logo
२०८१ बैशाख ८ शनिवार



सामाजिक सञ्जालमा प्रतिक्रिया ‘राष्ट्रिय शक्तिबीचको एकता अभूतपूर्व’

मुख्य समाचार |


सामाजिक सञ्जालमा प्रतिक्रिया ‘राष्ट्रिय शक्तिबीचको एकता अभूतपूर्व’


दीपक श्रेष्ठ

काठमाडौँ, जेठ ३२ गते । संविधान संशोधनमार्फत लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको अद्यावधिक नक्सा प्रतिनिधि सभाबाट पारित भएपछि मुलुकभर खुसियाली छाएको छ । संविधान संशोधनमा देखिएको अभूतपूर्व राष्ट्रिय एकतालाई लिएर सामाजिक सञ्जालमा समेत खुसी व्यक्त गरिएको छ । यो राष्ट्रिय एकतालाई कूूटनीतिक वार्ता, छलफलपछि भूमि फिर्तासम्म अगाडि बढाउनुपर्ने सुझावसमेत सामाजिक सञ्जालमा पाइएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रतिनिधि सभाबाट संविधानको दोस्रो संशोधन पारितपछि तत्कालै सामाजिक सञ्जालमा ‘सबैमा सलाम !!’ भन्दै ट्विट गर्नुभएको छ । उपप्रधानमन्त्री पोखरेलले भन्नुभएको छ, “मुलुकको भौगोलिक अखण्डताको पक्षमा, राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताका पक्षमा देखिएको राष्ट्रिय शक्तिहरूबीचको एकता अभूतपूर्व र ऐतिहासिक छ !”
यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जालमा ट्विट गर्दै खुसी व्यक्त गर्नुभएको छ । उहाँले ट्विटमा भन्नुभएको छ, “प्रतिनिधि सभाले सर्वसम्मतिले संविधान संशोधन विधेयक पारित गरी राष्ट्रिय प्रतीकमा अद्यावधिक राजनीतिक, प्रशासनिक नक्सा समायोजन गर्ने मार्गप्रशस्त ग¥यो । ”
यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ‘अभूूतपूर्व राष्ट्रिय एकता कायम भएको क्षणलाई जीवनको सुखद अनुभूतिका रूपमा लिएको छु भन्दै सार्वजनिक अद्यावधिक नक्सासहित ट्विट गर्नुभएको छ । उहाँले पारित विधेयकअनुसार नेपालको निशान छापमा अद्यावधिक नक्सा समावेश गरिनेसमेत जानकारी ट्विटमा दिनुभएको छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्विट गर्दै ‘नयाँ नक्सासहितको संविधान संशोधन (२५८ विरुद्ध ० मतले पारित) हुनु सबै नेपालीको निम्ति गर्वको विषय भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “काठमाडौँले सधैँ शङ्काको दृष्टिले हेर्ने मधेस नेपाली राष्ट्रियताको पहरेदारको रूपमा आमजनमानसमा स्थापित भएको छ । ”
यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ‘अब पालो सार्थक वार्ताको’ भन्दै ट्विट गर्नुभएको छ । उहाँले प्रतिनिधि सभाको ऐतिहासिक बैठकमा सिङ्गो संसद् एकढिक्का भएर सौहार्द तरिकाले संविधान संशोधन गरिएकोमा खुसी व्यक्त गर्नुभएको छ । उहाँले अब सरकारले अविलम्ब भारतसँग सार्थक वार्ता गरी कूूटनीतिक तरिकाले समस्या समाधान गर्नुपर्ने सुझावसमेत दिनुभएको छ ।
यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘नयाँ निशान छापमा नयाँ नक्सा अङ्कित भएको छ’ भन्दै प्रतिक्रिया जनाउनुुभएको छ । उहाँले भन्नुभएको छ, “विगत छ दशक अघिदेखिको भूल र संविधान जारी गर्दाको असावधानी सच्याउने महान् कार्यमा अभूतपूर्व एकता, सहमति र ऐतिहासिक फैसला सम्भव भएको छ । ”
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको दृढ नेतृत्वमा हासिल यस उपलब्धिमा सबै राजनीतिक दल, सांसदहरू र आम जनसमुदायको विवेकपूर्ण साथ, सहयोग र भूमिका स्तुत्य रहेकोसमेत स्पष्ट पार्नुभएको छ ।
यस्तै नेपाली काँग्रेसका नेता गगन थापाले ‘सबैभन्दा माथि, नेपाल र नेपाली !’ भन्दै निकै गर्वसाथ ट्विट गर्नुभएको छ । उहाँले संविधान संशोधनलाई ऐतिहासिक दिनका रूपमा चर्चा गर्दै भन्नुभएको छ, “सिङ्गो संसद् एकढिक्का भएर परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाएको यो क्षणमा गर्वको अनुभूति भइरहेको छ । ”
उहाँले राष्ट्रिय स्वाभिमानको यो लडाइँमा आजको दिन सदा स्मरणीय रहिरहने चर्चा गर्दै थापाले भन्नुभएको छ, “अब यसरी नै सबै नेपाली एकताबद्ध भएर हाम्रो भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने छौँ । ”
यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले ‘हाम्रो माटो हामीलाई प्राणभन्दा प्यारो छ’ भन्दै ट्विट गर्नुभएको छ । उहाँले ‘राष्ट्रियता कुनै व्यक्ति वा पार्टीको निजी सम्पत्ति होइन’ भन्दै राष्ट्रियता तीन करोड नेपालीको साझा भावना भएको बताउनुभएको छ । गुरुङले भन्नुभएको छ, “यही भावनासाथ अब कालापानीबाट भारतीय सेना फिर्ता पठाऔँ र राष्ट्रियताको भावनालाई अझ सबल बनाऔँ । ”
यस्तै जनता समाजवादी पार्टीका नेता गङ्गानारायण श्रेष्ठले ‘एकमतले नक्सा पास’ शीर्षक दिँदै भन्नुभएको छ, “अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन । पार्टीभन्दा देश ठूूलो भएको सन्देश । सबै माननीयज्यूलाई बधाई !”
उहाँले नक्सामा समेटिएको भूभाग फिर्ता ल्याउन दलगत घेराभन्दा माथि उठी राष्ट्रिय एकता प्रदर्शन गर्न आग्रहसमेत गर्नुभएको छ । यस्तै बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका सदस्य सुनिलरञ्जन सिंहले ‘हामी सबै नेपालीलाई हार्दिक बधाई’ भन्नुभएको छ । त्यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्वसदस्य मञ्चला झाले ‘प्रतिनिधि सभाको बैठक साँच्चै ऐतिहासिक लाग्यो’ भन्ने टिप्पणी गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “जात, वर्ग, धर्म, क्षेत्र, लिङ्गका आधारमा कोही बढी राष्ट्रवादी र कोही कम राष्ट्रवादी हुँदैन भन्ने ठूलो सन्देश दिएको छ । ” उहाँले भन्नुभएको छ, “विविधतामा एकता हाम्रो विशेषता सधंँै कायम रहोस् । आफ्नो माटोमा हरेक नेपालीले गौरवानुभूत गर्न सकून् । ”
यस्तै वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले ‘ऐतिहासिक काम’ भन्ने टिप्पणी गर्दै ट्विटमा ‘प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अरू कसैबाट यो सम्भव थिएन’ भन्नुभएको छ । उहाँले भन्नुभएको छ, “जमिनको स्वामित्व पनि तत्काल कायम गर्ने सफलता मिलोस्, कालापानीबाट भारतीय सेना फिर्ता गराउने तागत प्राप्त होस्, शुभकामना छ । ”
यस्तै तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले ‘संसद्मा मधेसी पार्टीको प्रस्तुति दायित्ववान्, जिम्मेवार तथा समयसापेक्ष’ रहेको बताउनुभएको छ । यस्तै प्रदेश २ का प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले भन्नुभयो, “राष्ट्रवाद भावनासँग जोडिएको विषय हो, गजब भयो । ”
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?