logo
२०८१ बैशाख ७ शुक्रवार



विभिन्न स्थानमा बाढी पहिरोको ताण्डव : चारको मृत्यु, दर्जनौँ बस्ती डुबानमा

मुख्य समाचार |


विभिन्न स्थानमा बाढी पहिरोको ताण्डव :   चारको मृत्यु, दर्जनौँ बस्ती डुबानमा
बाढी पहिरोले क्षति पु¥याएको पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाको मौवा खोलास्थित पुल । तस्बिर : मुरारी अधिकारी


देवबहादुर कुँवर

काठमाडौँ, साउन ६ गते । आइतबारदेखि लगातार वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बाढी पहिरो गएको छ । पहिरोमा परी काठमाडौँ, गोरखा र दार्चुलामा गरी चार जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका अनुसार काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिका–१, गागलफेदीमा आइतबार राति पहिरो जाँदा २२ वर्षीय मनराज गुरुङको मृत्यु भएको छ । राति शौच गर्न खोल्सामा पसेका गुरुङमाथि पहिरो खसेको हो । पहिरोमा पुरिएका गुरुङलाई स्थानीयवासी र प्रहरीको उद्धार टोलीले निकालेको हो । वडा–१ का वडाध्यक्ष मुकुन्द गजुरेलले पहिरोमा पुरिएको अवस्थामा गुरुङको शव भेटिएको जानकारी दिनुभयो । पीडित परिवारलाई स्थानीय स्तरबाट राहतको व्यवस्था गरिएको छ ।
त्यस्तै दार्चुला जिल्ला, नौघडा गाउँपालिका–६ स्थित एक बस्तीमाथि पहिरो खस्दा आमा मानमती ठगुन्ना र ६ वर्षीया छोरी आरती गरी दुई जनाको मृत्यु र चार जना घाइते भएका छन् । पहिरोबाट प्राथमिक विद्यालयसहित चार घरमा क्षति पुगेको छ । गोरखाको गण्डकी गाउँपालिका–४, फुजेलमा सोमबार बिहान बाख्राको गोठमाथि पहिरो जाँदा ४० वर्षीया लक्ष्मी गुरुङको मृत्यु भएको छ । पहिरोबाट बाख्रा गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अधिकृत अनिल पोखरेलले बाढी र पहिरो प्रभावित जिल्लामा उद्धार, उपचार, पीडितको पुनस्र्थापना र राहत वितरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको जानकारी दिनुभयो । गत जेठ १ गतेदेखि साउन ४ गतेसम्म बाढी पहिरो र डुबानमा परी ११० जनाले ज्यान गुमाएका छन् भने ५० जना अझै बेपत्ता छन् । ५० जना घाइते र करिब दुई सय परिवार विस्थापित भएको प्राधिकरणले जनाएको छ ।
दर्जनौँ सडक अवरुद्ध
पहिरोका कारण काठमाडौँ–चितवन जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । नारायणघाट–मुग्लिन सडक खण्डको चार किलो मिटरस्थित कालीखोलामा पहिरो गएको छ । चितवन–धादिङको सीमा
मौवाखोलाको पुल नै बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ । गजुरी फुर्केखोला, बेनीघाट रोराङ, बाँदरेभीर र जोगीमारा लगायतका स्थानमा पहिरो गएको छ । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली डोजर र स्काभेटरसहित खटिएको छ । बुटवल–तानसेन पाल्पा जोड्ने सद्धार्थ राजमार्गको पहिरो हटाइएपछि सोमबार दिउँसोबाट यातायात सेवा सञ्चालनमा आएको छ । प्रहरीका अनुसार दार्चुला गोकुलेश्वर सडकखण्डमा आइतबार साँझ पहिरो जाँदा पूर्णरूपमा अवरुद्ध भएको छ ।
बाजुराको बुढीगङ्गा–२ स्थित घट्टेखोलाको २५ मिटर लामो पक्की पुल बाढीले बगाएको छ । पुल बगाएपछि अछाम साँफेबगर–बाजुरा–मार्तडी सडक अवरुद्ध छ । स्थानीय जिल्ला प्रशासन कार्यालयले सडक यातायात सञ्चालन गर्न वैकल्पिक सडक निर्माणको तयारी भइरहेको जनाएको छ । मनाङको नासो गाउँपालिका–१, म्यार्दी भीरस्थित बेँसीसहर–चामे सडकखण्डमा ढुङ्गा झरेर सोमबार बिहानदेखि सडकमा अवरोध भएको छ । गोरखा सातकिलो र आरूघाट सडकखण्ड अवरुद्ध छ । प्रहरी चौकी कोखेआहालेबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
सोलुखुम्बु, दूधकुण्ड नगरपालिका–११ साल्मेस्थित सोलु–ओखलढुङ्गा सडकखण्डमा पहिरो खसेर सोमबार बिहानदेखि सडक अवरोध भएको छ । अस्थायी प्रहरी पोस्ट दोर्पुबाट खटिएको प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको जनाइएको छ । पाँचथर, फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभीरमा पहिरो जाँदा मेची राजमार्गको सडक अवरोध भएको छ । प्रहरी चौकी पौवासार्तापबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

बाढीबाट उपत्यका डुबान
दोस्रो चरणको मनसुन सक्रिय भएसँगै आइतबारबाट परेको लगातारको वर्षाका कारण काठमाडौँ उपत्यका भएर बग्ने नदीमा पानीको बहाव बढ्न गई मानवीय बस्तीमा बाढी पसेको छ । केही स्थान डुबानमा परेका छन् । सोमबार बल्खु खोलाको बाढीले बल्खुस्थित तरकारी बजार छेउछाउको बस्ती डुबानमा परेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?