logo
२०८० चैत्र १६ शुक्रवार



नदीमा पानीको बहाव बढ्दो, सतर्कता अपनाउन आग्रह

मुख्य समाचार |


नदीमा पानीको बहाव बढ्दो, सतर्कता अपनाउन आग्रह


चाँदनी हमाल

काठमाडौँ, असार २३ गते । आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ । नदी, खोला र खहरेमा बाढी बढेकाले त्यसबाट हुने जनधनको क्षति कम गर्न र सतर्क रहन सरकारले अपिल गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले यही असार २५ गतेदेखि देशैभरका नदीमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । त्यसैगरी असार २७ देखि २९ गतेसम्म विभिन्न नदीमा उच्च बहावको सम्भावना छ । नारायणी, कन्काई, कोसी, कमला, बाग्मती, तिनाउ, पश्चिम राप्ती, बबई तथा यिनका सहायक नदीमा बहावले सतर्कता तह पार गर्ने सम्भावना औँल्याइएको छ ।
प्रदेश १ र २ तथा चुरे एवम् तराईका सबै नदीको बहावले सतर्कता तह पार गरी केही नदीमा खतराको तह आसपास पुग्ने सम्भावना रहेकाले सम्भावित उच्च जोखिम सामना गर्न पूर्वतयारीलाई प्राथमिकता दिन विभागले अनुरोध गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबार बाग्मती, तिनाउ, पश्चिम राप्ती बबई र केही साना नदीमा बहाव बढ्ने क्रममा छ । तराईका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, उदयपुर, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रे, काठमाडौँ, मकवानपुर, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बाग्लुङ, पर्वत र म्याग्दीका नदीको बहाव बढ्ने क्रममा छ ।
त्यस्तै, चितवन, नवलपरासी, रुपन्देही, कपिलस्तु, गुल्मी, पाल्पा, अर्घाखाँची, रोल्पा, रुकुम, प्युठान, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, अछाम, डोटी, बझाङ, बाजुरा, डडेल्धुरा र आसपासका जिल्लाका नदीमा बहाव बढ्ने खतरा रहेको छ ।

भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना औँल्याएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार देशभर नै मनसुन सक्रिय छ । सोमबार पश्चिम क्षेत्रबाट थप मनसुनी वायु भित्रिएको छ । त्यसैले केही दिन पूर्वको तुलनामा पश्चिमी भेगमा बढी वर्षा हुने सम्भावना देखिएको उहाँले बत(ाउनुभयो ।
मनसुन थप सक्रिय बनाउने न्यूनचापीय रेखा पूर्व र पश्चिमबाट नै नजिक आउँदै गरेको छ । “मनसुनी रेखा माथि सर्दैछ, जसका कारण असार २५ गतेदेखि विभिन्न भेगमा भारी वर्षा हुने सम्भावना छ,” अर्यालले भन्नुभयो । प्रदेश–५, गण्डकी प्रदेशसहित पश्चिमतिर बढी केन्द्रित देखिएको छ । प्रदेश–१, २ र बाग्मतीसहित अन्यत्र पनि केही भेगमा भारी वर्षा हुने देखिएको छ । स्थानीय वायुको पनि प्रभाव रहेकाले मेघ गर्जन र चट्याङसहित वर्षा हुने जनाइएको छ ।
मनसुनको विगत २० दिनको अवस्था हेर्दा गत वर्षभन्दा यसपालि बढी वर्षा भइरहेको छ । गएको वर्ष १० दिन ढिला गरी मनसुन भित्रिएको थियो । आइतबार कञ्चनपुर क्षेत्रमा सबैभन्दा धेरै १११ मिलिमिटर पानी परेको रेकर्ड थियो । विगत २४ घण्टामा देशका विभिन्न भेगमा रहेको ९९ वटा केन्द्रमा पानी परेको रेकर्ड छ । जसअनुसार सबैभन्दा बढी दैलेखमा ६४.४ मिलिमिटर पानी परेको छ । अन्य छवटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी पानी परेको छ । त्यस्तै २३ वटा केन्द्रमा २५ मिलिमिटर बढी र ४० वटा केन्द्रमा १० मिलिमिटरभन्दा बढी पानी परेको छ ।

११ पहिरोसहित २० घटना
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत २४ घण्टामा २० वटा विपद्का घटना भएका छन् । जसमध्ये सबैभन्दा धेरै पहिरोका ११ घटना छन् । जसअनुसार डोटीको पूर्वीचौकी गाउँपालिकामा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । योसहित अन्य स्थानमा भएका पहिरोमा परी पाँच जना घाइते भएका छन् । बैतडी, अछाम, सङ्खुवासभा, पश्चिम नवलपरासी, पाल्पा र जाजरकोटका विभिन्न स्थानमा पहिरो जाँदा घरपालुवा पशुसहित भौतिक क्षति भएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?