logo
२०८१ बैशाख ७ शुक्रवार



बहिनीको नाता लगाएर एसिड प्रहार

मुख्य समाचार |
फिचर |


बहिनीको नाता लगाएर एसिड प्रहार


देवबहादुर कुँवर

काठमाडौँ, साउन १० गते । ‘फेसबुकमा त ब्लक ग¥यौ, बारम्बार फोन गरेर खाजा खान बोलाउँदा पनि नआउने तिमी त कस्ती निष्ठुरी भइछौ, मोहम्मद आलमका यी शब्दले पवित्रा कार्कीको मन पग्ल्यो ।
पवित्राले दाइ शब्दले सम्बोधन गर्दै मोहम्मदलाई सीतापाइलातिर आउन भनिन् । साँझ ८.०० बजेतिर मोटरसाइकल चढेर त्यहाँ पुगेका मोहम्मदले करिब एक घण्टा गफिएपछि दहीसमेत किनेर पवित्रालाई कोठा नजिक पुु¥याइदिए  ।
पौने ९ बजेतिर मोटरसाइकलबाट झरेर बाफलस्थित कोठा नजिकै पुग्न लाग्दा ओखलढुङ्गा घर भई हाल दिदीसँगै बाफल बस्दै आएकी २२ वर्षीया पवित्रामाथि अपरिचित व्यक्तिले नजिकैबाट तेजाब (एसिड) फाल्यो । सुरुमा पवित्रालाई तातो पानी फाले जस्तो लाग्यो तर अत्यधिक पोल्न थालेपछि चिच्याउन थालिन् । नजिकै हुनेले उपचार गर्न अस्पताल पु¥याएपछि मात्र ‘एसिड प्रहार’ गरेको घटना बाहिरियो ।
सो सूचना प्रहरीलाई राति ९.०० बजे मात्र प्राप्त भयो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख श्यामप्रसाद ज्ञवालीले एसिड प्रहारको खबर पाउनेबित्तिकै परिसर र महानगरीय प्रहरी अपराध महाशाखाबाट संयुक्त अनुसन्धान सुरु गरिएको बताउनुभयो ।
पीडित युवतीलाई भेट्न आफैँ अस्पताल पुग्नुभएका प्रहरी परिसर प्रमुख ज्ञवालीले घटनास्थल तथा पीडितको बयानबाट हुलिया खुल्न सकेन । घटना हुनुअघिको अवस्था खोतल्दा डल्लुस्थित गार्मेन्ट सञ्चालक ‘दाइ’ले मोटरसाइकलमा घरसम्म पु¥याइदिँदा शङ्का लाग्यो भन्नुभयो ।
त्यस क्षेत्रमा जडान भएको सीसी क्यामेरा र गार्मेन्ट सञ्चालक ‘दाइ’ रौतहटका ४७ वर्षीय मोहम्मदमाथि अनुसन्धान सुरु गरेको केही समयपछि करिब १० बजे प्रहरी डल्लुस्थित मुख्य अभियुक्त मोहम्मदको गार्मेन्टमा पुग्न सफल भयो । उहाँका अनुसार मोहम्मदसँगै पवित्रामाथि एसिड प्रहार गर्ने अर्का अभियुक्त भारतीय नागरिक मुन्ना भन्ने २२ वर्षीय फैयाज आलम पनि भेटिए । उनको बायाँ हात हल्का पोलिएको थियो । त्यसपछि मात्र मोहम्मदका कामदार मुन्नाले पवित्रामाथि एसिड प्रहार गरेको पुष्टि भयो । तेजाबबाट पवित्राको दायाँ भागको कपाल, गाला र गर्धन जलेको छ ।
अभियुक्त मुन्नाले मालिक मोहम्मदले एसिड हान्न लगाएको बयान दिएका छन् । गत राति अबेर पक्राउ परेका मुख्य अभियुक्त मोहम्मद र सहयोगी मुन्नालाई सार्वजनिक गर्दै परिसर प्रमुख ज्ञवालीले एकतर्फी प्रेमको चक्करमा युवतीमाथि एसिड प्रहार गरिएको स्पष्ट पार्नुभयो ।
गार्मेन्टमा दिदी काम गर्ने भएकाले सामान्य चिनजानसँगै पवित्रा र मोहम्मदबीच दाइ–बहिनीको सम्बन्ध जोडिएको थियो । सोही सम्बन्धका कारण मोहम्मदले पवित्रालाई ब्याग र आर्थिक सहयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
कीर्तिपुर अस्पतालमा उपचाररत पवित्राले दाइ जस्तो आदर गरेको व्यक्तिबाट यस्तो घटना हुने कल्पनासमेत नगरेको प्रतिक्रिया दिनुभएको जानकारी प्रहरीले दिएको छ । सुरुमा मोहम्मदको नाम लिँदा पवित्राले पत्याइनन् ।
एसिड प्रहार घटना प्रहरीले नै सुनाएपछि भने पवित्राले अभियुक्त मोहम्मदले फेसबुक र फोनबाट हैरान गरेको पीडा सुनाएकी थिइन् । मोहम्मदको रौतहटस्थित घरमा श्रीमती र छोराछोरी छन् । आफूलाई फेसबुकबाट ब्लक गरी अर्कै केटासँग लागेको रिसमा तेजाब प्रहार गरेको अभियुक्त मोहम्मदले सकारेका छन् ।
एसिड प्रहार गरेबापत अभियुक्त मोहम्मदले मुन्नालाई भारतीय सीमानजिक पु¥याइदिने आश्वासन दिएका थिए तर प्रहरी परिसर र अपराध महाशाखाको संयुक्त सहकार्य र अनुसन्धानले अभियुक्तलाई चाँडै पक्राउ गर्न सफलता मिल्यो, उनीहरू भाग्न पाएनन् ।
अभियुक्त दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता तेजाब प्रहार सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको परिसरले जनाएको छ । कानुन अनुसार अभियुक्तविरुद्ध आठदेखि १० वर्ष कैद र पीडितलाई तीन लाख रुपियाँ क्षतिपूर्तिको व्यवस्था छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?