logo
२०८१ बैशाख ७ शुक्रवार



औपचारिक निर्णय नहुँदै चहलपहल

मुख्य समाचार |


औपचारिक निर्णय नहुँदै चहलपहल


देवबहादुर कुँवर

काठमाडौँ, जेठ २६ गते । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी(लकडाउन) सुरु गरेको ७६ दिनपछि आइतबार राजधानीमा केही चहलपहल बढेको छ ।
गत वर्ष चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरिएको हो । सरकारले बन्दाबन्दी खुकुलो पार्नेसम्बन्धी आधिकारिक निर्णय सार्वजनिक नगरे पनि आइतबार विभिन्न कामका लागि स्वतःस्फूर्त रूपमा घर बाहिर निस्कने सर्वसाधारणको चहलपहल देखियो ।
गृह मन्त्रालयले बन्दाबन्दी खुकुलो पार्ने सम्बन्धमा कुनै निर्णय भइनसकेको अवस्थामा सर्वसाधारण आफूखुसी सडकमा निस्कँदा कोरोनाको जोखिम बढ्दै जाने चेतावनी दिएको छ । गृह प्रवक्ता केदारनाथ शर्माले यस विषयमा निर्णय भइसकेको छैन, सङ्क्रमण बढ्न सक्छ भन्नुभयो । काठमाडौँ उपत्यकाको सडकमा यातायातका सवारी साधनको बाक्लो चाप देखिन्थ्यो । सार्वजनिकभन्दा निजी सवारी साधनमा कार, मोटरसाइकल र ट्याक्सीलगायतका सवारी साधन प्रशस्त मात्रामा चलेका छन् ।
अन्य दिनको तुलनामा सडकमा पैदल हिँडेर गन्तव्य जाँदै गरेका सर्वसाधारण तथा बन्दाबन्दीको उकुसमुकुसबाट घर बाहिर निस्कनेको चाप बाक्लै देखिन्थ्यो ।
विभिन्न बैङ्कमा ग्राहकको बाक्लो भीड नै लागेको थियो ।
न्युरोड धर्मपथस्थित नेपाल बैङ्क लिमिटेडको मुख्यालयमा सेवाग्राहीको भीड लाग्दा मुख्य प्रवेशद्वारमा नै सेवाग्राहीलाई रोक्नु परेको सो बैङ्कले जनाएको छ । त्यस्तै, अन्य वाणिज्य बैङ्कमा पनि ग्राहकको भीड लागेको छ । असन–इन्द्रचोक बजार हल्का खुले पनि बढी भीडभाड हुने विशाल बजार, सुरज अर्किड, सिभिल मल, काठमाडौँ मल र दरबारमार्गलगायतका बजार तथा पसलहरू भने खुलेका छैनन् । कोरोना सङ्क्रमणको जोखिम प्रतिदिन बढ्दै गएकाले व्यापारी नै पनि पसल खोल्न डराएको भनाइ सुरक्षा अधिकारीको छ । न्युरोड क्षेत्रका केही सुनचाँदी पसल भने खुलेका छन् । सुनचाँदी पसल खुलेसँगै मूल्यसमेत सार्वजनिक भएको छ । बन्दाबन्दी भएपछि पहिलो पटक सुनचाँदीको औपचारिक मूल्य सार्वजनिक भएको छ ।
नेपाल प्रहरीले पनि अन्य दिनको तुलनामा आइतबार काठमाडौँ उपत्यकामा सवारी साधनको चाप बाक्लो देखिएको जनाएको छ । विभिन्न स्थानमा खटिएका प्रहरीले अनावश्यक रूपमा यात्रा गरिरहेका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको बताएका छन् । विभिन्न बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, सेवाग्राही, सरकारी कर्मचारी, व्यापारी, उद्योग व्यवसायीका सवारी साधन गुडेका छन् । दिउँसो सवारी साधनको चाप बाक्लिएपछि ट्राफिक प्रहरीको सङ्ख्या पनि बढाइएको थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?