logo
२०८० चैत्र १६ शुक्रवार



लयमा फर्किंदै उद्योग

मुख्य समाचार |


लयमा फर्किंदै उद्योग


गोपालचन्द्र सुवेदी

काठमाडौँ, असार ९ गते । सावधानीका उपाय अपनाउँदै उद्योग व्यवसाय सञ्चालन गर्न सकिने गरी बन्दाबन्दी खुकुलो बनाएपछि उद्योग क्षेत्र आफ्नो चुनौती खेप्दै लय समाउने प्रयासमा जुटेको छ । असार १ देखि बन्दाबन्दीको स्वरूप परिवर्तन गरिएपछि कोरोना सङ्क्रमण जोखिमका कारण करिब दुई महिना बन्द रहेका उद्योग श्रमिक जुटाउने, जोखिम सुरक्षा अपनाउने लगायतका गतिवधि बढाउँदै लगेका छन् । कतिपय उद्योग भने अझै अनुकूल समयको प्रतीक्षामा छन् ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिसकुमार मोरका अनुसार खुकुलो बन्दाबन्दीले चुनौतीबीच उद्योग सञ्चालनमा धेरै सहजता मिलेको छ । बन्दाबन्दीको समयमा सुस्ताएका उद्योगी सकारात्मक सोच र आँट राखेर उद्योग व्यवसाय सञ्चालनको प्रयासमा जुटेका छन्, उहाँले भन्नुभयो, यद्यपि चुनौती अझै धेरै छन् । सरकार र निजी क्षेत्रबीच धेरै कुरामा अझै धेरै समझादारी हुनु जरुरी छ । खासगरी उद्योगमा देखिने वित्तीय समस्या, श्रमिकको पारिश्रमिक, भुक्तानी बजार व्यवस्थापन लगायतमा सरकारको सहयोगको अपेक्षा रहेको उहाँ बताउनुहुन्छ ।
नेपाल चामल, दाल तथा तेल उद्योग सङ्घका अध्यक्ष सुबोध अग्रवालका अनुसार यो क्षेत्र अहिले आफ्नो क्षमताको ७५ प्रतिशत सञ्चालनमा आइसकेको छ । यद्यपि पूर्ण बन्दाबन्दीका समयमा पनि अत्यावश्यक उद्योग भएकाले यो क्षेत्र सामान्य सञ्चालनमा थियो । करिब तीन महिनाको लकडाउनमा हाम्रा उद्योग ४० प्रतिशत क्षमतामा सञ्चालित थिए ।
अहिले बढेर ७५ प्रतिशत पुगेको छ, अग्रवालले भन्नुभयो, कोरोना सङ्क्रमण समुदायस्तरमा खासै नगएकाले श्रमिक तथा उद्योगीमा भय कम भएकाले पनि हामी पुरानो लय समाउन सक्ने अवस्थामा पुगेका छौँ । उहाँका अनुसार अहिले उद्योगमा सङ्क्रमण जोखिमबाट बच्ने उपाय अनुसरण गर्दै उत्पादन प्रक्रिया सुचारु गरिएको छ । आमसमुदायमा बढेको मनोबलसहित होम क्वारेन्टाइन, सामाजिक दूरी र श्रमिकको सकारात्मक योगदानका कारण आफूहरू पुरानो लयमा फर्कन सक्ने अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ । ठूलो कुरा श्रमिकको व्यवस्थापन रहेछ । हामीले राम्रो व्यवस्थापन गर्न सक्दा उहाँहरूमा मनोबल बढ्ने र काममा लगनशीलता बढ्ने रहेछ, उहाँले भन्नुभयो, सङ्कटका समयमा श्रमिकले ठूलो योगदान गर्न सकेका छन् ।
खुकुलो बन्दाबन्दीको लाभ निर्माण क्षेत्रले भने खासै लिन सकेको देखिँदैन । स्थानीय निकायस्तर सडक, ढल मर्मत जस्ता काम भइरहे पनि उल्लेखनीय काम गर्न सक्ने अवस्था नबनेको नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहको ठम्याइ छ । श्रमिक व्यवस्थापन र निर्माण सामग्री व्यवस्थापनमा समस्या रहेको उहाँ बताउनुहुन्छ । एक त श्रमिक जुटाउनै समस्या छ, अर्कातिर उनीहरूलाई कार्य क्षेत्रमा पुराएर काम लगाउन खोज्दा सङ्क्रमणको डरले स्थानीले अवरोध गर्छन्, उहाँले भन्नुभयो, निर्माण सामग्री प्राप्त नहुने अवस्था र वर्षात् लागेकाले पनि निर्माण क्षेत्रले सहज बन्दाबन्दीको अनुभूत गरेन ।
निर्माण क्षेत्रले लाभ लिन नसक्दा सामग्री उत्पादनले पनि गति पाउन सकेको देखिँदैन । नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापाका अनुसार अहिले करिब ४० प्रतिशत मात्र यस्ता उद्योग सञ्चालन छन् । वर्षात् लागिसकेकोले माग पनि घट्छ, ढुवानीको समस्या पनि हुने भएकाले हामी उत्पादन बढाउने अवस्थामा छैनौँ, उहाँले भन्नुभयो, उद्योगका धेरै सिमेन्ट गोदाममै छ ।
त्यसो त अत्यावश्यकीय वस्तु औषधि उत्पादन गर्ने उद्यामी पनि समस्या नै रहेको बताउँछन् । खासगरी उत्पादनमा श्रमिक जुटाउन र बजारमा उत्पादन पु¥याउन समस्या रहेको नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डे बताउनुहुन्छ । श्रमिक व्यवस्थापन र बजारमा सहज पहुँच राख्न नपाउँदा हामी पनि २५ प्रतिशत मात्रै चलेका छौँ, उहाँले भन्नुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?