logo
२०८१ बैशाख ६ बिहीवार



ट्रम्प प्रशासनद्वारा ओबामाकेयरविरुद्ध सर्वोच्च अदालतमा निवेदन

अन्तर्राष्ट्रिय |


ट्रम्प प्रशासनद्वारा ओबामाकेयरविरुद्ध सर्वोच्च अदालतमा निवेदन
तस्विर-द न्युर्योक टाइम्स


वासिङ्टन, असार १२ गते। कोरोनाभाइरसको महामारीकै बीचमा ट्रम्प प्रशासनले बिहीबार ओबामाकेयरका नामले परिचित बीमा कार्यक्रम (एफोर्डेबल केयर एक्ट) खारेजीको अनुरोध गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
लकडाउनका कारण पाँच लाखभन्दा बढी मानिसले बीमाको प्रिमियम तिर्न नसकेको समाचार बाहिरिएकै दिन ट्रम्प प्रशासन सर्वोच्च अदालत पुगेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएदेखि नै यो कार्यक्रम खारेज गर्न पटकपटक प्रयास गर्नुभएको छ ।
ट्रम्प प्रशासनले तयार पारेको निवेदनमा कोरोनाभाइरसको बारेमा केही जिकिर गरिएको छैन । ट्रम्प प्रशासनको अनुरोधलाई सर्वोच्चले सदर गरेमा करिब दुई करोड अमेरिकी नागरिकको स्वास्थ्य बीमा समाप्त हुनेछ ।
रिपब्लिकन पार्टीकै बहुमत रहेको अवस्थामा पनि सन् २०१७ मा ओबामाकेयर खारेज गर्ने राष्ट्रपति ट्रम्पको प्रयास विफल भएपछि उहाँ कानुनी प्रक्रियामा लाग्नुभएको हो ।
ओबामाकेयर कानुनमा जटिल स्वास्थ्य अवस्था रहेका मानिसलाई पनि बीमा सुविधा उपलब्ध हुने सुनिश्चितता गरिएकाले यो कानुनी व्यवस्था प्रतिकूल निर्णय गर्न ट्रम्प प्रशासन र अदालतमाथि दबाव छ । तर राष्ट्रपति ट्रम्पले स्वास्थ्य प्रतिकूल भएका कुनै पनि अमेरिकीको स्वास्थ्य संरक्षण गरिने आश्वस्त पार्न खोज्नुभएको छ । राष्ट्रपतिको यो भनाइप्रति ह्वाइट हाउस वा रिपब्लिकन पार्टीले कुनै ठोस योजना भने अघि सार्न सकेका छैनन् । कोरोनाभाइरसका कारण अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर परेसँगै करिब दुई करोड ७० लाख मानिस बेरोजगार भएकाले पनि स्वास्थ्य बीमा कार्यक्रममा असर पर्न लागेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप