logo
२०८१ बैशाख १३ बिहीवार

    रञ्जन कोइराला रिहा प्रकरण    



सर्वाेच्चकै नजिर पालना भएन : सरकार

मुख्य समाचार |


सर्वाेच्चकै नजिर पालना भएन : सरकार


गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १० गते । पूर्व डीआईजी रञ्जन कोइरालाको सर्वस्वसहित जन्मकैदको सजाय घटाउने सर्वोच्च अदालतको फैसला पुनरवलोकनका लागि महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदनमा प्रतिपादित नजिर र कानुनी मान्यता पालना नभएको प्रमुख आधार बनाइएको छ । नेपाल सरकारका तर्फबाट नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले सर्वाेच्चमा पुनरवलोकन दर्ता गर्नुभएको हो । दर्ता भएसँगै पुनरवलोकनको प्रक्रिया अगाडि बढ्नेछ ।
मुलुकी ऐन अदालती बन्दोबस्त महलको १८८ नम्बरको प्रयोग कोइरालाको मुद्दामा हुन नै नसक्ने दाबी पुनरवलोकनमा गरिएको छ । त्यस नम्बरको प्रयोग प्रथम दृष्टिमा नै गलत भएको पुनरवलोकन निवेदनमा जिकिर छ । अपराध स्वीकार गरेको तथ्य अदालतले पनि मानिसकेको स्मरण गराइएको छ ।
यस्तै पुनरवलोकन निवेदनमा कोइरालाले आफूले कर्तव्य गरेको विषयमा कसुर इन्कार गरेको हुँदा राय प्रयोग गरी सजाय घटाउन नमिल्ने जिकिर गरिएको छ । मौकामा साविती भए पनि अदालतमा कसुर इन्कार गरेको अवस्थामा कैद घटाउने सुविधा कोइरालाले नपाउने जिकिर निवेदनमा गरिएको छ ।
महान्यायाधिवक्ता कार्यालयले सजाय घटाउने स्पष्ट आधार र कारण सर्वोच्चको फैसलामा नभएको पनि निवेदनमा जिकिर गरेको छ । फैसला तजबिजी अधिकार प्रयोगका सम्बन्धमा सर्वोच्चद्वारा स्थापित नजिर र कानुनी सिद्धान्तसमेत प्रतिकूल रहेको निवेदनमा उल्लेख छ ।
निवेदनमा शान्ति विकविरुद्ध नेपाल सरकार र जुगत सदाविरुद्ध नेपाल सरकारको मुद्दामा प्रतिपादित नजिर विपरीत फैसला भएको उल्लेख छ । उक्त मुद्दामा सर्वोच्चले सजाय घटाउने रायको आधार र कारण स्पष्ट हुनुपर्ने व्याख्या गरेको छ । यस्तै ऐनले दिएकोभन्दा बढी अधिकार अदालतले प्रयोग गर्न नमिल्ने पनि व्याख्या गरिएको छ ।
यस्तै नेपाल सरकारविरुद्ध शेरबहादुर बस्नेत र केदार माझीविरुद्ध नेपाल सरकार भएको मुद्दामा प्रतिपादित नजिरको पालना नभएको पनि निवेदनमा उल्लेख छ । उक्त मुद्दामा तजबिजी अधिकारको प्रयोग गर्दा दण्ड सम्बन्धी आधारभूत सिद्धान्तलाई हलुका ढङ्गबाट लिन
नमिल्ने व्याख्या गरिएको छ । तजबिजी अधिकारको प्रयोग विध(ायिकी मनसाय विपरीत हुन नहुने पनि व्याख्या उक्त नजिरमा गरिएको छ ।
श्रीमती हत्या अभियोगमा कोइरालालाई सुरु र पुनरावेदन तहबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो तर सर्वोच्च अदालतले घटनाको पृष्ठभूमि अनुुसार असार १५ गते आठ वर्ष ६ महिना कैद सजाय गर्दा उद्देश्य पूरा हुने भन्दै घटाएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सजाय घटाउने फैसला गरेसँगै कोइराला जेलमुक्त भइसकेका छन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?