logo
२०८० चैत्र १६ शुक्रवार



पुनः श्रम स्वीकृति बिहीबारबाट सुचारु

अर्थ |


पुनः श्रम स्वीकृति बिहीबारबाट सुचारु


सीता शर्मा

काठमाडौँ, असार १९ गते । कोरोना भाइरसको महामारीका कारण झन्डै चार महिनादेखि रोकिएको पुनः श्रमस्वीकृति (रि–इन्ट्री) बिहीबारबाट खुलेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने प्रक्रिया बिहीबारदेखि पुनः सुरु गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार महाशाखा प्रमुख एवं सहसचिव उमेश ढुङ्गानाले कोरोना सीसीएमसीले दिएको अख्तियारीलाई आधार मानेर श्रम मन्त्रालयले मापदण्ड तयार गर्नुका साथै बिहीबारबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको बताउनुभयो । उहाँका अनुसार मन्त्रालयले तत्काल अवस्थालाई मध्यनजर गरेर पुनः श्रम स्वीकृतिलाई मात्रै खुला गरिएको र नयाँलाई आवश्यकताका आधारमा मात्र खोल्न सकिने प्रावधान राखिएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले श्रम मन्त्रालयले मार्ग निर्देशन तयार गरेर विभागमा पठाएसँगै पुनः श्रम स्वीकृति दिन सुरु गरिएको बताउनुभयो । उहाँले ताहचलस्थित श्रम कार्यालयबाट बिदामा आएका तर श्रम स्वीकृति नभएर विदेश जानबाट रोकिएकालाई पुनः श्रम स्वीकृति दिन थालिएको जानकारी दिनुभयो । उहाँले श्रमिकले काम गरिरहेको पुरानै रोजगारदाताको काममा जानका लागि अनुमति दिन थालिएको पनि जानकारी दिनुभयो । महानिर्देशक दाहालका अनुसार अहिलेको निर्णयबाट नयाँले श्रम स्वीकृति लिएर विदेश जान सक्दैनन् । वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुनः श्रम स्वीकृति लिएर नेपाली जान पाउने छन् । विभागका अनुसार श्रम स्वीकृति बिहीबारबाट उपत्यकासहित प्रदेशमा रहेका सबै श्रम कार्यालयबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ ।

ताहचलस्थित श्रम कार्यालयका प्रमुख उमेश बस्नेतले श्रम स्वीकृतिको काम कार्यालयले बिहीबारदेखि सुरु गरेको बताउनुभयो । पुनः श्रम स्वीकृति लिनुभन्दा पहिले बीमा र कल्याणकारी कोषमा पैसा बुझाउनुपर्ने भएकाले सेवाग्राही सेवा लिन खासै नआएको उहाँको भनाइ छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वकिृति दिनसक्ने अख्तियारी प्रदान गरेको थियो । सीसीएमसीले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई बिदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय गर्नसक्ने अधिकार दिएको थियो । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले भने दुई लाखको हाराहारीमा मागपत्र रहेका र २१ हजार जना श्रम स्वीकृति लिएर पनि जान नपाएको अवस्था रहेको छ तर कोरोना पहिलाका रोजगारदाता कम्पनीबाट आएका माग कोरोनापश्चात्को अवस्था भने सङ्घलाई जानकारी छैन । कैयौँ कम्पनी त बन्द हुने अवस्था पनि पुगेका छन् ।

चार्टर्ड उडानबाट जान सकिने
सरकारले साउनको ७ गतेसम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको छ तर तत्काल चार्टर्ड गरी विदेशबाट श्रमिक ल्याइएका जहाज फर्कने बेलामा श्रमिक जानसक्ने बताइएको छ ।
काठमाडौँ ताहाचलस्थित श्रम कार्यालयले स्वास्थ्य प्रोटोकलको मापदण्डअनुसार सेवाग्राहीका लागि लाइन बस्न दुई÷दुई मिटरको सामाजिक दूरी कायम हुनेगरी लाइन (चिह्न) बनाएको जनाएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रदान गरे पनि तत्काल उनीहरू नियमित हवाई उडानबाट विदेश जान पाउने छैनन् । असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनकै मोडेललाई निरन्तरता दिने निर्णय गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?