logo
२०८० चैत्र १५ बिहीवार



भासिएको ठाउँ मर्मतपछि दुवैतर्फ खुल्यो मुग्लिन-नारायणगढ सडक

खुला |


भासिएको ठाउँ मर्मतपछि दुवैतर्फ खुल्यो मुग्लिन-नारायणगढ सडक


शालिग्राम नेपाल

चितवन, असार २९ गते । सडकको एकछेउ भासिएर एकतर्फी मात्र सवारी साधन चलेको मुग्लिन-नारायणगढ सडक सोमबार दिउँसोबाट दुवैतर्फ सञ्चालनमा आएको छ ।

सडकखण्डको १७ किलोमा एक वर्षअघिदेखि सडक भासिएपछि ग्राभेल हालेर सवारी साधन सञ्चालनमा ल्याइएको थियो । सोमबार बिहान पुनः सडक भासिएपछि डिभिजन सडक कार्यालय भरतपुरले मर्मत गरेर दिउँसोबाट दुवैतर्फ सञ्चालनमा ल्याएको हो ।

डिभिजन सडक कार्यालय, भरतपुरका प्रमुख कृष्णराज अधिकारीले भन्नुभयो,  ‘एक वर्षअघि पनि सोही स्थानमा सडक भासिएको थियो । केही दिनदेखि परेको पानीको कारण पुनः भासिएछ । सो सकडखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै भासिएका थियो’

मुग्लिन सडकखण्डको १७ किलोमा पाँच मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटजति सडक भासिएको थियो । समस्या आएको जानकारी पाएलगतै प्राविधिकसहितको टोलीले निरीक्षण गरेर मर्मत गरेको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

भासिएको स्थानमा २०६० सालमा सडकमुनिबाट ‘एङकर वाल’ दिएर निर्माण गरिएको थियो । कडा पहाड भएकाले सो स्थानमा नाै मिटर मात्र सडक चौडा बनाइएको छ । भुगोल जटिल भएकाले सडकलाई त्रिशुली नदीतर्फ एङकर राखेर फराकिलो बनाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । त्रिशुली नदीले कटान गर्न थालेपछि समस्या आएको थियो । अहिलेलाई मर्मत गरेर सञ्चालनमा आएपनि दीर्घकालीन समाधान भने नहुने प्रमुख अधिकारीले बताउनुभयो ।

सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा ६ दशमलव ५ मिटर फराकिलो सडक ७० मिटर लामो भाग भासिएको छ । ती दुवै ठाउँमा मर्मतका लागि बोलपत्र आह्वान गरिएको भए पनि बोलपत्र नपरेको सडक विभागले जनाएको छ । ठेक्का नपरेपछि यस वर्षको वर्षातमा पनि यतीकै सडक सञ्चालन गर्नुपर्ने भएको हो । यस सडक राजधानी भित्रने र बाहिरिने प्रमुख मार्ग हो । सडकमा दैनिक १० हजार सवारीसाधन आवागमन गर्ने गर्दछन् ।

करिब दुइ वर्षअघि निर्माण सम्पन्न भएर सवारी साधन सञ्चालनमा आएपनि सडक भासिने, पहिलो आउने कारणले मुग्लिन-नारायणगढ सडक वर्षातमा यात्रा गर्न कठिन हुने गरेको छ । केही हप्ताअघि मात्रै कालीखोलामा पहिरो आउँदा दुई दिन बाटो रोकिएको थियो । पहिरो रोक्नको लागि तारजाली लगाउने काम भने भएको थियो । २०७२ सालको भुकम्प र सडक निर्माणका क्रममा पहाड भत्काएको कारणले समय समयमा पहिरो जाने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?