logo
२०८० चैत्र १६ शुक्रवार



तटीय क्षेत्रका बस्ती डुबानमा

मुख्य समाचार |


तटीय क्षेत्रका बस्ती डुबानमा


चाँदनी हमाल

काठमाडौँ, साउन ७ गते । तीन दिन देखिको वर्षाबाट देशका ठूला नदीको सतहले खतराको तह पार गर्दा तटीय क्षेत्र आसपासका बस्ती डुबानमा परेका छन् । कतिपय भेगमा बाढी र डुुबानको अवस्था कायम रहे पनि बुुधबारदेखि पानी पर्ने क्रममा भने केही कमी हुनसक्ने बताइएको छ । वर्षा कम हुुँदै गए पनि जोखिम भने अझै केही दिन कायम रहने मौसमविद्को भनाइ छ ।
मौसमविद् समीर श्रेष्ठका अनुसार बुधबारदेखि वर्षाको घनत्व केही कम हुन्छ । तर अझै तीन दिन वर्षा रोकिँदै पानी पर्नेछ । हालको जस्तो निरन्तर वर्षा भने कम हुँदै जानेछ । तीन दिनपछि न्यूनचापीय रेखा नेपालको आकाश हुँदै अन्यत्र जान केही दिन लाग्नेछ । त्यसपछि अर्को कुनै मनसुनी रेखा नआएको खण्डमा आकाश खुल्नेछ ।
नारायणी नदीमा उच्च बहाव रहँदा नवलपरासी त्रिवेणीस्थित गण्डक बाँध आसपासका बस्तीमा बाढी पस्ने खतरा बढेको छ । बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनिल पोखरेलका अनुसार नारायणी नदीले खतराको तह पार गरेसँगै गण्डक बाँधमा बढेको बहावले बाँध नै नाघ्ने अवस्था देखिएको छ । चितवनको सौराहा हुँदै बग्ने पूर्वी राप्ती बढेकाले नारायणीमा मिसिएर जलबहावलाई थप तीव्र बनाएको छ । पूर्र्वी राप्तीकै सहायक नदी माडीको रियु खोलामा बाढीले खतराको तह नाघेको छ । सो नदीसँगै स्थानीय खोलाको बाढी पनि नारायणी नदीमा मिसिँदै त्रिवेणी पुगेकाले गण्डक बाँधबाट ‘ओभर फ्लो’ हुने सम्भावना रहेको पोखरेलले बत(ाउनुभयो ।
कोसी नदीको बहाव पनि सतर्कता तह आसपास पुगिसकेको छ । कोसी बेसिनका सबै नदीमा बाढी बढेको छ । यसका कारण पूर्वी र पश्चिम भेगको बाँधमा बाढीले ठक्कर दिन थालेको छ । पश्चिमतिर बुटवलको तिनाउ नदीमा बाढी बढेपछि त्यहाँको नदी तटीय क्षेत्रका बासिन्दालाई सजग गराइएको छ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते लगायतका नदी तथा खोलाको सतह बढेर नदी छेउका बस्ती डुबानमा परिसकेको छ ।
प्रदेश १ र २ का तराईका नदी तथा खोलामा बाढी बढेको छ । मङ्गलबार मध्याह्नपछि अन्यत्र केही बेर वर्षा रोकिए पनि नवलपरासीलगायत सीमा क्षेत्र आसपासमा वर्षा निरन्तर रह्यो । यसका कारण त्यो क्षेत्रमा डुबान र बाढी पस्ने खतरा कायम छ ।
पूर्वी राप्तीको मुख्य बहाव क्षेत्र मकवानपुर हेटौँडाको रजैयास्थित स्टेसनमा पनि नदीको बाढीले सतर्कता तह पार गरेको छ । यसका साथै महाकाली, कर्णाली, बबई, पश्चिम राप्ती, बाग्मती, कमला, कन्काई लगायतका नदीको जल बहाव बढ्ने क्रममै छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?