logo
२०८० चैत्र १६ शुक्रवार



चुनौतीपूर्ण बन्दै लागूऔषध नियन्त्रण

मुख्य समाचार |


चुनौतीपूर्ण बन्दै लागूऔषध नियन्त्रण


देवबहादुर कुुँवर

काठमाडौँ, असार १३ गते । गृहमन्त्री रामबहादुर थापाले लागूऔषध प्रयोग तथा ओसारपसार विश्वव्यापी रूपमा नै चुनौतीपूर्ण बन्दै गएको बताउनुुभएको छ ।
लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यसको प्रभावकारी रोकथाम, नियन्त्रण र उपचार सेवाका लागि सामूहिक प्रयास अपरिहार्य भएको बताउनुभयो । लागूऔषध कारोबारमा संलग्न समूहले खुला सीमासंँगै नयाँ मार्ग र विधि प्रयोग गरी तस्करी गर्ने भएकाले नियन्त्रणका लागि आवश्यक रणनीति अवलम्बन गरिएको समेत गृहमन्त्री थापाले स्पष्ट गर्नुभएको छ ।
गृह मन्त्रालयले यो आर्थिक वर्षबाट लागूऔषध प्रयोकर्ताको सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन तयार पार्ने र मानवीय सुरक्षा, स्वास्थ्य र दिगो विकास लक्ष्य प्राप्तिमा चुनौती बन्दै गएको लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रण कार्यलाई रणनीतिक ढङ्गले अगाडि बढाउने तयारी गरेको छ । यद्यपि, नेपालमा लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रण कार्य जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । लागूऔषधसँंग सम्बन्धित अपराधका घटना पनि बढ्दै गएको पाइएको छ । मन्त्रालयको लागूऔषध नियन्त्रण शाखा र नेपाल प्रहरीको केन्द्रीय लागूऔषध नियन्त्रण ब्युरोका अनुसार, आर्थिक वर्ष ०७३÷७४ देखि आर्थिक वर्ष ०७६÷७७ सम्मको लागूऔषध बरामदी तथा पक्राउसम्बन्धी त्रिवर्र्षीय तथ्याङ्कमा अपराध गुणात्मक रूपले बढेको देखाइएको छ ।
लागूऔषध दुरुपयोग तथा ओसारपसार, कारोबारमा संलग्न अभियुक्तको पक्राउ, बरामदी लागूऔषधको परिमाण र सेवनकर्ताको तुलनात्मक अध्ययन गर्दा त्रिवर्र्षीय तथ्याङ्कमा यसबाट सिर्जित अपराध बढेको देखाइएको छ ।
आर्थिक वर्ष ०७४÷७५ मा तीन हजार ६०७ जना अभियुक्त पक्राउ परेका छन् । उनीहरूको साथबाट बरामद गाँजा, चरेस, हेरोइन, अफिम र कोकिनसहित करिब छ हजार किलो छ भने मेडिकलजन्य लागूऔषध दुई लाख २५ हजार एम्पुल बरामद भएको छ ।
आर्थिक वर्ष ०७६÷७७ मा यो सङ्ख्या बढेर पक्राउ अभियुक्त पाँच हजार, बरामद लागूऔषध १९ हजार किलो र मेडिकलजन्य लागूऔषध चार लाख ५२ हजार एम्पुल बरामद भएको त्रिवर्षीय तथ्याङ्कमा उल्लेख छ ।
गाँजा, चरेस र हेरोइनभन्दा मेडिकलजन्य औषधिको प्रयोग र कारोबारमा वृद्धि भइरहेको छ । तथ्याङ्क अनुसार, लागूऔषध दुरुपयोग तथा ओसारपसार अभियोगमा प्रत्येक दिन १३ जना पक्राउ पर्छन् । एक जनाले एक हप्तामा कम्तीमा पाँच जनालाई लागूऔषधको कुलतमा फसाउने गरेको पाइएको छ ।
यस्तै, ललितपुरबाट प्रहरी निरीक्षक रुद्र शाहीलगायत पाँच जना औषधिजन्य लागूऔषध र बागलुङ निसी गाउँपालिका ६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन् ।
भारतसंँगको खुला सीमा, लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न सङ्गठित समूहले नेपाललाई ‘नयाँ मार्केट र ट्रान्जिट हब’ का रूपमा प्रयोग गर्ने भएकाले यसको नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको दाबी सम्बन्ध अधिकारीको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?