logo
२०८० चैत्र १५ बिहीवार



प्रधानमन्त्रीद्वारा राजनीतिक परामर्श

मुख्य समाचार |


प्रधानमन्त्रीद्वारा राजनीतिक परामर्श


दीपक श्रेष्ठ

काठमाडौँ, असार १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकता र पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर स्थायी कमिटी सदस्यहरूसँग परामर्श थाल्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहनुभएका ओलीले सत्तारूढ पार्टीको आन्तरिक एकता, जारी स्थायी कमिटी बैठकका ‘एजेन्डा’ र समसामयिक विषयमा बुधबार बिहान छलफल गर्नुभएको छ । उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीका सदस्यहरूसँग सामूहिक रूपमा छलफल र सुझाव लिनुभएको थियो । छलफलपछि स्थायी कमिटीको बैठक बसेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्थायी कमिटीको जारी बैठकका कार्यसूचीभन्दा बाहिरका र अहिलेका ज्वलन्त विषयमा प्रधानमन्त्रीले छलफल गर्नुभएको जानकारी दिनुभयो । स्थायी कमिटी सदस्य भट्टराईका अनुसार अध्यक्ष ओलीले पार्टीभित्र चुलिँदै गएको समस्या, अन्तरविरोध, विकसित घटनाक्रम र सङ्कट समाधानका विषयमा नेताबीच कसरी छलफल हुँदै आएको छ भन्ने विषयमा धारणा राख्नुभएको थियो ।
स्थायी कमिटीका सदस्यहरूले पार्टी एकताको भावना अनुसार दुई अध्यक्षले स्थायी कमिटीमा उठेका विषयलाई सचिवालयमा ल्याएर साझा धारणा र प्रस्ताव बनाउन सुझाव दिएका छन् । त्यसका लागि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले ज्यादा पहलकदमी लिनुपर्ने सुझाव सदस्यहरूले दिएका छन् । उहाँले अध्यक्ष ओलीबाट स्थायी कमिटी सदस्यहरूलाई बोलाएर गर्नुभएको परामर्श र पहलकदमीले पार्टीको अन्योल परिस्थिति सकारात्मक दिशामा जान्छ भन्नेमा आशावादी रहेको बताउनुभयो ।
उहाँले आन्तरिक सङ्कटको समाधान पार्टी भित्रैबाट खोज्नुपर्ने र त्यसका लागि दुई अध्यक्षबीच राम्रो हार्दिक सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्रको ‘ब्लेम गेम’ र ‘प्रोक्सी वार’ अन्त्य गर्न सुझाव दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको उच्च नेतृत्व तहमा चरम विश्वासको सङ्कट उत्पन्न भएको देखिन्छ । त्यसको समाधान आपसी संवाद र विमर्शबाहेक अन्यत्र खोज्न सकिन्न । उहाँले पार्टीले प्राप्त गरेको जनमतको रक्षा गर्दै आन्तरिक एकतालाई सुदृढ गर्नु आजको प्रमुख आवश्यकता रहेकोमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “एकताबाट भागेर कहीँ पुग्न सकिन्न । त्यो छुट कसैलाई पनि छैन । यसले दुर्घटना मात्र हुन्छ । अहिले उठेका समस्यालाई समाधान गर्दै नयाँ जगमा पार्टीलाई एकताबद्ध, नेताबीच हार्दिकता, विश्वासको वातावरण बताउनुपर्छ । ” उहाँका अनुसार छलफलमा पार्टी र सरकारबीचमा समन्वयात्मक र घनिष्ट सम्बन्ध हुनुपर्छ ।’’ यस्तै स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले दुवै अध्यक्ष पार्टीको अभिभावक भएकाले आपसमा बसेर समाधान खोज्न अनुरोध गरेको बताउनुभयो । उहाँका अनुसार नेकपा (एमाले) दर्ताबारे आफूलाई जानकारी नरहेको भन्दै मदन जयन्तीमा व्यक्त विचारका विषयमा समेत प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभएको थियो । उहाँले पार्टीभित्रको अन्तरविरोध छताछुल्ल भएर प्रकट भएको र त्यसलाई दुवै अध्यक्षले गम्भीर विश्लेषण र छलफल गरी टुङ्गोमा पु¥याउनुको विकल्प नरहेको बताउनुभयो ।
यसैगरी स्थायी कमिटी सदस्य मणि थापाले पार्टीको आन्तरिक एकतालाई मजबुत बनाउन र सबैलाई समेटेर लैजान प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीको भूमिका महìवपूर्ण हुने सुझाव दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी एकता गम्भीर सङ्कटमा छ । सरकारको आलोचना बढेको छ । यी सबैको समाधान खोज्न अर्का अध्यक्षसँग सल्लाह गरेर र अन्य नेतालाई विश्वासमा लिएर अगाडि बढ्न सुझाव दियौँ । ”  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?