logo
२०८० चैत्र १५ बिहीवार



बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्लामा उच्च सतर्कता

मुख्य समाचार |


बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्लामा उच्च सतर्कता


चाँदनी हमाल

काठमाडौँ, साउन ६ गते । अविरल वर्षा सुरु भएसँगै कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्ला उच्च सतर्कतामा रहेका छन् । पहाड हँुदै तराई पुग्ने नदी र स्थानीय नदीमा आउने बाढी र वर्षाको पानीले डुबानको विपत्ति आउने गरेको छ ।
तराईमा परेको हालको पानीले सामान्य डुबान सुरु भए पनि ठूलो क्षति गरेको छैन । कोसी, कमला, बाग्मतीलगायत सीमा क्षेत्रमा बा(ँधिएका बाँधका कारण स्थानीय नदीको बहावले बस्ती डुबानमा पार्ने खतरा उच्च छ । जसका लागि सबै जिल्लावासी, जिल्ला विपद् व्यवस्थापन समितिका उद्धारकर्ता उच्च सतर्क छन् ।
मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन वर्षा निरन्तर रहने जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले भारीदेखि मध्यम वर्षा हुने क्रम जारी रहेकाले कोसी, नारायणी, कमला, महाकाली, राप्ती, स्थानीय खोला लगायतका नदीको बहावले सतर्कता तह पार गर्न सक्ने भएकाले सतर्क रहन भनेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यका अनुसार तिलाठी क्षेत्र र बलान क्षेत्रमा कटान सुरु भएको छ । उहाँका अनुसार पश्चिम कोसीमा बढ्दो नदी सतह, अरुण र तमोर नदीको बाढीको बहाव सतर्कता तहतिर बढ्दै गर्दा चिन्ता बढेको छ ।
कोसीको भारतीय सीमा क्षेत्रमा भएको बाँधको कमजोर भागमा मर्मत सम्भार भइरहेको छ । भारतीय पक्षले आफ्नै व्यवस्थापनमा काम गरिरहेकाले नेपाल पक्षबाट आफूहरूले निगरानी गरिरहेको जानकारी उहाँले दिनुभयो । सप्तरीमा पानीको निकास नहुँदा बर्सेनि सहर र गाउँ डुबान हुने गरेको छ । तिलाठी र कोइलाठीतिर भारतीय सीमाको भूमि उच्च छ । नेपालतिर खाल्डो छ ।
सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले वर्षाले गर्दा कमला, बलान नदी तटका केही क्षेत्रमा हल्का डुबान देखिन थालेको उल्लेख गर्नुभयो । उहाँका अनुसार पूर्वतयारीको योजना जिल्ला विपद् व्यवस्थापन समिति योजना बनाएर कार्यान्वयन गर्ने तयारी अवस्थामा छ । स्थानीय तहबाट आफ्ना क्षेत्रमा जमेको पानीको निकास तत्काल निकाल्न सबै पालिकालाई अनुरोध गरिएको छ ।
“कोभिड–१९ को सन्दर्भमा सञ्चालित क्वारेन्टाइन र आइसोलेसन सेन्टरसँग नबाझिने गरी तत्काल उद्धार गर्नुपर्ने अवस्थामा विद्यालय, सार्वजनिक स्थान र खुला स्थान तयारी अवस्थामा राखिएको छ,” उहाँले भन्नुभयो । त्यहाँका १७ स्थानीय तहमध्ये बाढी र डुबानको हिसाबले छवटा स्थानीय तह उच्च जोखिममा छन् । जसमा कर्जन्हा, सिराहा, कल्याणपुर, लहान, औरही र बरियारपट्टी स्थानीय तह रहेका छन् । नदीमा आउने बहावमा आएको रोकावटको कारण त्यस क्षेत्रमा बर्सेनि डुबान र बाढीको चपेटामा स्थानीयवासी पर्ने गरेका छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार जनकपुर क्षेत्रमा केही स्थान डुबान भएका छन् । कमला, बाग्मती लगायतका नदीजन्य खतरा र डुबानको अवस्था सामान्य छ । तर वर्षा भइरहेकाले विपद्को सामना गर्न उच्च सतर्कतामा रहेको उहाँले बताउनुभयो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार त्यस क्षेत्रमा कोसीको बहाव बढ्दो अवस्थामा छ । कोसीमा एक लाख ७७ हजार ७९५ क्युसेक पानीको बहाव रहेको छ । आइतबार बिहान एक लाख ४५ हजार ८५० क्युसेक थियो । सतर्कता तहतिर बढ्दो रहेकाले कोसी तटीय क्षेत्रका गाउँपालिका सहित दुईवटा गाउँपालिका उच्च जोखिममा रहेको छ ।
“जबसम्म बाँध फुट्दैन तबसम्म यस क्षेत्रमा डुबान हुँदैन,” उहाँले भन्नुभयो । तर स्थानीय ट्याङ्ग्रा, सर्दु, सुनसरी लगायतका खोलाको स्थानीय बाढीले केही असर गर्ने सम्भावना छ । तर कोसी उच्च बाढीमा गएको अवस्थामा नेपालको बालुवाले धानेको बाँधमा असर गर्न सक्छ ।
पहाडमा पहिरो
यसपालाको मनसुनमा काठमाडौँ उपत्यकामै पहिरो जान थालेको छ । भूगर्भविद् शिवकुमार बाँस्कोटाका अनुसार काठमाडौँ उपत्यका वरपरको पहाड पनि पहिरोको उच्च जोखिममै पर्छन् । उत्तरपट्टि र पूर्वपट्टि डाँडा लगभग बलौटे माटोले बनेको उहाँले बताउनुभयो । “त्यहाँ चट्टाने पहिरोभन्दा पनि माटो गल्दै गएर साना ढिस्का र कान्ला पहिरो जानेक्रम बढी रहन्छ,” उहाँले भन्नुभयो । अत्यन्त धेरैभित्र पानी छिर्दा पहिरो जान्छ । कागेश्वरी क्षेत्रको अवस्था पनि बलौटे रहेकाले त्यस्तै खालको पहिरो गएको अनुमान उहाँले गर्नुभयो । यस क्षेत्रमा अवैध बालुवाखानी रहेकाले मानव बस्ती पहिरोको जोखिममा पर्नसक्ने उहाँले बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?