logo
२०८० चैत्र १६ शुक्रवार



सर्लाहीमा सर्पले डसेर एक महिलाको मृत्यु

खुला |


सर्लाहीमा सर्पले डसेर एक महिलाको मृत्यु


जनार्जन खत्री
सर्लाही, असार २२ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–१४, श्रीनगरमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।  स्थानीय ५० वर्षीया पनियाँ देवीको गोमन सर्पको डसाइबाट मृत्यु भएको हो । पनियाँ देवीलाई आइतबार राति छिमेकीको घरको आँगनमा बसेर कुरा गरिरहेका बेला सर्पले डसेको थियो ।

सर्पले डस्नासाथ महिलालाई उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्र ल्याइएको थियो । गम्भीर अवस्थामा ल्याइएकी महिलालाई त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुर लाने क्रममा बाटोमा नै मृत्यु भएको ईश्वरपुर नगरपालिका–१४, का वडा सदस्य जोगेन्द्र चौधरीले जानकारी दिनुभयो ।

दुई दिनअघि मात्रै गोमन सर्पकै डसाइबाट लालबन्दी नगरपालिका–१०, चन्द्रपुरमा ९ वर्षीय बालकको मृत्यु भएको थियो । विषालु सर्पको डसाइबाट जिल्लामा बर्सेनि दर्जनौँ मानिसको मृत्यु हुने गरेको छ । अत्यधिक गर्मी र पानी परिरहेको अहिलेको समयमा विषालु सर्प सक्रिय हुने भएकाले सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् । सर्लाहीमा जिल्ला अस्पताल मलङ्गवा, सर्पदंश उपचार केन्द्र नवलपुर र प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा सर्पले डसेका बिरामीको उपचार हुन्छ । तर यी तीनै ठाउँमा प्राथमिक उपचार भएपनि गम्भीर अवस्थामा पुर्याइएका बिरामीको उपचार गर्ने उपकरण र विशेषज्ञ चिकित्सक छैनन् ।

नवलपुर सर्पदंश उपचार केन्द्रमा लामो प्रयासपछि प्रदेश सरकार र लालबन्दी नगरपालिकाको सहयोगमा गत वर्ष भेन्टिलेटर र आइसीयू खरिद गरी जडान गरिएको थियो । जडान गरेको केही महिनामै हरिवनबाट उपचार गर्न ल्याइएको एक बालिकाको मृत्यु भएपछि मृतकका आफन्तले केन्द्रमा तोडफोड गर्दा उपकरणहरू काम नलाग्ने अवस्थामा पुगेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?