logo
२०८१ बैशाख १३ बिहीवार



दार्चुला–छाङरु घोडेटो निर्माण

खुला |


दार्चुला–छाङरु घोडेटो निर्माण


भउचप्रसाद यादव

काठमाडौँ, साउन ४ गते । टिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने हालको अवस्था अन्त्य गर्न सुरु गरिएको दार्चुला–छाङरु घोडेटो बाटो निर्माणमा कठिनाइ भए पनि काम भने तीव्र रूपले अगाडि बढेको छ ।

नेपाली भूमि टिङ्कर र लिपुलेक पुग्न भारतको भूमि प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्न दार्चुलाको व्याँस गाउँपालिका घाँटीबगर क्षेत्रमा क्याम्प खडा गरी नेपाली सेनाले गत जेठ पहिलो सातादेखि सडक निर्माण सुरु गरेको हो । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले नेपाली भूमिबाट सडक बनाउने काम निकै जटिल भए पनि काम अगाडि बढेको छ भन्नुभयो ।

गत वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले महाकाली करिडोर (दार्चुला–टिङ्कर सडक योजना) अन्तर्गत उत्तरतर्फ रहेको ८७ किलोमिटर सडक खण्ड नेपाली सेनामार्फत निर्माण गराउने निर्णय गरेको थियो । यो निर्णयपछि सेनाले दार्चुलाको सदरमुकाम खलङ्गादेखि छाङरुसम्म पुग्ने ४५० मिटर घोडेटो बाटोे निर्माण गरिरहेको छ । व्यास गाउँपालिका भारत र चीनसँगको सिमानासँग जोडिएको छ ।

घाँटीबगरमाथि भारतीय पक्षले सडक निर्माण गरिरहँदा माथिबाट लडेका ढुङ्गाका कारण नेपालतिरको सडक निर्माणमा कठिनाइ भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।

यो बाटो निर्माण हुन नसक्दा अहिलेसम्म टिङ्कर र छाङरुवासी भारतीय भूभाग हुँदै खलङ्गा पुग्ने गरेका छन् । घाँटीबगरमा सडक निर्माणमा कठिनाइ भएपछि एक साताअघि परराष्ट्र, रक्षा मन्त्रालय, नापी विभागका अधिकारीद्वारा सो क्षेत्रको स्थलगत निरीक्षण गरिएको थियो । व्यास गाउँपालिकामा पर्ने छाङरु र टिङ्करका करिब १८२ घर परिवारका करिब एक हजार दुई सय स्थानीयवासीलाई जिल्ला सदरमुकाम खलङ्गा जान व्यास गाउँपालिकामा पर्ने मौरी भीरमा ठूलो चट्टानी पहाड र घाँटीबगर भन्ने स्थानमा पहिरो गएकाले आवतजावत गर्न भारत तर्फको बाटो प्रयोग गर्नुपरेको हो ।

प्रजिअ पोखरेलका अनुसार भारततिरबाट लडेका ढुङ्गा महाकाली नदीमा खस्दा नदी थुनिएर नेपाल तिरको निर्माणाधीन सडक बगाउने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले हामीले भारतीय अधिकारीसमक्ष अहिलेसम्म चार पटकसम्म अनुरोध गरिसक्यौँ तर कुनै उपलब्धि भएको छैन । यसबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेका छौँ, अब परराष्ट्रमार्फत पहल हुनुपर्छ भन्नुभयो ।

नेपाली सेनाका प्रवक्ता पौडेलले घाँटीबगरमा कुल ४५० मिटर सडकको ट्रयाक खोल्ने जिम्मेवारी सेनालाई दिइएको छ । जसमध्ये २५० मिटर सम्पन्न भइसकेको छ । अहिले २७० मिटरको काम तीव्र रूपले भइरहेको छ भन्नुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?