logo
२०८० चैत्र १५ बिहीवार



विदेशमा रोजगारी गुमाएर आएका तीन हजार परिवारलाई राहत

प्रदेश |


विदेशमा रोजगारी गुमाएर आएका तीन हजार परिवारलाई राहत


गोकर्ण दयाल
बैतडी, असार २२ गते । कोरोनाका कारण रोजगारी गुमाएर भारत लगायतका देशबाट घर फर्केका परिवारलाई दातृ निकायले गाउँको सहकारीमार्फत राहत उपलब्ध गराउन थालेका छन् । दशरथ चन्द नगरपालिका–२, देहिमाण्डौँकी सुन्नरी लावडको मोबाइलको म्यासेजको घण्टी बज्यो । राम्ररी पढ्न नसक्ने उहाँले अरुलाई पढिदिन अनुरोध गर्दा राहतका लागि सहकारीको खातामा दुई हजार ४१० रुपियाँ आएको खबर मिल्यो ।

सुन्नरीजस्तै कोरोनाका कारण रोजगारी गुमाएर भारतबाट घर फर्किनुभएका देहिमाण्डौकै देवराम लावड, मीनबहादुर बोहरा, सरस्वती बोहरा र हर्कराम लावडसहित गाउँका १३७ जनाको माेबाइलमा पनि घण्टी बजेरै राहतका लागि पैसा आएको म्यासेज आउन थालेको छ ।

कोरोनाका कारण भारतमा मजदुरी गुमाएर घर आएका बैतडीका तीन हजार मजदुरलाई अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले समन्वय गरेर गाउँको सहरकारीमार्फत ७५ लाख रुपियाँ आर्थिक सहयोग गरेको हो । भारतबाट ठूलो सङख्यामा मजदुरहरू घर फर्केका छन् । कोरोनाको कारण रोजगारी गुमाएर घर फर्किनेहरूको वास्तविक तथ्याङ्क अझै सङ्कलन हुन सकेको छैन ।

दशरथचन्द नगरपाकिला–२, देहिमाण्डौमा रहेको निङ्गलासैनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर बोहराले भन्नुभयो, “वडा कार्यालयको सिफारिसमा भारतमा दैनिक ज्याला मजदुरी गरेर खाने परिवारका लागि अक्सफाम नेपालको सहयोग र रुडेस बैतडीका समन्वमा १३७ जनाको खातामा दुईलाख ६३ हजार रुपियाँ राहतका लागि आएको छ ।”

राहत रकमसम्बन्धी रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले अक्सफाम नेपालको सहयोगमा बैतडीका आठ वटा सहकारी संस्थामार्फत रोजगारी गुमाएर घर फर्केका तीन हजार घर परिवारका लागि ७५ लाख रुपियाँ राहत सहयोग गरेको बताउनुभयो ।

जोशीका अनुसार बैतडीको पञ्चेश्वर गाउँपालिकाको जयमहालक्ष्मी बचत सहकारी संस्था, शिवनाथ गाउँपालिकाको शिवनाथ बचत तथा ऋण सहकारी संस्था, पाटन नगरपालिकाको उदयदेव महिला बचत तथा ऋण सहकारी संस्था, पाटन नगरपालिका–८, स्थित सिद्धेश्वर बचत तथा ऋण सहकारी र पाटन नगरपालिका–१० स्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा सम्बन्धित गाउँका तीन हजार घर परिवारका लागि ७५ लाख रुपियाँ सहकारीका खातामा गएको छ ।

रुडेसका कार्यकारी निर्देशक जोशीले भन्नुभयो, “कोरोनाका कारण सामाजिक दूरी कायम गर्नुपर्ने छ । बन्दाबन्दीका बेला ज्यालामजदुरी गरेर खाने परिवारलाई अक्सफाम नेपालले सीधै व्यक्तिको हातमा कसरी राहत पुर्याउन सकिन्छ भन्ने विकल्प खोज्दै यसो गरिएको हो ।”

कोरोनाका कारण रोजगारी गुमाएर घर फर्किनुभएका मोहनराम लावडले राहत रकम पाएकोमा खुशी व्यक्त गर्नुभयो । लावडले भन्नुभयो, “कोरोनाले गर्दा भारतको रोजागारी गुम्यो । तर, गाउँको सहकारीमा बचत खाता खोल्दा अहिले फाइदा भयो । राहतका लागि आएको रकम सहकारीबाट झिकेर चामल किनेर ल्याएको छु ।”

कोरोनाका कारण रोजगारी गुमेपछि ज्यान जोगाउँदै घर आएका मोहनराम लावडले दुःखमा राहत पाएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

कोरोनाका कारण भारतबाट रोजगारी गुमाएर घर आएका परिवारले गाउँकै सहकारीमार्फत राहत पाउँदा दङ्ग भएको सुन्नरी लावडले बताउनुभयो । यस अघि भारतमा काम गरेर घर फर्किदा सीमा नाकामा नगद पैसा लुटिने हुँदा भारतबाट गाउँकै सहकारी संस्थाको आइएमइमा रकम पठाउन सहरकारीमा मजदुरको परिवारले बचत खाता खोलेका थिए । बचत गर्न सहरकारीमा खोलेको खाता अहिले राहत रकम लिन काम लागेको भारतबाट घर फर्केका मजदुरले बताएका छन् ।

अक्सफाम नेपालको सहयोगमा गाउँको सहकारीमार्फत भारतमा काम गर्ने मजदुरको सात लाखको निःशुल्क दुर्घटना बीमा पनि गरिएको सहकारीले जानकारी दिएको छ । भारतमा काम गर्नेहरूको दुर्घटना बीमाको रकम स्थानीय सरकारले व्यहोरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?