logo
२०८० चैत्र १५ बिहीवार



लमजुङ र पोखरामा पहिरोबाट सात जनाको मृत्यु, सात घाइते

मुख्य समाचार |


लमजुङ र पोखरामा पहिरोबाट सात जनाको मृत्यु, सात घाइते
लमजुङमा पहिराेले क्षति पुगेकाे घर । तस्बिर बेलिना थापा


रमेश पौडेल/पोखरा, बेलिना थापा/लमजुङ
पोखरा, असार २६ गते । पोखराको सराङकोट र हेम्जामा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ, सात जना घाइते भएका छन् ।
त्यस्तै, लमजुङमा अविरल वर्षाका कारण पहिरो गएर घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पोखरा-१८, सराङकोटको गोठादीमा घरमाथिको सडक भत्किँदा आएको पहिरोले टङ्कबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।

दश जनामध्ये तीन जनाको मृत्यु भएको र सात जना घाइते छन् । उहाँहरूलाई स्थानीय र प्रहरीको सक्रियातामा अस्पताल पु-याइएको छ । उहाँहरूलाई मणिपाल अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो । राति जन्मदिन मनाउन अन्य इष्टमित्रसमेत आएका कारण घरमा कति जना थिए भन्ने थाहा हुन नसकेको हमालले बताउनुभयो । अन्य हराइरहेको आशङ्कामा प्रहरीले खोजी कार्य गरिरहेको छ । त्यसैगरी, पोखरा-२५, हेम्जामा घरपछाडिबाट पहिरो आउँदा ७० वर्षीय हिमकला अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमजुङमा बिहीबार राति परेको अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा बेँसीसहर नगरपालिका-१०, खाँचे घर भई बेँसीसहर नगरपालिका-७, सातबीसेमा बस्दैआएका अन्दाजी ३०-३२ वर्षीय दीपक तामाङ, उनकी श्रीमती अन्दाजी २५-२६ वर्षीया बिमाया तामाङ र छोरा अन्दाजी ८-९ वर्षका छेवाङ तामाङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार वर्षाका कारण बिहीबार राति साढे १० बजेतिर उक्त घरलाई पहिरोले पुरेको थियो । बिमायाको शव राति १२ः५० बजेतिर फेला परेको थियो । दीपक र छोराको शव २ः४५ बजेतिर सँगै फेला परेको र अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरूको उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए ।

स्थानीयका अनुसार भूपू सैनिक आवासीय माध्यमिक विद्यालयको पछाडिपट्टि रहेको उक्त घरमा कमजोर खालको ब्लकले बारेको र जस्ताले छाएको तथा घर भिरालो ठाउँमा भएका कारण एक्कासि पहिरो आएर घरको भित्तालाई क्षति पुर्याएको थियो । घरको संरचना कमजोर र भिरालो जग्गामा घर भएकाले पहिरोले क्षति पुर्याएकाे हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दीपकको आमा र छोरी आफन्तकहाँ गएका थिए । दीपकसँगै काम गर्ने तीन जना घरमै रहे पनि पहिरो आउनेबित्तिकै थाहा पाएपछि उनीहरूले भागेर ज्यान जाेगाउन सफल भएका छन् । पहिरो खस्दैगर्दा भागेका बेँसीसहर नगरपालिका-७ का २६ वर्षीय सन्तबहादुर गुरुङ, बेँसीशहर-१०, पाङ्रेक्युका २३ वर्षीय अनिल गुरुङ, ३३ वर्षीय सुमन गुरुङ घाइते भएका छन् । उनीहरूको बेँसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतकतीन जनाको शव लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ ।

बिहीबार रातिको बाढी पहिरोले जिल्लाका अधिकांश ग्रामीण सडक बन्द भएका छन् । खोलामा पानीको बहाव बढ्दा खोलाको पानी खेतमा आएका छन् । खोलानजिकका घरहरू जोखिममा परेका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?