logo
२०८१ बैशाख ८ शनिवार

   नेकपामा नयाँ शिराबाट सहमति खोजिँदै    



ओली र प्रचण्ड बीचको छलफल सकारात्मक

मुख्य समाचार |


ओली र प्रचण्ड बीचको छलफल सकारात्मक
फाइल तस्बिर


सुरेशकुमार यादव

काठमाडाँै, असार २० गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीमा देखिएको समस्या समाधान गर्न नयाँ शिराबाट सहमति गरी अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको छ । पार्टीमा देखिएको आन्तरिक विवाद मिलाउन शुक्रबार अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भएको थियो ।
बैठकमा सहभागी पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले भन्नुभयो ‘छलफलमा दुई अध्यक्षले खुलस्त रूपमा आ–आफ्नो कुरा राख्नुभयो । दुवै अध्यक्षले एक अर्काको कुरा सुन्नुभयो । शनिबार पुनः उहाँहरूबीच छलफल हुनेछ ।’ पार्टी एकताको मर्म अनुसार अगाडि बढ्ने विषयमा दुवै जनामा छलफल भए पनि कुनै निचोडमा भने नपुगेका कारण शनिबार पुनः दुई अध्यक्षबीच छलफल हुने बताइएको छ ।
असार १४ गते मदन जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन खोजेको भनी दिनुभएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा (एमाले) दर्ताका लागि निवेदन दर्ता गराएपछि असार १० गतेदेखि बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले कार्यसूची छाडेर यिनै विषयमा छलफल सुरु भएको थियो । सो विषय स्थायी कमिटीमा प्रवेश पाएपछि पार्टीमा आन्तरिक विवाद सुरु भएको थियो । छलफल चलिरहेकै बेला मन्त्रिपरिषद् बैठकले चालू संसद् अधिवेशन अन्त्य गरेपछि स्थायी कमिटी बैठक नै प्रभावित भयो । सो बैठक स्थगित गरी शनिबारका लागि बैठक बोलाइएको छ ।
स्थायी कमिटी बैठक बस्नुअघि पार्टीमा देखिएका विवाद टुुङ्गो लगाउन अध्यक्षद्वय ओली र प्रचण्डलाई जिम्मेवारी दिइएको थियो । सो अनुसार दुवै अध्यक्षबीच शुक्रबार तीन घन्टा छलफल भएको छ । पार्टी एकीकरण गर्दा दुई दलको बीचमा भएको सहमतिका बारेमा दुई अध्यक्षको बीचमा समीक्षा भएको हो । एकीकरण हुँदा तत्कालीन एमाले र माओवादीबीच भएको सहमतिमा कहाँ–कहाँ, के–के र कसका कारणले उल्लङ्घन भएको कुरामा दुई अध्यक्षको बीच छलफल भएको हो । स्रोतका अनुसार समीक्षाका क्रममा दुई अध्यक्षले आत्मसमीक्षा गर्दै नयाँ ढङ्गबाट अगाडि बढ्ने कुराकानीसमेत भएको बताइएको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा माग्नु गलत हो । पार्टी र सरकारले गरेको कामको समीक्षा नै नगरी सीधै राजीनामा माग्नु पार्टीमा गलत नजिर स्थापित हुने बताउनुुभएको थियो । उहाँले आफूले के–कति कारणले दुवै पदबाट राजीनामा दिने भनेर अध्यक्ष प्रचण्डसमक्ष प्रश्न गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने कुरा स्पष्ट रूपमा अध्यक्ष प्रचण्डसमक्ष राख्नुभएको थियो । दुई दलबीच भएको सहमति अनुसार नै तपाईंलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएकै हो, अहिले त्यसमा किन र कहाँ असहमति भएको भनी अध्यक्ष ओलीले प्रश्न गर्नुभएको थियो । त्यसको जवाफमा अध्यक्ष प्रचण्डले त्यो सहमति तपाईंकै कारण भङ्ग भएको हो, अब नयाँ ढङ्गबाट कसरी अगाडि बढ्ने त्यसका बारेमा छलफल गरौँ भनी प्रस्ताव गर्नुभएको जनाइएको छ ।
दुई जनाको लामो छलफलले पार्टीको विवाद सहमति नजिक पुगेको बैठकमा सहभागी स्थायी कमिटीका सदस्य जनार्दन शर्माले बताउनुभयो । उहाँले दुई अध्यक्षबीच खुलेर हरेक विषयमा कुराकानी भएको छ, छलफल निकै सकारात्मक भएको छ भन्नुभयो । शनिबार स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्ष बीचमा पुनः छलफल हुने शर्माले जानकारी दिनुुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?