logo
२०७७ श्रावण २१ बुधवार

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको काम अगाडि बढ्ने

मुख्य समाचार |


2020-07-04-17770


भउचप्रसाद यादव

काठमाडौँ, असार २० गते । नेपाली सेनाले नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण गर्न भारतबाट विस्फोटक पदार्थ खरिद गर्न निर्माण कम्पनीलाई सहमति दिएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव शर्माले नागढुङ्गा सुरुङ मार्ग निर्माणमा प्रयोग गरिने विस्फोटक पदार्थ भारतबाट खरिद गर्न निर्माण कम्पनीलाई सहमति प्रदान गरिएको जानकारी दिनुुभयो ।
सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ थापाले सुरुङ मार्ग निर्माण गर्न सडक विभागको समन्वयमा भारतबाट विस्फोटक पदार्थ खरिद गर्न नेपाली सेनाबाट अनुमतिको काम अगाडि बढ्ने स्पष्ट पार्नुुभयो ।
विस्फोटक पदार्थ खरिद गर्न सेनाबाट सहमति नपाउँदा सुरुङ मार्ग निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । निर्माण कम्पनीले भारतबाट विस्फोटक पदार्थ खरिद गर्न गएको असोजदेखि सहमति माग गरेको थियो । सेनाबाट विस्फोटक पदार्थ खरिदको सहमतिसँगै सुरुङ मार्ग निर्माण कार्य अब बिना अवरोध अगाडि बढ्ने सडक विभागले जनाएको छ ।
थापाका अनुसार पहिलो चरणमा तीन सय टन विस्फोटक पदार्थ खरिद गर्न सेनाबाट सहमति प्राप्त भएको हो । उक्त सुरुङ मार्ग निर्माणमा करिब २० करोड रुपियाँ बराबरको नौ सय मेट्रिक टन विस्फोटक पदार्थ आवश्यक देखिएको छ । अबको तीन महिनाभित्र भारतबाट विस्फोटक पदार्थ नेपाल आइपुग्ने उहाँले बताउनुभयो ।
महाशाखा प्रमुख थापाले सेनाको सहमतिपछि प्रक्रिया अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखिसकेको छ । गृहले रक्षा मन्त्रालयलाई सोध्ने छ, रक्षा मन्त्रालयले हुन्छ भनेपछि गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय र काठमाडौँस्थित भारतीय राजदूतावासमा पत्राचार गर्छ । परराष्ट्र मन्त्रालयले समेत भारतीय राजदूतावासलाई पत्र लेख्छ । त्यसपछि दूतावासले भारतीय विदेश मन्त्रालयलाई जानकारी गराउँछ । भारतीय विदेश मन्त्रालय, रक्षा मन्त्रालय र गृह मन्त्रालयबीच छलफल र सहमति भएपछि तीनवटै मन्त्रालयले सम्बन्धित विस्फोटक पदार्थ निर्माण कम्पनीलाई नेपालमा विस्फोटक पदार्थ उपलब्ध गराउन सहमति प्रदान गर्दछ भन्नुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?