logo
२०८० चैत्र १६ शुक्रवार

  बर्षे अधिवेशनकाे ५६ दिन  



नयाँ नक्सालाई संवैधानिक मान्यतादेखि महत्त्वपूर्ण विधेयकहरू पारित

मुख्य समाचार |


नयाँ नक्सालाई संवैधानिक मान्यतादेखि महत्त्वपूर्ण विधेयकहरू पारित


लक्की चौधरी

काठमाडौँ, असार १८ गते । सङ्घीय संसदको छैटाैँ अधिवेशन (वर्षे अधिवेशन) ५६ दिन बसेर बिहीबारबाट अन्त्य भएकाे छ । यसअवधिमा प्रतिनिधिसभाको २६ बैठक (१०३ घण्टा १५ मिनेट) र राष्ट्रिय सभाका ३५ बैठक (६० घण्टा ५० मिनेट)  सञ्चालन भएका छन् । अधिवेशनको अवधि समयको हिसाबले छोटो भए पनि ऐतिहासिक काम भएका छन् । नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेकाे नक्सा नेपालकाे निसान छापमा राख्ने गरी संविधानको दोस्रो संशोधन भएको छ । नेपालकाे नक्सा समेटिएकाे संविधान संसाेधन संसदबाट सर्वसम्मत पास हुने नेपालकाे संसदीय इतिहासमा नै पहिलाे घटनाका रूपमा रहेकाे छ भने यसबाट राष्ट्रिय एकता प्रदर्शन भएकाे छ । साथै नेपालको प्रशासनिक तथा राजनीतिक नयाँ नक्साले संवैधानिक मान्यता पाएकाे छ । यस अवधिमा भएको महत्वपूर्ण काममध्ये यो एउटा हो ।

साथै याे बजेट अधिवेशन पनि भएकाले पनि स्वाभाविक रूपमा यसले बढी समय सरकारका नीति तथा कार्यक्रम र बजेटसँग सम्बन्धित विषयमा खर्च गर्याे । 

त्यस्तै, सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७६ पनि पारित भएको छ । बिहीबारको बैठकबाट पारित भएको यो विधेयक प्रमाणीकरण हुन भने बाँकी छ । देश सङ्घीयतामा गइसकेपछि सङ्घीय मोडललाई व्यवस्थापन गर्ने महत्वपूर्ण अर्को उपलब्धीको रुपमा यसलाई लिन सकिन्छ । उसो त प्रमाणीकरण भएका सबै विधेयकको आफ्नो ठाउँमा उत्तिकै महत्त्व छन् । तर पनि यस अवधिमा निजामति कर्मचारीसम्बन्धी विधेयक पारित हुन सकेन । कर्मचारीको व्यवस्थापनका लागि यो महत्वपर्ण विधेयकको रुपमा हेरिएको थियो । त्यस्तै, नागरिकतासम्बन्धी विधेयक पनि अर्को महत्वपूर्ण विधेयक थियो । त्यो विधेयक पारित हुन सकेन ।

संसद सचिवालयले दिएको जानकारीअनुसार वैशाख २६ गते अपरान्ह ४ बजेबाट शुरु भएको संसद अधिवेशन असार १८ गते अपरान्ह ५ बजेबाट विधिवत अन्त्य भएको हो । सो अवधिमा १९ वटा विधेयक दर्ता भएका थिए । जसमध्ये प्रतिनिधि सभातर्फ १४ र राष्ट्रिय सभातर्फ पाँच छन् । संसदमा प्रस्तुत हुन बाँकी विधेयक सङ्ख्या १३ छन् । सचिवालयका अनुसार १० वटा पारित विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको छ ।

त्यस्तै, दुवै सदनबाट पारlत दुई वटा विधेयक प्रमाणीकरण हुन बाँकी छन् । सोहीअनुसार विचाराधीन विधेयक सङ्ख्या १९ छ । जसमध्ये प्रतिनिधिसभातर्फ १५ र राष्ट्रियसभातर्फ तीन छन् । त्यस्तै संसद समितिमा विचाराधीन विधयेक सङ्ख्या २० छ । दुवै सदनतर्फ १०–१० विधेयक छन् । सोहीअनुसार दर्ता भएका संसदीय प्रस्ताव १४ छन् । त्यस्तै, संंसदमा यस अवधिमा नाै वटा सङ्कल्प प्रस्ताव दर्ता भएका छन् भने दुई वटा विशेष सङ्कल्प प्रस्ताव छन् । त्यस्तै विचाराधीन सन्धी सम्झौताको सङ्ख्या आठ रहेको सङ्घीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?