logo
२०८० चैत्र १६ शुक्रवार



पर्यटकलाई अनौठा नियम

मुख्य समाचार |
पर्यटन |


पर्यटकलाई अनौठा नियम


गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २१ गते । कोरोना भाइरस सङ्क्रमणका कारण विश्व पर्यटन यति बेला ठप्प छ तर कतिपय देशले कोरोना सङ्क्रमितको सङ्ख्या कम हुन थालेपछि पर्यटक भिœयाउने तयारी थालेका छन् ।
पर्यटक भिœयाउने यस पटकको ती देशका नियम भने निकै अनौठा छन् । मेक्सिकोले पर्यटकलाई निःशुल्क बास सुविधा दिने घोषणा गरेको छ भने ग्रिसले यातायात सेवा थप सस्तो बनाउन यसमा लाग्ने कर घटाएको छ । सिसिलीले उडान शुल्कमा छुट दिने भएको छ । यस्तोमा बेलायत र कम्बोडिया अलि फरक र आश्चर्यजनक पर्यटकीय नियमका कारण चर्चामा छन् ।

कोभिड–१९ सङ्क्रमणका कारण पर्यटक आगमनमा प्रायः सबै देशले कडाइ गरिरहेको अवस्थामा बेलायतले भने पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने नियम हटाएको छ । बेलायतले आगामी असार २६ गतेदेखि लागू हुने गरी विभिन्न ५९ वटा देशबाट भित्रिने पर्यटकले क्वारेन्टाइन बस्नुपर्ने नियम खुकुलो बनाएको हो ।
बेलायत सरकारले हालै प्रकाशन गरेको उक्त सूचीमा ग्रिस, स्पेन, फ्रान्स र बेल्जियमजस्ता देशबाट पर्यटक भित्रिँदा १४ दिनको क्वारेन्टाइन बस्नुपर्ने नियम लागू नहुने जनाएको हो ।
बेलायत सरकारको यो सूचीमा जापान, हङकङ, मकाउ, भियतनामजस्ता लामो दूरीका देशसमेत परेका छन् । उत्तरी आयरल्यान्ड, स्कटल्यान्ड, वेल्सको हकमा भने यससम्बन्धी अझै निर्णय भइसकेको छैन ।
गत महिना कोरोना सङ्क्रमण रोक्ने नीतिअनुरूप बेलायतले यात्रा प्रतिबन्ध लगाएको थियो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अबदेखि कोरोना सङ्क्रमण नियन्त्रणमा नआएका देशका नागरिकलाई मात्र क्वारेन्टाइनमा राख्ने सरकारको नीति रहेको बताउनुभयो । यद्यपि बेलायत प्रवेश गर्ने पर्यटकले सम्पर्क सूचना भने उपलब्ध गराउनुपर्ने छ ।
कम्बोडियाको स्वास्थ्य मन्त्रालयले पर्यटकहरूले त्यहाँ जाँदा अनिवार्य रूपमा तीन हजार डलर ‘डिपोजिट’ राख्नुपर्ने नीति अख्तियार गर्ने भएको छ । यो रकम कोरोना भाइरस ‘डिपोजिट’का रूपमा उपयोग गर्ने नीति कम्बोडिया सरकारको छ । त्यस्तै ५० हजार डलरको स्वास्थ्य बीमाको प्रमाणित पनि देखाउनुपर्ने नियम कम्बोडियाले बनाएको छ ।
कम्बोडियाले पर्यटकबाट लिने तीन हजार डलर कोभिडसँग सम्बन्धित खर्चमा उपयोग गर्ने जनाएको छ । यो रकमबाट पर्यटकको कोरोना परीक्षण, परीक्षण अवधिभरको खाना तथा बसाइ, दुई हप्ताको क्वारेन्टाइन बसाइ तथा खाना अनि मेडिकल सुविधा, कोरोना देखिएको अवस्थामा प्रतिदिन तीन सय ३० डलर सोही डिपोजिटबाट घटाउने र मृत्यु भएको अवस्थामा दाह संस्कार खर्च पनि त्यसैबाट लिने नीति कम्बोडियाको छ तर कोरोना नदेखिएका पर्यटकको भने केवल परीक्षणको खर्च मात्र लिइने बाँकी फिर्ता दिइने कम्बोडियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
(एजेन्सीको सहयोगमा)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?