logo
२०८१ बैशाख ४ मंगलवार



पर्सामा ४५ नयाँ सङ्क्रमित, मेयर परिवारका दुई जनामा सङ्क्रमण

मुख्य समाचार |
प्रदेश |


पर्सामा ४५ नयाँ सङ्क्रमित, मेयर परिवारका दुई जनामा सङ्क्रमण


दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन १८ गते । शनिबार राति अबेर आएको परीक्षण रिपाेर्टअनुसार पर्सामा थप ४५ जनामा कोरोनो सङ्क्रमण देखिएको छ । नयाँ थपिएसँगै पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या ५०७ पुगेको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार शुक्रबार ६४ जना थपिएर ४६२ जना सङ्क्रमितको सङ्ख्या पुगेको थियाे । जिल्लामा शनिबार ४५ जना थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या ५०७ पुगेको हो ।

शनिबार पाँचदेखि ६२ वर्ष उमेर समूहका १४ महिला ३१ पुरुष गरी ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरूको सम्पर्कमा आएकाको खोजी, मास टेस्टिङका लागि नमूना सङ्कलन गरिएका ३७ जना र सात जना आफैँ पैसा तिरेर पीसीआर परीक्षण गराएकालगायत रहेका नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. उपाध्यायले जानकारी दिनुभयो ।

शनिबार पुष्टि भएका ४५ जना सङ्क्रमितमध्ये ४३ जना वीरगञ्ज महानगरपालिकाभित्रकै रहेका छन् भने एक जना सखुवाप्रसौनी गाउँपालिका र एक जना ठोरी गाउँपालिकाका छन् ।

शनिबार सङ्क्रमण पुष्टि हुनेमा वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरका १६ जना, वडा नं. ४ का १५ जना , वडा नं. १३ श्रीपुरका चार जना , वडा नं. ३, ८ र १८ का एक/एक जना र वीरगन्ज-२५, सिर्सिया सुख्खा बन्दरगाहका पाँच जना गरी ४३ जना, एक जना सखुवाप्रसौनी गाउँपालिका र एक जना ठोरी गाउँपालिकाका गरी ४५ जना रहेका छन् ।

वीरगञ्ज–४, बिर्तास्थित कन्या माविबाट मास टेष्टिङअन्तर्गत साउन १२ गते सङ्कलन गरिएको १४९ जनाको स्वाब नमुना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको थियाे । यसअघि वीरगञ्ज–६ माईस्थान मीनाबजार क्षेत्रमा मास टेष्टिङमा लिइएको १२६ नमुना परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण पुष्टि भयो भने वीरगञ्ज–९, घण्टाघरस्थित रेल्वे माविबाट मास टेष्टिङका लागि लिइएको ११३ नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो समयमा कुनै पनि ट्राभल हिस्ट्री नभएका पसल सञ्चालक, साउन्ड सर्भिस टेक्निसियन, होम ट्युसन पढाउने शिक्षिकाजस्ता बढी जनसम्पर्कमा रहेकाहरूलाई सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमुद ठाकुरले जानकारी दिनुभयो ।

मेयर सरावगीको परिवारका दुई सदस्यमा पनि सङ्क्रमण
कोरोना सङ्क्रमित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङमा परेका सरावगीको परिवारका दुई सदस्यसहित छ जनामा पनि सङ्क्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले जानकारी दिनुभयो ।

त्यसै गरी, नगरप्रमुखको सम्पर्कमा रहेका वीरगञ्ज–११, श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज–१३ का ३० र १९ वर्षीय पुरुष गरी चार जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीको दोस्राे चरणको सम्पर्क रहेका वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूको शनिबार स्वाब सङ्कलन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?