगै नेपालमा विद्युत् पहुँचप्राप्त घरधुरी सङ्ख्या ५० लाख १० हजार पुगेको छ । कुल जनसङ्ख्याको ९० प्रतिशतले राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पहुँच पाएको देखिएको छ । यो अघिल्लो आवभन्दा ३ प्रतिशत थप हो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत थप ५० किलोवाट सौर्य वायु ऊर्जा थप भई कुल ८६६ किलोवाट पुगेको जनाइएको छ । मन्त्रालयअन्तर्गतका आयोजनाको प्रगति भौतिकतर्फ ८० प्रतिशत गर्ने आयोजनाको सङ्ख्या आठ र ५० प्रतिशतभन्दा बढी प्रगति गर्ने आयोजनाको सङ्ख्या ११ रहेको देखिन्छ ।

राष्ट्रिय गौरवका आयोजना
सरकारका राष्ट्रिय गौरवका आयोजनामध्ये ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आठवटा गौरवका आयोजनाको नेतृत्व गर्छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा विद्युत्तर्फ ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काममा ९९.७३ प्रतिशत भौतिक र ९८. ६८ प्रतिशत वित्तीय प्रगति भएको छ । सो आयोजनाका लागि एक अर्ब बजेट विनियोजन गरिएकामा शतप्रतिशत खर्च भएको देखिएको छ ।
उता बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने ५८ हजार १५३ रोपनी क्षेत्रफलमध्ये ४७ हजार ४३९ रोपनीको मुआब्जा वितरणको काम सम्पन्न भएको छ । मुआब्जाबापत ३३ अर्ब ८० करोड रुपियाँ वितरण भएको मन्त्रालयले जनाएको छ । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १२.२ किलोमिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको छ ।

प्राधिकरणको वित्तीय र भौतिक प्रगति क्रमशः ८१ र ८२ प्रतिशत
नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेका विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाले ८१.२३ प्रतिशत वित्तीय प्रगति र भौतिक प्रगति ८२.२९ प्रतिशत हासिल गरेको प्राधिकरणले जनाएको छ । कोभिड–१९ का कारण निर्माणाधीन आयोजनाको काम प्रभावित हुँदासमेत समग्र वित्तीय र भौतिक प्रगति उत्साहजनक नै रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
प्रसारण लाइनतर्फ २६ अर्ब ४८ करोड विनियोजन गरिएकामा १९ अर्ब ५२ करोड रुपियाँ खर्च भएको छ । प्रसारण लाइनतर्फ छ आयोजनाबाट २८५ सर्किट किलोमिटर प्रसारण लाइन थपिएको छ । प्रसारण लाइनतर्फको वित्तीय र भौतिक प्रगति क्रमशः ७३.७४ र ७४.९२ प्रतिशत छ । यससँगै प्रसारण लाइनको लम्बाइ देशभर कुल चार हजार २५१ पुगेको छ ।
प्राधिकरणले गत आवमा सबस्टेसनमा ८४०.४० एमभीए क्षमता थपेको छ । १३८.६ एमभीएका चारवटा नयाँ सबस्टेसन सञ्चालनमा छन् भने ३७ वटा प्रसारणतर्फका सबस्टेसनको स्तरोन्नति गरिएको छ । यसबाट क्षमता ५७९.८० एमभीए पगेको छ । वितरणतर्फका २४ सबस्टेसनको निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?