logo
२०८१ बैशाख १३ बिहीवार

  समाचार टिप्पणी  



नेकपाको विवाद सहमतिउन्मुख, पार्टी पङ्ति खुशी

मुख्य समाचार |
राष्ट्रिय |


नेकपाको विवाद सहमतिउन्मुख, पार्टी पङ्ति खुशी


लक्की चौधरी

काठमाडौँ, असार २८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच चुलिएको पछिल्लो विवाद सहमतिउन्मूख रहेको नेताहरूले दाबी गर्नुभएको छ । दुई अध्यक्षको अभिव्यक्तिसमेत सकारात्मक आउन थालेपछि स्थायी कमिटीका नेताहरूले त्यसमा सन्तुष्टि व्यक्त गर्न थाल्नुभएको छ ।

शुक्रबार देशवासीको नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक विवाद वार्ता र संवादबाटै सहमति हुने विश्वास दिलाउनुभएको थियो । “जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पु-याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरूकै हो । यसका लागि धैर्य र संयम आवश्यक हुन्छ” भन्नुभएको थियो ।

सोहीअनुसार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार चितवन पुगेर पार्टीको आन्तरिक समस्या समाधानउन्मूख रहेको अभिव्यक्ति दिनुभयो । ‘हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगरिने’ बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभएको थियो, “जुन भावना र स्पिरिटबाट पार्टी एक भएको थियो, त्यही स्पिरिटबाट अहिले चुलिएको विवाद समाधान हुन्छ ।” अध्यक्षद्वयको अभिव्यक्ति सकारात्मक आएपछि नेकपाका नेताहरूले पनि उत्साहित भएर सामाजिक सञ्जालमा स्टाटस लेखिरहनुभएको छ ।

दुई अध्यक्षबीचको समस्या समाधानका लागि पार्टीले पछिल्लो सात दिनको समय दिएको छ । असार १० गतेबाट शुरु भएको स्थायी कमिटी बैठक आगामी साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ । यसअघि असार २६ गतेका लागि निर्धारण गरिएको बैठक सारिएको हो । “दुई अध्यक्षबीचको वार्ता टुङ्गोमा पुगोस् र प्राकृतिक विपदमा परेकाहरूको उद्धार तथा पुनर्स्थापनाको काममा पार्टी पङ्क्ति परिचालित होस्” भन्ने उद्देश्यसाथ बैठक साताभरका लागि स्थगित गरिएको स्थायी कमिटीका सदस्यहरूको भनाइ छ । यस अवधिमा दुई अध्यक्षबीच भइरहेको आन्तरिक संवाद र वार्तामार्फत् आगामी बैठकमा सहमतिको संयुक्त प्रस्ताव आउनेमा नेताहरू विश्वस्त हुनुभएको छ ।

नेकपा संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले दुई अध्यक्षबीचको वार्ता र संवाद घनीभूतरुपमा चलिरहेको र सकारात्मक दिशामै उन्मुख भएको जानकारी दिनुभयो । दुई अध्यक्षहरू पार्टीको आन्तरिक एकताबारे जानकार रहनुभएकाले कुनै दुर्घटना नहुने विश्वास उहाँले व्यक्त गर्नुभयो । “यद्यपि सहमतिको विन्दुमा पुग्ने काम भइ नसकेकाले समयको प्रतिक्षा गर्नु नै उपयुक्त हुन्छ” उहाँले भन्नुभयो ।

स्थायी कमिटीका अर्का सदस्य रघुजी पन्तले दुई अध्यक्षबीच वार्ता र संवाद भइरहेकाले अर्को बैठकअघि नै सकारात्मक निस्कर्ष आउनेमा आफूहरू आशावादी रहेको बताउनुभयो । दुई अध्यक्षबीच भएको वार्ता र सहमतिबारे अझै केही जानकारी बाहिर नआएको बताउनुहुँदै उहाँले स्थायी कमिटीको अर्को बैठकसम्म कुर्नुको विकल्प नरहेको बताउनुभयो । “दुई अध्यक्षहरू अहिले नै सहमतिको टुङ्गोमा पुगिसक्नुभयो भन्ने त मलाई लाग्दैन, तर बैठक सकारात्मक भइरहेको छ सम्म भन्न सकिन्छ” उहाँले गोरखापत्रसँगको कुराकानीमा भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?