logo
२०८१ बैशाख ११ मंगलवार



बाढीले १५ घर बगायाे, १९ बेपत्ता, दुईको शव भेटियाे (फाेटाे फिचर)

मुख्य समाचार |


बाढीले १५ घर बगायाे, १९ बेपत्ता, दुईको शव भेटियाे (फाेटाे फिचर)
तस्विर साैजन्य: अनन्तप्रकाश श्रेष्ठ


केशवराज पौडेल/चित्र मिजार

काठमाडौँ, असार २५ गते । सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ, १९ भन्दा बढी सम्पर्कबाहिर छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएकाे हाे । केही मान्छे बेपत्तासमेत भएका छन् ।

स्थानीय अनन्तप्रकाश श्रेष्ठका अनुसार बाह्रबिसेको गाती बजार बगाएको छ । टेलिफोन सम्पर्कमा उहाँले बताएअनुसार गातीका १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ । बाढीमा हराइरहेकाहरूको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले प्रहरी, नेपाली सेना र स्थानीयले बेपत्ता भएकाहरूको खोजी कार्य  गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको जम्बुमा रहेको एल्मो ठाडो खोलामा राति ११ः३० बजेबाट बाढी आउँदा उक्त क्षति भएको हो ।
बाढीले बगाएका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव निकालिएको छ । अरु बेपत्ताको तीव्र खोजी भइरहेको छ । विस्तृत विवरण आउन बाँकी रहेको निरीक्षक न्यौपानेले बताउनुभएको छ ।
प्रहरीका अनुसार रातभर परेको वर्षाले तातोपानीस्थित चाकुबजारनजिकै रहेको झ्यालेखोला सडक बगाएको छ । बाह्रबिसे नगरको जलेटार आर्मी ब्यारेकमुनिकाे  सडक पनि बाढीले बगाएको छ । लामोसाँघुमा भर्खरै  लगाएको प्लम्ब ढलान पनि बगाएको छ । जुरे पहिरोमा सडक बगाउँदा सडक सम्बन्ध टुटेको छ ।

अहिले सभामुख अग्नीप्रसाद सापकोटासहितको टोली हेलिकोप्टरबाट सिन्धुपाल्चाेक  जाने तयारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?